कला


निर्वाचन आयोगलाई कलाकारका आ–आफ्नै आग्रह

निर्वाचन आयोगलाई कलाकारका आ–आफ्नै आग्रह

तस्बिर स्राेत : निर्वाचन आयाेग


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार ९:५५, काठमाडौँ

कलाकारले आसन्न निर्वाचनमा शारीरिक अशक्त, वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिमैत्री निर्वाचन बेन्द्र निर्माण गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्।

सोमबार निर्वाचन आयोगले कलाकारसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा आफ्ना धारणा राख्दै कलाकारहरुले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आयोगले शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई ध्यानमा राखेर निर्वाचन केन्द्र निर्माणमा ध्यान दिन आग्रह गरेका हुन्।

निर्वाचन आयोगले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै मनोज गजुरेलले कलाकारहरु अभियन्ता मात्रै नभइ खबरदारी कर्ता पनि भएकाले खबरदारी कर्ताको रुपमा अनुमति दिनुपर्ने माग गरे। उनले मतपत्र हेरिसकेका मानिसहरु पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा आम नागरिकको पहुँचमा बुझाउनुपर्ने बताए। 

गजुरेलले निर्वाचनलाई पर्वको रुपमा मान्नुपर्ने र सकेसम्म नकारात्मक प्रचारप्रसार गर्नु नहुने बताए। ‘हामी अभियन्ता मात्रै नभएर हामी खबरदारीकर्ताका रुपमा प्रस्तुत हुन्छौँ। त्यो अनुमति दिनुपर्‍यो। हामीले ४ प्रकारका मतपत्र हे¥यौं। हामी पनि त्यसमा कन्फ्युज छौँ,’ उनले भने, ‘यसलाई बुझाउने पाटोमा निर्वाचन आयोगले महत्व दिएको छ जस्तो मलाई लाग्दैन। राजनीतिक पर्वको रुपमा निर्वाचनलाई मनाएर जानुपर्छ। सकेसम्म निर्वाचनलाई नेगेटिभ्ली प्रचार नगरौँ।’

बरिष्ठ कलाकार हरिहर शर्माले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै अन्तरक्रियात्मक कार्यक्रम अझै बढाउन आवश्यक रहेको बताए। उनले कलाकारहरुले आफ्नो तर्फबाट नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले मतदातामा जनचेता फैलाउन सहयोग पुग्ने बताए।

शर्माले गत स्थानीय तहको निर्वाचनमा अशक्त, असहाय, व्यक्तिहरु र फरक क्षमता भएका व्यक्तिहरुलाई भोट दिन जाँदा उचित व्यवस्थापन नगरेका दृश्यहरु देखिएको भन्दै निर्वाचन केन्द्रहरु शारीरिक अशक्ततामैत्री बनाउन आग्रह समेत गरे।

शर्माले भने ‘यो एउटा मेला हो, पर्व हो, निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो। अन्तरक्रियात्मक कार्यक्रमरु बेलाबेलामा हुँदै गरुन्, यसले सकारात्मक सन्देश दिन्छ। कलाकारहरुले पनि आफ्नो तर्फबाट आफ्नो क्षेत्रबाट, नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले निश्चय नै यो अभियानमा सहयोग पुग्नेछ।’

अर्का कलाकार दीपक आचार्यले विगत केही समय यता ठूला दलका नेताहरुले चुनाव प्रचारप्रसार गर्ने क्रममा र भोट माग्ने क्रममा मतदाताहरुलाई प्रलोभनमा पार्ने गरेको भन्दै कारबाही हुन्छ की हुँदैन भनेर प्रश्न गरेका थिए। उनले ‘बिना ढेवाके विदेश पठाइदिन्छ,’, ‘हेलिकप्टर लिएर प्रचारप्रसार गर्न आउनेहरुलाई भोट दिनुहोस्स्’ जस्ता अभिव्यक्ति दिने नेताहरुप्रति आयोगको ध्यानाकर्षण भएको छ वा छैन भन्नेबारेमा जिज्ञासा राखेका थिए।

उनले निर्वाचन आयोगले कलाकारहरुसँग समन्वय गरेर अघि बढे मतदाता शिक्षासहित निर्वाचन प्रचारप्रसारका गतिविधिहरु जनतामाझ पुग्न सहज हुने विश्वास व्यक्त गरे।

यस्तै, कलाकार दीपाश्री निरौंलाले निर्वाचन आइसकेकाले मोबाइलमा निर्वाचन प्रचारप्रसारका रिङटोनहरु राख्न सुझाव दिइन्। उनले मतदाताहरुलाई निर्वाचन मतदाता शिक्षामुलक सूचनाहरु प्रशारण गर्ने हो भने मोबाइलले पनि धेरै कुरा जानकारी गराउने बताएकी थिइन्। उनले भनिन् ‘हामीले अब १३ दिनको अवधिमा मतदाता परिचय पत्र बोकेर जाऔँ, भन्ने खालका मतदाता शिक्षा सम्बन्धीका सूचनाहरु मोबाइलको रिङटोनमा बज्नेगरी प्रशारण गर्न आवश्यक छ।’

गायक प्रकाश सपुतले आम नागरिकलाई निर्वाचनका बारेमा सिकाउने कुरामा आफूले निशुल्क काम गर्ने बताए। उनले सामग्रीहरु किन राम्रा निर्माण गर्न सकेका छैनौँ भन्ने बारेमा आयोगलाई सोच्न आग्रह समेत गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .