साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बाले अभिनेत्री मिरुना मगरमाथि भएको दुर्व्यवहार र त्यसपछिका गालीले दुःखी भएको बताएका छन्।
'ब्याड टच'बाट पीडित भएकी भनिएकी मिरुनामाथि गाली बर्सिएपछि उपेन्द्रले आपत्ति जनाउँदै नेपाली समाजको चरित्रमाथि प्रश्न उठाएका छन्।
उनले यो प्रकरणमा दुवै पक्षबाट गल्ती स्वीकार गरेको अवस्थामा अझै पनि मिरुनामाथि गाली बर्सिन र उनी नै गलत हो भनेर धारणा बनाउनु पनि ठीक नभएको बताएका छन्।
‘दुई पक्षबीच मिलापत्र भइसकेको अवस्था छ। दुवै पक्षले आरोप प्रत्यारोप नगर्ने भन्ने पनि छ । दोष कसको थियो भन्ने कुरामा तर्क वितर्क नै नगरम्। मेरो कुरा यति मात्र हो, तपाईहरुले जुन जुन भिडियो फुटेज हेरेर मिरुना मगरलाई गाली गलौज गर्दै हुनुहुन्छ, जो सही गलत भनि आफ्नो धारणा बनाउनु भा'छ ती सीसीटीभी फुटेज भनिएका मोबाइलले खिचेका भिडियो के प्रयोजनका लागि थिए?', उनले प्रश्न गरेका छन्, 'एकचोटी सोच्नुभयो त्यो भिडिओ कसले र किन अपलोड गर्यो? भिडियो अपलोड गर्नुको उद्देश्य के थियो? यो पाटो सोचियो त? टिकटक भ्युज पाउन बनाएको सामग्रीलाई सत्य मानेर आफ्नो धारणा बनाउनु कति जायज हो?’
उनले सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले कुरै नबुझी गाली गरेको बताउँदै उनीहरुको हैसियतमाथि पनि प्रश्न उठाएका छन्।
‘भिडिओ जस्ले पोस्ट गरेका छन उनको एकाउन्ट एकचोटी खोलेर त हेर्नुस्। के त्यो व्यक्ति त्यति विश्वसनीय छ त? समाजमा त्यो व्यक्तिले यति धेरै हैसियत राख्छ त?', उनले सोधेका छन्, 'तपाईंकै स्टाटसमा आएका कति कमेन्ट गर्ने मन्छेको प्रोफाइल चेक गर्नुस् त। हामी फगत क्यारेम बोर्डका गोटी मात्र हौँ।’
यो प्रकरणमा उनले यसअघि पनि बोलेका छन्। उनले आफू २० वर्षदेखि पहिचानको पक्षमा लडिरहे पनि नेपाली समाजको यति संकिर्ण चरित्र पहिलो पटक देखेको भन्दै चित्त दुखाएका छन्।
‘पहिचानको पक्षमा २० वर्षयता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक। तर मलाई पत्तै भएन, हाम्रो समाज यति संकिर्ण र साम्प्रदायिक भइसकेछ। पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौँ। मेरो जाति, मेरो भाषा,मेरो मान्छे। यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइसकेछौँ', उनले भनेका छन्, 'होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनुहुन्छ, फुर्पा भाइको ठाउँमा अरु कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला? म त आदिवासी हुनुमा गर्व गर्थें। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थेँ। यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ।’
Shares

प्रतिक्रिया