ad ad

कला


भाइरलको बाटोमा दोहोरी : भेलु बाजेदेखि हीरा गुप्तासम्म

भाइरलको बाटोमा दोहोरी : भेलु बाजेदेखि हीरा गुप्तासम्म

राधिका अधिकारी
असार १८, २०७९ शनिबार १७:३१, काठमाडौँ

कोरोना कालमा लाइभ दोहोरीदेखि स्टुडियोसम्म भेटिन्थे- गुल्मीका सचिन परियार। उनी सकिकनसकी गीत गाउँथे। सामाजिक सञ्जालमा उनकै मात्रै चर्चा हुन्थ्यो।

नाम चलेका कलाकारदेखि नवप्रवेशी कलाकारले पनि चर्चाका लागि उनको साहरा लिए।

त्यसताका लाग्थ्यो– लोकगीत संगीतका बादशाह हुन्– सचिन। अहिले सचिन कला क्षेत्रबाट गुमनाम भइसके। धेरैले सचिनलाई बिर्सन लागिसेके। 

सचिनको सक्रियता रहेकै बेला उनकै उमेरका आयुषा गौतम, कमला घिमिरेलगायत बालबालिका पनि लोक गीत/संगीतमा थिए। देशका विभिन्न ठाउँबाट भाइरल भएर कला क्षेत्रमा आएकी यी कलाकारको अहिले खास चर्चा हुँदैन।

भाइरलको बाटो हुँदै गायनमा आएका भेलु बाजे र हीरा गुप्ताको चर्चा सुरु भएको छ। अहिले उनीहरू चर्चाको केन्द्रमा छन्। यी दुवैको जगेर्ना युट्युबर भोजराज थापाले गरेका हुन्। एक करोड पाए एक हाफ चाउमिन खान्छु, दुई करोड पाए अन्डा हालेर हाफ चाउमिन खान्छु भनेर भाइरल भएका हीरा र बेल्कुल, माटोक्नेजस्ता थेगो प्रयोग गरेर भाइरल भएका भेलु बाजेले गाएका गीतले अबको केही समय चर्चा पाउने देखिन्छ। 

भेलु बाजे र हीरालाई अहिले अन्तर्वार्तादेखि गायनसम्म समय मिलाउन निकै गाह्रो छ। नेपाली लोक गीत संगीतमा लामो समय गुजारेका बिबी अनुरागीले भेलु बाजेलाई आफ्नै स्टुडिओमा बोलाएर गीत गाउन लगाइसके। प्युठानी ठाडी भाका भन्दै ‘काटे डाली कैन’ गीत गाएका भेलु बाजे अहिले लोप हुँदै गएका भाका संरक्षकका रूपमा प्रचार भइरहेको छ। लोपोन्मुख गीतको संरक्षकका रूपमा देखिएका उनले गाएको गीत खासै बुझिँदैन, तर गीतको बीचमा पनि माटोक्ने र आउँदै आउन्न भन्ने शब्द बाक्लै सुन्न सकिन्छ। 

भेलु बाजे

सामाजिक सञ्जालमा भाइरल भएर गायक भएका उनले सामाजिक सञ्जालमै पाएका प्रतिक्रिया निकै राम्रा छन्। सुरतालबिनै भेलु बाजेलाई गायक बनाउने बिबी अनुरागी र भेलु बाजे दुवैलाई दर्शकले धन्यवाद दिएका छन्। घाँस दाउरा गर्दा गाइने पुरानो ठाडी भाका संरक्षण गरिदिएको भन्दै प्रशंसा गरेका छन्। ठाडी भाकाको संरक्षक मात्रै नभएर भेलु बाजे प्युठानलाई चिनाउने महान् कलाकार भएका छन्। 

सामान्य पारिवारका ६१ वर्षीय मेनबहादुर बुढा (भेलु् बाजे) यसअघि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्थे। उनी थाहै नपाई टिकटकमा भाइरल भए। आफूसँग मोबाइल पनि नभएका भेलु बाजे आफू भाइरल भएको थाहै नपाई टिकटकर र युट्युबरको घेरामा पुग्छन्। त्यसपछि उनले अभिनयदेखि गायनसम्मको यात्रा तय गरे। 

भेलु बाजेलाई गीत गाउन लगाउने अनुरागी मात्रै भने होइनन्। गायक संगीतकार भुवन बडुले पनि गीत गाउन लगाए। भुवनले यही समय चर्चामा रहेका काले दाइ उर्फ चाउमिनवाला (हीरा गुप्ता) लाई पनि गीत गाउन लगाए। भेलु बाजे र चाउमिनवालाई एकै ठाउँमा राखेर गाएको ‘भेलु बाजे आहा चाउमिनवाला’ गीत पनि सामाजिक सञ्जालमा चर्चामा छ।

