कला


बिहारका राजनकुमार अर्थात् चार्ली च्याप्लिन–२

बिहारका राजनकुमार अर्थात् चार्ली च्याप्लिन–२

नेपालखबर
बैशाख १९, २०७९ सोमबार ८:२२, काठमाडौँ

कमेडियन चार्ली च्याप्लिनले आफूमा यस्तो प्रभाव पार्छ र जीवन परिवर्तन हुनेछ भनेर भारतको बिहारका अभिनेता राजन कुमारले  शायदै कल्पना गरेका थिए।

राजन कुमार भारतको मुंगेर जिल्लाको टेटियाबम्बर गाउँका बासिन्दा हुन्। उनी चार्ली च्याप्लिन जस्तै काम गर्छन्। यसका लागि उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्ड र लिम्का बुक अफ रेकर्डमा समेत दर्ता भएको छ।

टूथब्रश जस्तो जुँगा, बलर टोपी, बाँसको लठ्ठी र रमाइलो हिँड्ने शैलीका साथै निर्देशन सम्बन्धी दूरदर्शी सोचले चार्ल्स स्पेन्सर च्याप्लिनलाई विश्व सिनेमामा ‘चार्ली च्याप्लिन’का रूपमा अमर बनाएको थियो।

एकै शब्द नबोली संसारको मुहारमा मुस्कान ल्याउने चार्ली च्याप्लिनलाई भारतीय अभिनेता राजन कुमारले भगवानको दर्जा दिएका छन्।

राजन कुमार आज भारतमा मात्रै होइन, विदेशमा पनि चार्ली च्याप्लिन–२ भनेर चिनिन्छन्। आफ्नो परिचय दिँदै राजन भन्छन्, ‘आज म जे छु, यो चार्ली च्याप्लिन–२ को कारणले हुँ। मेरा फ्यानहरूले मलाई विभिन्न ठाउँमा बोलाउन थालेकमा छन्। विगत २१ वर्षदेखि म यो चरित्रमा बाँचिरहेको छु। पाँच हजारभन्दा बढी शो गरे पनि यही ‘क्यारेक्टर’ गर्दा ऊर्जा मिलेको छ।

बाँदरबाट अभिनय सिके

किसान परिवारमा जन्मेका राजनको बाल्यकालदेखि नै अभिनयप्रति झुकाव थियो। उनी भन्छन्, ‘आज म जे छु, यसमा मेरो गाउँका मानिसहरुको साथ छ। बाल्यकालदेखि मलाई बाँदरको नक्कल गर्न मनपर्थ्यो। बाँदरको अभिनयबाट धेरै प्रेरणा पाएको छु।’

राजन कुमारले पद्मविभूषण सत्यदेव गुरुबाट अभिनयको पाठ सिकेका हुन्। त्यसपछि उनले थिएटर, टेलिभिजन र फिल्ममा काम गरे।

आफ्ना संघर्षका दिनहरू सम्झँदै राजन भन्छन्, ‘मुम्बई आउँदा केही वर्षसम्म गाउँमा कसैलाई पनि सम्पर्क नगरेका कारण त्यहाँका मानिसहरूले चार्ली च्याप्लिन बनेर के गर्न सक्छ र भन्ने सोच्थे। तर, पछि सन् २००५ मा विश्व कीर्तिमानमा नाम दर्ता भयो र लगातार प्रदर्शनको कीर्तिमानी बन्यो। यसबाट मेरो मनोबल बढ्दै गयो।

उनलाई राजनबाट चार्ली बन्न करिब तीन घण्टा लाग्छ।

चार्ली च्याप्लिनको डेब्यु अभिनयका बारेमा राजन कुमार भन्छन्, ‘जब म पहिलो पटक बिहारबाट काम खोज्न र अभिनय सिक्न दिल्ली आएँ, मसँग केही थिएन। त्यसपछि मेरो एकजना साथीले काम बताउनुभयो। जहाँ मैले रेस्टुरेन्टको प्रचारप्रसारका लागि फरक तरिकाले पर्चा बाँड्नुपरेको थियो। त्यसपछि मैले चार्ली च्याप्लिनको रूपमा पम्प्लेटहरू बाँड्ने सोचेँ। चार्ली च्याप्लिनको गेटअपमा सडकमा उभिएँ र पर्चा बाँड्न थालें।’

राजन लाइभ शो गर्न सजिलो नभएको बताउँछन्। उनी भन्छन्, ‘चरित्रबाट अलिकति पनि बाहिर निस्कियो भने काम खराब हुन्छ। धेरै पटक प्रदर्शनको क्रममा मानिसहरूले नोटका बन्डलहरू देखाउँछन् ता कि म उनीहरू कहाँ आउन सकूँ। तर यो कहिल्यै भएन। म मेरो चरित्रमा रहिरहेँ।

चार्ली च्याप्लिनको लाइभ शो गर्नुका साथै राजन कुमारले धेरै टेलिभिजन सिरियल सीआईडी, ये हवाइन, हिरो, लापतागञ्ज र चिडियाखाना र सीआईडीमा काम गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad