केही दिनयता विवादमा तानिएका चर्चित र्यापर सुदीप भण्डारी (जी-बब) र परिवारबीच सहमति भएको छ।
आफूलाई आमाबुबाबाट स्वतन्त्रता चाहिएको भन्दै जी-बबले पत्रकार सम्मेलन गरेको भोलिपल्ट परिवारसँग सहमति भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार जी-बब र उनका बुवा राजकुमार भण्डारीबीच मंगलबार तीन बुँदे सहमति भएको हो।
सहमतिको पहिलो बुँदामा जी-बब उनकै इच्छाअनुसार कपनस्थित समर्पण समाज नेपालको सुधारगृहमा अन्य व्यक्तिसरह बस्ने भएका छन्।
जी-बब भन्छन् : मलाई बुवाआमाबाट स्वतन्त्रता चाहियो, जहाँ मन लाग्यो त्यहीँ जान्छु
त्यसैगरी सहमतिको दोस्रो बुँदामा केही अवधिका लागि जी-बबले चाहेको समयमा आमा-बुवालाई भेट्न पाउने व्यवस्था उनी बसेको समर्पण समाज नेपालले मिलाउने भएको छ।
यो सहमति अनुसार जी-बबले अब कुनै पनि सार्वजनिक समारोह या कार्यक्रममा जानुपर्ने भएमा आमा-बुवाको सहमति लिनुपर्ने भएको छ।
आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जी-बबले आमाबुवाले आफूलाई टर्चर दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएको बताएका थिए।
'मैले बुवाआमाविरुद्ध मुद्दा हालेको होइन। पत्रकारहरू पनि मुद्दा भनेर लेखिदिन्छन्', उनले भनेका थिए, 'निवेदन न क्या निवेदन, निवेदन हालेको हो। मलाई बुवाआमाको टोकाइबाट स्वतन्त्रता चाहिएकाले।'
जी-बबविरुद्ध आमाबुवाले पनि उजुरी दिएका थिए। तर प्रशासनले महानगरीय प्रहरी परिसरलाई दुवै पक्षलाई झिकाएर छलफल गर्न निर्देशन दियो।
काठमाडौं प्रहरीले दुवै पक्षलाई राखेर छलफल गर्दा सहमति हुन सकेको थिएन। तर सोमबार दुई पक्षबीच सहमति भएको हो।
यसअघि आइतवार विवाद समाधान नभएपछि जी-बबले पत्रकार सम्मेलन गरेका थिए। जहाँ उनले भनेका थिए, 'खुट्टा लागेको छोरा हुँ, आमा–बुवाबाट स्वतन्त्रता चाहन्छु', उनले भने, 'मलाई मेरो स्वतन्त्रता चाहियो। म स्वतन्त्रपूर्वक बस्न पाउनुपर्यो।'
उनले आफूले जे गरे पनि बुवाआमाले टोकिरहन नहुने बताएका थिए। 'मलाई मेरो काम खुसीले गर्दा मेरा बाबुआमाले टोक्नु भएन। काम गर्न दिनु पर्यो', उनले भनेका थिए, 'मलाई बाबुआमाले बारम्बार पुनर्स्थापना केन्द्र हालिदिएको हो। पाँच पटक त म बसेर आएको हो।'
Shares

प्रतिक्रिया