भेलु बाजेजस्तै चाउमिनवाला पनि सांगीतिक ब्याकराउन्डबाट आएका मानिस होइनन्। उनी ठेलामा कस्मेटिक सामान बेच्छन्। केही समय फलफूलसमेत व्यापार गरेका हीराको बोल्ने शैली उनका ग्राहकले मन पराउँथे। उनी सीधा कुरालाई पनि घुमाएर बोल्छन्। दाङ घोराही ट्राफिक चोकमा ठेलामा व्यापार गर्ने उनलाई सुदन थापाले ‘एक करोड पाउनुभयो भने के गर्नुहुन्छ’ भनेर साेधेका थिए। जवाफमा ‘पहिला त एक हाफ चाउमिन खान्छु’ भनेका हीरालाई भाइरल हुन त्यही वाक्य काफी भइदियो। उनले बोलेको उक्त वाक्य टिकटकमा हिट भयो। त्यसपछि उनको नाम नै ‘चाउमिनवाला’ भयो। परिणाम– उनी गायक भइसकेका छन्। 

हीरा गुप्ता

भेलु बाजेलाई गायनमा भित्र्याएका बिबी अनुरागीले लोकगीत भाइरलहरुले धानेको क्षेत्र हो भन्न थालिसके। भाइरल कलाकारले लोक गीत नगाएको खण्डमा वर्षमा ५० वटा गीत पनि रेकर्ड नहुने उनको तर्क छ। नेपाली लोक गीत संगीतमा भाइरलभन्दा तल्लो स्तरका कलाकार रहेको बताउँदै अनुरागी भन्छन्, ‘स्वर खोज्ने हो भने ५० प्रतिशत गायक गायिका फेदा पर्दैनन्।’ भेलु बाजेलाई आफ्नै स्टुडिओमा बोलाएर गीत रेकर्ड गराएका अनुरागीको लोक संगीत क्षेत्रमा आलोचना भइरहको छ। 

भेलु बाजेको गीतको भिडिओ फेसबुकमा हालेका अनुरागी युट्युबका लागि यो काम नगरेको बताउँछन्। भन्छन्, ‘कुनै योजना हैन, कसैले ल्याउनु भयो। गीत सुने। आमाले गाउने टाइपको ठाडी भाका लाग्यो। युट्युबका लागि त यो गरिएकै हैन। फेसबुकमा मात्रै गीतको भिडिओ राखिएको छ। एउटा हराइसकेको पुरानो भाका कम्तीमा मसँग सुरक्षित छ, यसमा म खुसी छु।’ सबैलाई मन नपरे पनि कसैलाई यही भाका कुनै दिन काम लाग्न सक्ने अनुरागीको तर्क छ। 

लामो समयदेखि नेपाली लोक गीत संगीतमा क्रियाशील विष्णु खत्री भने स्रष्टाहरू भाइरलको पछि दौडिएको देखेर चकित छन्। स्वर भएका/नभएका सबैलाई गीत गाउन थालेपछि आक्रोशित खत्री प्रश्न गर्छन्, ‘हाम्रो क्षेत्रलाई बदनामी गराउने हर्कत कहिलेसम्म?’

लोक संगीतको क्षेत्रलाई शुद्ध बनाउन ठूलो लगानी गरेको भन्दै यो क्षेत्रलाई पुनः धमिलो नबनाउन स्रष्टाहरूलाई आग्रह गरेका छन्। उनी भन्छन्, ‘संस्कृति हाम्रो जननी हुन्। आमा हुन्। हामीलाई हाम्रो आमाको माया छ। तिमीहरूलाई माया छैन होला, जाउ र भन आमा मलाई डलर र भ्युज कमाउनुछ।’

जो भाइरल भयो उसैलाई संगीतमा भित्र्याउने प्रवृत्ति गलत भएको संगीतकार चेतन सापकोटाको तर्क छ। सामान्य मानिस भाइरल नहुने भन्दै भाइरल भएका सबैमा गायनको क्षमता नहुने उनको भनाइ छ। उनीहरू जुन क्षमताका कारण भाइरल भएका छन्, त्यसैमा स्थान दिन सक्दा राम्रै हुने उनी बताउँछन्। अहिले अश्लील बोलेर, गलत सूचना दिएर भाइरल भएका पनि संगीत क्षेत्रमा आएकोप्रति संगीतकार सापकोटा असन्तुष्ट छन्। 

व्यावसायिक हुँदै गएको लोक दोहोरी क्षेत्रमा भित्रिँदै गएको विकृतिले हैरान छन्– लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी। क्षणिक चर्चा र पैसाका कारण दोहोरी क्षेत्र फोहोरो हुँदै गएकोमा बिजी चिन्तित सुनिन्छन्। दोहोरी क्षेत्रको यो फोहोरी खेलले प्रतिष्ठानको समेत ध्यानकर्षण भएको बिजीले बताए।

संस्थाले बारम्बार आग्रह गर्दा पनि कलाकारले नटेरको तर दोहोरीलाई माया गर्नेहरू गुनासा र आक्रोश बोकेर प्रतिष्ठानमा आएपछि शिव हमालको संयोजकत्वमा त्यस्ता हर्कत न्यूनीकरण गर्न थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .