‘प्रसाद’ नेपाली फिल्म उद्योगमा सफल भएको फिल्म हो। यही सफलताको ब्याज खान फिल्म युनिटले ‘प्रसाद २’ निर्माण घोषणा गर्यो।घोषणा मात्रै होइन, फिल्मको स्क्रिप्ट बोकेर निर्माण टिम फिल्डमा निस्कियो। तर छायांकन सुरु नहुँदै अभिनेता विपिन कार्कीसँग लफडा भयो। विपिन छायांकन छाडेर काठमाडौं फर्किए। फिल्मको छायांकन रोकियो। जम्बो टोली बनाएर फिल्म छायांकनका लागि निस्किएको निर्माण टिम फर्कियो।
सुवास थापाले निर्माण गर्न लागेको फिल्म युनिटलाई नायकसँगको विवाद मिलाउनै समय लाग्यो। अन्ततः विपिनसँग कुरा मिल्यो। फिल्म छायांकनको कुरा चल्दै गर्दा नायिकाले फिल्मबाट हात भिकिन्। अघिल्लो सिरजमै शीर्ष भूमिका नम्रता श्रेष्ठले फिल्म नखेल्ने बताइन्। भनेको समयमा फिल्म छायांकनमा नगएपछि नम्रता अर्को फिल्ममा अनुबन्ध भइन्। ‘प्रसाद २’को लफडा सकिँदासम्म नम्रताको अर्को फिल्मको काम सुरु हुन लागेको थियो। त्यसैले हिट फिल्म ‘प्रसाद’को सिरिजबाट नम्रताले हात उठाइन्।
नम्रताले फिल्म छाडेपछि निर्माण टिम फेरि अन्योलमा पर्यो। टिमलाई अभिनेत्री खोज्नै समय लाग्यो। चलेका केही अभिनेत्रीकहाँ प्रसाद २ को स्क्रिप्ट पुग्यो। तर धेरैले फिल्म खेल्न अस्वीकार गरे। अन्ततः फिल्ममा नम्रताले छाडेको ठाउँमा अभिनय गर्न केकी अधिकारी तयार भइन्। केकी अनुबन्ध भएपछि पनि निर्माताले फिल्म निर्माण सुरु गर्न सकेनन्।
फिल्मका शीर्ष कलाकार विपिन कार्की बलिउड फिल्म ‘एनिमल’बा लागि हिँडे। निर्देशक सुदर्शन थापा पनि अमेरिका उडेपछि सुवास थापा झनै अन्योलमा परेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘निर्देशक हलिउडतिर, एक्टर बलिउडतिर, मेरो प्रसाद २।’
यो फिल्म मंसिर ७ गतेबाट छायांकनमा जाने निर्माता संघसँग सहमति भएको थियो। तर अब लगभग यो मितिमा फिल्म छायांकन सुरु नहुने संकेत देखिएको छ। अमेरिका उडेका सुदर्शनको फर्किने टुंगो छैन। विपिन कार्की ‘एनिमल’ सुटिङमा व्यस्त छन्। उनी पनि फर्किहाल्ने सम्भावना छैन। लाचार देखिएका निर्माता थापा स्टाटसमार्फत दुखेसो पोखिरहेका छन्।
Shares

प्रतिक्रिया