ad ad

कला


कलाकार खुइल्याउँदै ‘कमेडी शो’

कलाकार खुइल्याउँदै ‘कमेडी शो’

राधिका अधिकारी
असार २७, २०७९ सोमबार १०:४५, काठमाडौँ

एक समय थियो नेपालमा ‘कमेडी शो’का लागि भारतीय टेलिभिजन हेरिन्थ्यो। त्यसताका भारतीय टेलिभिजनको ‘द कपिल शर्मा शो’ नेपालमा पनि चर्चित थियो।

हरेक वर्गका मानिसले रुचाएको ‘द कपिल शर्मा शो’मा लोभिएका नेपालीले त्यसैको नक्कल गर्न थाले । नेपालमा पनि थुप्रै ‘कमेडी शो’ निर्माण भए।

विशाल भण्डारीको टिमले पहिलो पटक ‘कमेडी च्याम्पियन’ नामक प्रतिस्पर्धात्मक ‘शो’ चलायो, जुन हिट पनि भयो। विशालकै टिमले ‘कमेडी च्याम्पियन’को दोस्रो सिरिज चलायो। तर, पहिलो जति स्तरीय बन्न र चर्चा पाउन सकेन। त्यसपछि उनले प्रतियोगिता छोडेर ‘कमेडी क्लब विथ च्याम्पियन्स’ चलाउन थाले। उक्त ‘शो’ अहिले औसतमा चलिरहेको छ।

दीपाश्री निरौला अध्यक्ष रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा कलाकारहरु आफ्ना फिल्मदेखि म्युजिक भिडियोसम्मको प्रचार गर्न पुग्छन्।

आफ्नो फिल्म ‘सम्झना बिर्सना’को प्रचारका लागि ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा पूजा शर्मा र आकाश श्रेष्ठ पनि पुगे। तर ‘शो’मा आफ्ना बारेमा गरेको मजाकमा पूजा र आकाश खासै रमाउन सकेनन्। आकाशले खासै प्रतिक्रिया नदिए पनि पूजाले भने आफ्नो बारेमा केही नयाँपनको खोज नगरेको, पुरानै कुरा मात्रै दोहोर्‍याएको भन्दै चित्त दुखाइन्।

हरेकपटक पुरानै कुरा गिजोलेपछिको हैरानी पूजाको अनुहारमा ‘शो’मै देखिन्थ्यो। उनी राम्रोसँग खुल्न सकिनन्।

पूजाले मात्रै होइन आम दर्शकले पनि यो ‘शो’लाई लिएर गुनासो गर्न थालेका छन्। हरेक कार्यक्रममा नेतालाई गाली गर्नु र कलाकारलाई खुइल्याउनु भन्दा फरक केही नभएको भन्दै दर्शकले गुनासो सुरु गरेका छन्।

विशाल भण्डारीकै टिमले सञ्चालन गरेको ‘कमेडी च्याम्पियन’दोस्रो सिजनमा नायक पुष्प खड्काले यसैगरी मन दुखाएका थिए। उनले ‘शो’मा आफ्नो बारेमा गरिएको व्यङ्ग्यलाई सहज रुपमा लिन सकेनन्। कमेडी च्याम्पियनका प्रतियोगीले पुष्पतिर औंला देखाउँदै भने ‘उहाँ को हो रे?’ आफ्नै ‘शो’ मा निम्त्याइएका पाहुनालाई यो को हो भनेर गरेको प्रश्नले पुष्पलाई नराम्रोसँग चिमोट्यो।

केही हप्तादेखि सञ्चालनमा आएको विक्की अग्रवालको ‘आम्मा कसम यहाँ दुख्छ’ नामक कमेडीमा पनि उसैगरी कलाकार खुइल्याउने परम्परा सुरु भएको छ। त्यसैले बिक्कीलाई सुरुवाती अवस्थाबाटै अतिथि पाउन गाह्रो भएको छ।

बिक्कीको ‘शो’ बोलाएका अतिथिलाई मनपरी प्रश्न गरेर मजाक बनाएको भन्दै नाम चलेका धेरै कलाकारले उनको ‘शो’मा जान इन्कार गर्ने गरेका छन्।

नेपाली टेलिभिजनमा पछिल्लो समय कमेडीको बाढी नै आएको छ। पहिलो ‘कमेडी च्याम्पियन’को लोकप्रियता हेरेर बानी परेका विज्ञापनदाता पनि दिनहुँ घोषणा भइरहेका ‘कमेडी शो’हरुमा लगानी गर्न लालायित देखिन्छन्। तर, ‘शो’ बढ्दै जाँदा कमेडीको स्तरवृद्धि हुनुको सट्टा खस्किँदै गएको छ।

‘शो’को गरिमा बढाउन पुग्ने कलाकारको गरिमा भने गिर्दै गएको भान हुन्छ। पाहुना बनेर गएका कलाकार ‘शो’ सेटमा व्यक्तिगत जीवनदेखि व्यवसायिक जीवनसम्मका कुरा जोडेर मजाकको पात्र बनेर फर्किने गरेका छन्। दर्शक ‘शो’मा गरिएका मजाकलाई लिएर कलाकारलाई हेर्ने दृष्टिकोण परिवर्तन गरिरहेका छन्।

आफ्नो कामको प्रचारका लागि मञ्चमा पुगेका कलाकार मजाकको नमिठोपन बोकेर फर्किने क्रम बढेर गएको छ। उनीहरुले सार्वजनिक रुपमा मन दुखेको नदेखाए पनि अनौपचारिकरुपमा भने दुखेसो पोख्ने क्रम सुरु भएको छ।

कपिल शर्माको नक्कल गर्दै सुरु भएका हाम्रा ‘कमेडी शो’ निर्माताहरुले उनले झैं कलाकारलाई सम्मान गर्न भने भुलिरहेका छन्।

भारतको ‘द कपिल शर्मा शो’मा पुग्ने कलाकारलाई कमेडियनले निकै इज्जत दिने गरेका छन्। यहाँ जस्तै त्यहाँ पनि कलाकारले आफ्नो फिल्म प्रचारको पहिलो प्राथमिकतामा ‘द कपिल शर्मा शो’लाई नै राख्ने गरेका छन्। त्यहाँ पुग्ने कलाकारले आ–आफ्नै तरिकाले मजाक गरे पनि ‘शो’मा कलाकारले पाउने इज्जत भने लोभलाग्दो देखिन्छ।

नेपालमा भने त्यसको ठ्याक्कै उल्टो अवस्था देखिन्छ। कलाकारका व्यक्तिगतदेखि व्यावसायिक जीवनका बारेमा रहेको अर्धज्ञानलाई मजाकको रुपमा प्रस्तुत गरिँदा ‘शो’हरुको गरिमा पनि घटिरहेको छ। यसले ‘शो’मा पुगेर फर्किँदा कलाकारको अनुहारमा असन्तुष्टिका रेखा देखिने गरेका छन्।

केदार घिमिरेको निर्देशनमा सञ्चालन भैरहेको ‘कमेडी क्लब’ पनि नयाँपन दिन नसक्दा संकटमा परेको छ। जितु नेपालले चलाएको मुन्द्रेको कमेडी क्लब त अहिले बन्द नै भइसकेको छ ।

केदारको ‘शो’मा पनि पुरानै विषयवस्तु, नेताकै क्यारिकेचर, घोचपेच बाहेक घिमिरेले नयाँ केही देखाउन सकेका छैनन्। उनको यो ‘शो’ नेपालमा हरेक वर्ष मनाइने ‘गाईजात्रा’ भन्दा फरक हुन सकेको छैन।

टेलिभिजन ‘शो’ मात्रै होइन, युट्युबमा पनि ‘थुप्रै कमेडी शो’ भेटिन्छन्, जहाँ कलाकारलाई बोलाएर ‘रोष्ट’ गर्ने प्रचलन बढ्दै गएको छ। यस्ता उडाउने खालका ‘शो’हरुले कतिपय कलाकार विवादमा समेत तानिएका छन्।

एकताका कलाकार खुइल्याउन प्रकाश सुवेदी एक्लै काफी थिए। उनले आफ्ना कार्यक्रममा कलाकारलाई बोलाएर गर्ने प्रश्नका कारण थुप्रै कलाकारको हुर्मत लिएको छ। सुवेदीको यही हर्कतले थुप्रै कलाकारले उनीसँग चित्त दुखाएका छन्।

अभिनेत्री पूजा शर्मा, वर्षा राउत, दीपाश्री निरौलासम्मको नराम्रोसँग हुर्मत लिएका सुवेदी अहिले आफ्ना सबै टेलिभिजन कार्यक्रम बन्द गरेर बसेका छन्।

अहिलेका ‘कमेडी शो’हरु प्रकाशको यही खालीपन पूरा गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .