कला


कुन कलाकार कसरी सम्झिन्छन् आफ्ना गुरुलाई?

कुन कलाकार कसरी सम्झिन्छन् आफ्ना गुरुलाई?

नेपालखबर
असार २९, २०७९ बुधबार १३:४०, काठमाडौँ

आज गुरु पूर्णिमा अर्थात् असार शुक्ल पूर्णिमा। देशभर गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरेर मनाइँदै छ। यसै क्रममा नेपाली कलाकारहरुले पनि आफ्ना गुरुको सम्झना गरेका छन्। धेरैले आफ्ना बुबाआमाको तस्बिर सामाजिक सञ्जालमा राखेर गुरु पूर्णिमाको आशीर्वाद मागेका छन्। 

निर्देशक ऋषि लामिछानेले लक्ष्मीनाथ शर्मा र तुलसी घिमिरेको तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्। अनि गुरु भनेकै भगवान् शंकर हुन्। गुरु नै साक्षात् परब्रह्म हुन्, यस्ता गुरुलाई म नमन गर्दछु। असल गुरु र असल शिष्य दुवै बन्न सक्नुहोला गुरु पूर्णिमाको सबैमा शुभकामना! मलाई क ख रा सिकाउने मेरो गुरु लक्ष्मीनाथ शर्मा र तुलसी घिमिरेज्यूको आशीर्वाद सधैँ लागोस्। गुरुहरुमा नमन अनि ढोग।’

निर्देशक दिनेश डिसीले कलाकार सन्तोष पन्तलाई सम्झना गरेका छन्। उनले पन्तसँगको पुरानो तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आफूलाई जीवनका कठिन दिनमा डोर्याएर टेलिभजन को ‘टी’ र अभिनयको ‘अ’ सिकाएको उल्लेख गरेका छन्।

उनले लेखेका छन् ‘पेसागत रुपमा आज म जे छु, यिनै गुरुले रोपिदिएको ‘बीउ’ र शिलान्यास गरिदिएको ‘ढुंगा’ को कारण छु र त्यही जगमा उभिएको छु। यहाँको चरण स्पर्श कम हुन्छ, यहाँप्रतिको श्रद्धा र मैले दिनुपर्ने धन्यवादको लागि।’

पुराना अभिनेता भुवन केसी अनुराधा कोइरालाई आफ्नो गुरु मान्छन्। उनले अघिल्लो वर्ष माइती नेपालकी संस्थापक कोइरालासँगको तस्बिर राख्दै आफ्नो जीवनको पहिलो गुरु उल्लेख गरेका थिए। अनुराधाले कक्षा १ मा ‘ए, बी, सी, डी’ पढाउँदै आजसम्म औपचारिक/अनौपचारिक रुपमा मार्गदर्शन गरिरहेको केसी बताउँछन्। यो वर्ष भने उनले सञ्जालमा केही लेखेका छैनन्। नेपाल चलचित्र बोर्डको अध्यक्ष बन्न दौडमा रहेका केसी पछिल्लो समय बेफुर्सदिला देखिएका छन्।

निर्देशक प्रदीप भट्टराई आफ्नो गुरुका रुपमा हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई मान्छन्। 

पछिल्लो पुस्ताका गायक महेश काफ्ले निर्देशक तथा निर्माता असिम शाह र सञ्चारकर्मी आशिफ शाहलाई आफ्नो गुरु मान्छन्।

हास्य कलाकार दीपकराज गिरी आजसम्म यात्रामा थुप्रै गुरुहरु जोडिएको बताउँछन्।

भन्छन् ‘जीवनमा नयाँ नयाँ कुरा सिक्ने, जान्ने रहर भइरहन्छ।  यसै क्रममा धैरै मानिसहरुबाट शिक्षित र प्रशिक्षित भइन्छ। यस हिसाबले जीवनमा थुप्रै द्रोणाचार्यहरू हुन्छन् भने चेलाको रूपमा पनि हामी कतै अर्जुनजस्तै हुन्छौँ त कतै एकलव्यजस्तो अप्रत्यक्ष रूपमा सिक्ने काम हुन्छ। मैले पनि थुप्रै गुरूहरूबाट सिकेको छु। एकलव्यको रूपमा आदरणीय हरिवंश, मदनकृष्ण सन्तोष पन्त हुनुहुन्छ भने प्रत्यक्ष रूपमा आदरणीय दिनेश डिसी, स्व. दीपक कोइराला, मदनदास श्रेष्ठलगायत सबै गुरूहरूको स्थान उच्च छ।’

उनी अगाडि भन्छन् ‘अध्यात्मसँग जोडिने क्रममा गुरू विनोद आनन्द, प्रति प्रभू तथा स्व. बलराम  तेजप्रसाद पण्डित हुनुहुन्छ। त्यसै गरेर स्कुल कलेज र अनेकौँ स्थानहरूमा जो–जोबाट मैले ज्ञान हासिल गरे उहाँरू सबैप्रति हार्दिक नमन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad