ad ad

कला


सौन्दर्य प्रतियोगिता : ठीक कि बेठीक ?

‘हिंसा हुन्छ भनेर छोरीलाई बाँधेर राख्न मिल्दैन’
सौन्दर्य प्रतियोगिता : ठीक कि बेठीक ?

राधिका अधिकारी
जेठ १४, २०७९ शनिबार १९:८, काठमाडौँ

 

चम्किलो अनुहार र छरितो जीउडाल लिएर वर्षौँदेखि युवतीहरु आफ्नो सौन्दर्य परीक्षणको कसीमा उभिए। तिनै युवतीलाई रेड कार्पेटमाथि क्याट वाकमा उतारेर विभिन्न आयोजकहरुले सुन्दरीहरु सार्वजनिक गरे।

राष्ट्रियस्तरदेखि क्षेत्रीय तहसम्म विभिन्न नामका सौन्दर्य प्रतियोगिता भैरहेका छन्। केही किशोरी त कही युवतीहरु आफ्नो सौन्दर्य परीक्षणका लागि मञ्चमा सार्वजनिक भैरहेका छन्।

तथापि त्यो मञ्चका पछाडि उनीहरुले भोगेका हिंसाका घटनाहरु भने भित्रै दबेर बसे। कयौं सौन्दर्य प्रतियोगितामा भाग लिएर आयोजकको शोषणमा परेका नाबालिग युवतीहरु डिप्रेसनको शिकार भए। यसको कहालिलाग्दो तथ्यांक भने भर्खरै मात्र सार्वजनिक हुन थालेका छन्।

बलात्कारका अभियुक्त मनोज पाण्डेलाई मानव बेचबिखनको मुद्दा

मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की पीडित पुगिन् प्रहरीमा​

बलात्कृत किशोरीको बयान : ढिलो बोलेँ, विश्वास छ मलाई माया गर्नुहुनेछ

गत जेठ ५ मा ८ वर्षअघि आफूले सौन्दर्य प्रतियोगिताकै क्रममा हिंसा भोगेको भन्दै एक युवती सामाजिक सञ्जालमा आइन्। ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक रहेका मनोज पाण्डेले सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’ प्रतियोगितापछि आफूमाथि बलात्कार गरेको युवतीको आरोप छ।

युवती सामाजिक सञ्जालमा आएसँगै उनको पक्षमा सबैतिरबाट आवाज उठ्यो। मनोज पाण्डे असोज ७ मा स्यम्भुबाट पक्राउ परे।

 

यो विषयले संसदमा पनि प्रवेश पायो। गगन थापा लगायतले यो घटनालाई लिएर संसदमा बोले। नेकपा माओवादीकी सांसद अमृता थापा मगरले त सुन्दरी प्रतियोगिता नै रोक्नु पर्ने माग राखिन्।

संसदको महिला तथा सामाजिक समितिको बैठकमा महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्यादसम्बन्धी विषयमा भएको छलफलमा उनले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ ? भन्ने प्रश्न गरिन्। सुन्दरी प्रतियोगिता राज्यका लागि हितकर नभएको भन्दै यस्ता प्रतियोगिता रोक्नु पर्ने उनको माग थियो।

यो घटनापछि श्रृंखलावद्ध रुपमा विभिन्न नामका सौन्दर्य प्रतियोगितामा हिंसामा परेका युवती बोल्न थालेका छन्। मनोजले नै शोषण गरेको भन्दै केही युवती प्रहरी कार्यालयमा पुगेका छन्।

झापाबाट पनि यस्तै प्रकारको हिंसाको घटना सार्वजनिक भएको छ। सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर आफूमाथि यौन हिंसा भएको भन्दै अर्की युवती उजुरी बोकेर प्रहरीकोमा पुगिन्। उनीमाथि ‘मिस्टर एन्ड मिस कलेज २०२२’ जिताउने भन्दै निर्देशक लालबहादुर शंकरले हिंसा गरेको आरोप छ। लालबहादुरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

किशोरीलाई यौन प्रस्ताव राखेपछि सुन्दरी प्रतियोगिताका अर्का आयोजक पक्राउ

समाजमा सौन्दर्य प्रतियोगिताका नाममा भएका हिंसाका घटना सार्वजनिक हुने क्रम बढेसँगै सौन्दर्य प्रतियोगिता नै बन्द गर्नुपर्ने बहस सामाजिक सञ्जालमा चर्किएको छ।

समाजशास्त्री निर्मला ढकाल प्रतियोगिता बन्द हुँदैमा हिंसा कम नहुने तर्क गर्छिन्। उनी भन्छिन् ‘सौन्दर्य प्रतियोगिता पनि छोरीहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा प्लेट फर्म हो। यो बन्द हुनुपर्छ र बन्द हुनेवित्तिकै हिंसा शून्यमा झर्छ भन्ने मलाई लाग्दैन।’

पछिल्लो समय स्कुले किशोरी, बालिकाहरु शिक्षकबाटै बलात्कृत भएका घटना सम्झँदै ढकाल भन्छिन् ‘यौन हिंसा समाजको हरेक ठाउँमा छ। छोरीहरु घरमा बलात्कृत भएका छन्। स्कुलमा बलात्कृत भएका छन्। छिमेकमा बलात्कृत भएका छन्। सबै क्षेत्रमा छोरीहरुलाई बन्देज लगाएर साध्य लाग्दैन।’

सौन्दर्य प्रतियोगिता विश्वका अन्य देशमा हुने भएकाले यसका सकारात्मक कुरालाई पनि हेर्नुपर्ने ढकालको तर्क छ। तर, राज्यले  यसमा निश्चित मापदण्ड बनाउनुपर्ने समाजशास्त्री ढकाल बताउँछिन्। उनी भन्छिन् ‘सौन्दर्य प्रतियोगितामा युवतीको सुन्दरता मात्रै हेरिन्छ भन्ने लाग्दैन। सुन्दरताका हिसावले आहा! नभनिएका युवतीहरु पनि मिस नेपाल भएका इतिहास छन्। सौन्दर्य प्रतियोगितामा भाग लिएर आफूलाई अब्बल सावित गरेका छोरीहरुले अन्य ठाउँमा राम्रो अवसर पाएका थुप्रै उदाहरण छन्।’

तर कुनै पनि प्रतियोगितामा पठाउँदा परिवारजन आफ्ना छोरीहरुलाई लिएर सचेत हुनुपर्ने बताउँदै ढकाल भन्छिन् ‘हिंसा हरेक क्षेत्रमा छ, तर हिंसा हुन्छ भनेर छोरीहरुलाई बाँधेर राख्न मिल्दैन। उनीहरुलाई हिंसाका विषयमा बोल्न सिकाउनुपर्छ। समाज, परिवार र राज्य उनीहरुमाथि संवेदनशील हुनुपर्छ।’

महिला अधिकारकर्मी अर्चना थापाको तर्क पनि उस्तै छ। उनी पनि सौन्दर्य प्रतियोगिता बन्द गरेर हिंसा कम नहुने बताउँछिन्। तर, राज्यको अवस्था हरेर प्राथमिकताको निर्धारण भने गर्नुपर्ने थापाको तर्क छ। उनी भन्छिन् ‘हाम्रो जस्तो देशमा सौन्दर्य प्रतियोगिता भन्दा आवश्यकताको कुरा अरु नै पो हो कि?’

यति हुँदाहुँदै पनि विश्वको मानचित्रमा परेको नेपालमा विश्वभरि हुने यस्ताखाले प्रतियोगिताको असर आइपुग्ने र त्यसलाई रोक्नुपर्छ भन्न नमिल्ने अर्चना बताउँछिन्। उनी भन्छिन् ‘लोकतान्त्रिक देशमा यसलाई बन्देज लगाउने भन्ने हुँदैन। तर, आलोचनात्मक चेतले भने हेर्नैपर्छ।’

सौन्दर्य प्रतियोगिता आफैंमा खराब होइन भन्दै गर्दा सार्वजनिक भएका यौन हिंसाका घटनालाई भने नजरअञ्दाज गर्न नहुने अर्चनाको तर्क छ। उनी भन्छिन् ‘सार्वजनिक भएका घटना उपर फास्ट ट्रयाकबाट कारबाही भए अरुमा पनि बोल्ने हिम्मत आउने, हिंसा पीडितले बोल्ने आँट गर्ने र सरकारले कानूनी कारबाही गर्ने हो भने बल्ल पीडकहरु सचेत हुन्छन् र हिंसाका घटनामा केही कमी आउन सक्छ’ अर्चना थप्छिन्।

सौन्दर्य प्रतियोगितामा समाजका समसामयिक घटनाक्रम जोडिनुपर्ने र युवतीहरुले देशका समस्या एवं सामाजिक मुद्दाका विषयमा जानकारी राख्नुपर्ने अर्चना बताउँछिन्। सौन्दर्य प्रतियोगिताका मानकहरु परिवर्तन हुँदै गएकाले पुरानै आँखाले मात्रै यसलाई हेरिनु नहुने थापाको सुझाव छ।

सुन्दरी प्रतियोगितामा मात्र नभएर ग्ल्यामर क्षेत्रमै शोषणका घटना निक्कै भएको र सार्वजनिक हुन नसकेको बताउँदै अर्चना भन्छिन् ‘बरु यस्ता क्षेत्रमा आफ्ना छोरीहरु पठाउँदा राज्यले निगरानी राखोस्, बालिका सहभागी छन् भने अभिभावकको अनुमति र कार्यक्रमस्थलमा साथ छ कि छैन, हेरियोस्। अभिभावक पनि छोरीहरुलाई बाहिर पठाउँदै गर्दा चनाखो भैदिउन्। यसो गर्न सकेको खण्डमा हिंसाका घटनामा कमी आउन सक्छ।’

उनी युवतीहरुलाई सुझाव दिँदै भन्छिन् ‘प्रख्यातीको लोभ त हुन्छ, तर त्यस्तो सजिलो छैन। संघर्ष गरेर पाएको ख्याती जस्तो सुन्दर तत्काल पाएको ख्याती हुँदैन।’

शोषण छ भनेर कुनै पनि क्षेत्र बन्द गर्नु भन्दा त्यहाँभित्रका अपराधका बारेमा बोल्न सिकाउनुपर्नेमा थापाको जोड छ।

‘बाल्यकालमा जिस्क्याएर हैरान पार्थे, यौन हिंसा रहेछ’

‘बडी बिल्डिङ प्रतियोगिता पनि खारेज गरिदिने?’

अधिवक्ता एवं कलाकार प्रविन पन्दाक नेपालखबरसँगको अन्तरवार्तामा सौन्दर्य प्रतियोगिताबारे यसो भन्छिन्–

म यो स्तरको अतिवादमा विश्वास गर्दिनँ। सौन्दर्य प्रतियोगिता महिलालाई उपभोग्य वस्तुको रुपमा हेर्न सिकाउने ‘मेकानिज्म’ हो भन्ने कुरामा म सहमत छैन। सौन्दर्य प्रतियोगितामा महिलाको व्यक्तित्व विकास हुन्छ, त्यसैले यो हुनैपर्छ भन्ने मान्यता राख्ने ब्यक्ति हुँ म।

सुन्दरता देखाउने, हेर्ने र रमाउने भनेको यी प्रकृतिक प्रदत्त कुराहरु हुन्। यस्तो प्रतियोगिताले व्यक्तित्व विकास हुन्छ। त्यहाँभित्र अवसर हुन्छन्। प्रतियोगीहरुले पहिचान पाउँछन्। देशलाई चिनाउने मञ्च पनि हो, यो। आयोजकले पनि समाजमा राम्रो योगदान दिइरहेको देखेका छौं।

बडी बिल्डिङ प्रतियोगितामा पुरुषले अंग प्रत्यंग देखाइरहेका हुन्छन्। पुरुषको राम्रो शरीर र राम्रो अनुहार महिलालाई राम्रो लाग्छ। के त्यसोभए यसलाई पनि उपभोक्तावादी संस्कृति भनेर खारेज गरिदिने? हामीले त्यसलाई ‘पुरुषहरु उपभोग्य साधनका रुपमा प्रयोग भए’ भनेका छैनौं। त्यसैले मेरो भनाइ के हो भने सुन्दर कुरालाई सुन्दरतामै सीमित राखौं।

सौन्दर्य प्रतियोगितालाई खारेज गर्नुभन्दा त्यहाँभित्र कसरी ‘सुशासन’ कायम गर्ने? अर्थात त्यसलाई कसरी सम्मानित र अपराध रहित बनाउन सकिन्छ, त्यतातिर ध्यान दिन थालौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .