कला


शमिताले गरेको त्यो चुम्बन, जसले जीवनमा भूकम्प ल्यायो

शमिताले गरेको त्यो चुम्बन, जसले जीवनमा भूकम्प ल्यायो

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १०:५०, काठमाडौँ

‘द टेनेंट’ अभिनेत्री शमिता शेट्टी अहिले चर्चामा छिन्। सन् २००० मा फिल्म ‘मोहब्बतें’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी यी अभिनेत्रीले आफ्नो जीवनका केही किस्सा सार्वजनिक गरेकी छन्। उनले एउटा किसिङ दृश्यले आफ्नो जीवनमा भूकम्प आएको बताएकी छन्। फिल्म ‘मोहब्बतें’ मा शमिताले उदय चोपडालाई चुम्बन गरेकी छन्। यो फिल्म आदित्य चोपडाले निर्देशन गरेका हुन्। डेब्यु फिल्ममै दिएको किस सिनले व्यक्तिगत जीवनमा अप्ठ्यारो भोग्नुपरेको शमिताले बताएकी छन्।

शमिता अभिनेत्री शिल्पा शेट्टीकी बहिनी हुन्। तर उनले आफ्नो बेग्लै पहिचान बनाएकी छन्। हालै दिएको अन्तर्वार्तामा शमिताले विगतका विस्फोटहरू सम्झिँदै भनिन्, ‘मलाई त्यो समय राम्ररी याद छ, किनभने मेरो बुबाले चुम्बनका कारण मसँग बोल्नै छाड्नुभयो। उहाँले मसँग एक महिनासम्म कुरा गर्नु भएन। म धेरै दु:खी भएँ, म उहाँको धेरै नजिक थिएँ। समय बित्दै जाँदा यो हाम्रो उद्योगमा धेरै सामान्य भयो। पापाले पनि बुझ्नुभयो, तर त्यसपछि मैले कसैलाई अनस्क्रिन किस गरिनँ।’

यसबाहेक अभिनेत्रीले ट्रोलिङ र विवाहका बारेमा पनि कुरा गरेकी छन्। उनलाई राकेश बापटसँगको ब्रेकअपबारे पनि सोधिएको थियो। यद्यपि अभिनेत्रीले यसबारे कुनै प्रतिक्रिया दिइनन्। भनिन्, ‘म ट्रोललाई बेवास्ता गर्छु। म धेरैपटक टिप्पणीहरू जाँच गर्छु। जहाँ मानिसहरूले मलाई मेरो उमेरको सम्झना गराउँछन्।’

उनले बिग बोसले आफ्नो जीवनमा धेरै परिवर्तन आएको बताइन्। उनले मानसिक स्वास्थ्यबारे पनि कुरा गरेकी छन्। उनले नियमित ध्यान गर्ने बताएकी छन्। ध्यानको समय मानिसका लागि निकै महत्त्वपूर्ण हुने बताएकी छन्। ध्यानले धेरै कुरा दिमागमा बस्न नदिने उनको तर्क छ।
आफ्नो जीवनबारे खुलेर बोल्ने यी अभिनेत्री जीवनमा धेरै नराम्रो समयबाट गुज्रिएकी छन्। 

एक समय उनी गहिरो डिप्रेसनमा परेकी थिइन्। त्यो समय सम्झिँदै शमिताले भनेकी छन्, ‘त्यतिबेला म रिलेसनसिपमा थिएँ र उनी एकदमै राम्रा व्यक्ति थिए। उनले मलाई ‘शमिता तिमीलाई केही नराम्रो भइरहेको छ है’ भनेर भनिरहन्थे। जब तपाईं त्यो चरणबाट गुज्रनुहुन्छ, तपाईं आफैँलाई के भइरहेको छ भनेर थाहा हुँदैन।’ उनले डिप्रेसनमा परेको सुरुको समयमा आफूलाई के भएको भनेर थाहा नपाएको बताएकी छन्। 

भन्छिन्, ‘म कता हराइरहेको हुन्थेँ। मविरुद्ध के भइरहेको छ भनेर थाहा पनि हुँदैनथ्यो। त्यो अवधिमा मेरो परिवारले मलाई धेरै साथ दियो। त्यो समय निकै कठिन थियो। जो व्यक्ति डिप्रेसनमा हुन्छन् उनीहरुका लागि हरेक दिन एक लडाइँ हो।’

शमिता शेट्टीले थपिन्, ‘जब कसैले तपाईंलाई डिप्रेसन भइरहेको छ भन्ने थाहा पाउँछन् तब ती व्यक्तिको पहिलो सोच हुन्छ- यो व्यक्ति कमजोर छ। यस्ता मानिसहरुले के बुझ्नुपर्छ भने जो मानिस यो अवस्थाबाट गुज्रिसकेका छन् र जो यसबाट बाहिर आएका छन्, उनीहरु असाध्यै बलिया व्यक्ति हुन्।’

शमिताले आफूले आफ्नो करिअरका लागि काम गर्न नपाएर आफू डिप्रेसनमा परेको बताएकी छन्। भन्छिन्, ‘मेरो फिल्मी यात्रामा लामो ग्याप भइरहेको थियो। यो दुर्भाग्यपूर्ण थियो, मैले त्यो चाहेकी थिइनँ। तर, मैले राम्रो काम पाइरहेकी थिइनँ।’

शमिताको बलिउड करिअरमा फिल्मको संख्या भने धेरै ठूलो छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .