कला


‘ऐना झ्यालको पुतली’मा ज्यामिरे गाउँको कथा (भिडिओ)

‘ऐना झ्यालको पुतली’मा ज्यामिरे गाउँको कथा (भिडिओ)

नेपालखबर
भदौ १६, २०७९ बिहिबार ८:६, काठमाडौँ

भदौ २४ मा प्रदर्शन गर्न लागिएको फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश बाल गीत सार्वजनिक गरिएको छ। ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार पारिएको छ। 

गीतमा रामबाबु सुवेदीका शब्द र रामेश श्रेष्ठको संगीत छन्। गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीले आवाज दिएका छन्। 

रामबाबु सुवेदीका अनुसार यो गीत उनले २०४० सालमा रचना गरेका थिए। २०४२ सालमा रामेश श्रेष्ठले यसमा संगीत भरेका थिए। रेडियो नेपाल तथा एफएममा बज्ने गरेको यही बाल गीतलाई निर्माण टिमले फिल्मको ओरिजिनल साउन्ड ट्रयाक (ओएसटी) का रूपमा सार्वजनिक गरेको हो। रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरेजस्तै फिल्मको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिइएको बताए।

‘मैले फिल्म पनि हेरेँ। गाउँले परिवेश र शिक्षाको महत्त्वको विषयमा असाध्यै राम्रो फिल्म बनेको रहेछ। मैले त ज्यादाभन्दा ज्यादा केटाकेटीले गीत सुनुन् भनेर बनाएको हो। अब फिल्ममा आएपछि त्यो झन् धेरै साना नानीबीच पुग्छ’, उनले भने, ‘यो गीतले पनि शिक्षाको कुरा गर्छ र फिल्मले पनि। हाम्रो उद्देश्य पनि मिल्यो।’

लेखक तथा निर्देशक सुजित बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुनेको भए पनि गीतले भावुक बनाएकाले फिल्ममा पनि यही कारणले प्रयोग गर्ने निर्णय गरेको बताए।

‘यो गीत मैले सानामा सुनेको पनि थिएँ होला तर कलेज पढ्दा ख्याल गरेको थिएँ। यतिबेला सुन्दा पनि म नोस्टाल्जिक बनेको थिएँ। अहिले यो फिल्ममा गीत राख्ने कारण हाम्रो यही नोस्टाल्जिया फर्काउने होस्। किनकि यो फिल्म नै एक प्रकारको हाम्रो नोस्टाल्जिया हो’, सुजितले भने। 

बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा भन्छ जुन परिवार आर्थिक  अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ। यसबाहेक फिल्मले बाल्यकाल र यससँग स्मृतिका कथा पनि पेस गर्छ। 

सुजित बिडारीको निर्देशन गरेको फिल्म आकाश पौडेल, रामकृष्ण पोखरेल,प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर बनाएका हुन्। 
केही दिनअघि विश्वव्योति हलमा भएको स्पेसल स्क्रिनिङमा फिल्म हेर्नेले फिल्म असाध्यै राम्रो बनेको प्रतिक्रिया दिएका थिए। आफ्नै बाल्यकालको कथा जस्तो लागेको भन्ने प्रतिक्रिया धेरैको थियो। 

फिल्ममा सिरु विष्टबाहेक पहिलोपल्ट अभिनय गर्ने कलाकारको बाहुल्य छ। फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी आदिले अभिनय गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad