ad ad

कला


वर्ष खायो पेलाको ‘लत’ र स्वप्नको ‘तिमी जे छौ’ले

वर्ष खायो पेलाको ‘लत’ र स्वप्नको ‘तिमी जे छौ’ले

राधिका अधिकारी
चैत ३०, २०७९ बिहिबार १२:४८, काठमाडौँ

यो वर्ष नेपाली सांगीतिक बजार निकै चलायमान देखियो। गएका केही वर्षदेखि सुस्ताएको सांगीतिक बजारमा यो वर्ष पनि एल्बमको खडेरी लाग्यो।

केही स्रष्टाले आफ्नो दस्तावेजका लागि केही कलेक्सन एल्बम निकाले पनि फुटकर गीतले बजार पिटे। कोरोना महामारीका कारण मथ्थर भएको स्टेज कार्यक्रम यो वर्ष लयमा फर्कियो। 

चलायमान देखिएको सांगीतिक बजार र लयमा फर्किएको स्टेज कार्यक्रमका कारण यो वर्ष नयाँ तथा पुराना गायक–गायिका वर्षभरीनै देश तथा विदेशको यात्रामा सामेल भए। केही वर्षदेखि आर्थिक संकटमा परेका गायक–गायिकाले यो वर्ष भने राहतको महशुस गर्न पाए। 

यो वर्ष बजारमा आएका अधिकांश गीत युट्युब मार्फत सार्वजनिक भए। केहीले औपचारिक कार्यक्रमको आयोजना गरेर गीतको बारेमा बताएपनि सबै गीत युट्युब मार्फत नै दर्शक–स्रोता समक्ष पुगे। लाखौं लगानी गरेर निर्माण गरेका म्यूजिक भिडिओले पनि यो वर्ष मार्केट लिन सकेनन्। ठूलो संख्यामा बजारमा आएका गीत मध्ये थोरैले मात्रै लोकप्रियता कमाए। 

यस वर्ष दर्शक–स्रोताले फरक फरक गीतको टेस्ट लिए। गायक सज्जनराज वैद्य, शिव परियार, हिमाल सागर, उर्गेन दोङदेखि पशुपति शर्मा, शान्तीश्री परियार लगायतका गायक गायिका वर्षको विभिन्न समयमा चर्चामा आए। तर गायक तथा संगीतकार तीलक सिंह पेला र स्वप्न सुमनको चर्चा र उनीहरुको गीत/गजलको लोकप्रियता भने लोभलाग्दो देखियो। 

वर्षको सुरुवाततिर सार्वजनिक भएको ‘घुमी घुमी’बोलको गीतको चर्चा केही दिनमै हरायो। फरक स्वादको यो गीतले वर्षका केही महिना मार्केट लियो। शान्तीश्री परियार र सुजन चापागाईंलाई यो गीतले केही समय चर्चामा राख्यो। 

वसन्त विश्वकर्माको ‘रेलीमै’, प्रशान्त पौडेलको ‘सान्नानी जाम पोखरा’, बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाको ‘परान बाँकी छ’ लगायतका गीत एक समय हिट भए। यी गीतहरुले लामो समय सांगीतिक बजारमा प्रभाव जमाउन भने सकेनन्। 

सामाजिक सञ्जाल टिकटकमा यो वर्ष सबैभन्दा धेरै उर्गेन र बेनिशा पौडेलको युगल स्वर रहेको ‘हाम्रो यो माया’ गीत सबैभन्दा धेरै चर्चामा रह्यो। गायिका एलिना चौहानलाई केही समय ‘धोकेबाज हौ तिमी’ बोलको गीतले चर्चामा राख्यो। केही समय देश तथा विदेशका मेला महोत्सवमा उनको माग ह्वात्तै बढायो।

यो वर्ष चर्चा र भाइरलको बजार भन्दा पर बसेर संगीत साधना गर्ने तिलक सिंह पेलाले बजार पाए। उनले गाएको तथा संगीत गरेको गजल ‘के लत बस्यो मलाई’को लोकप्रियता सांगीतिक बजारमा लोभलाग्दो देखियो। दुई महिना अघि मात्रै बजारमा आएको यो गजलको लोकप्रियताले वर्षभरी चर्चामा रहेका अन्य गीत छायांमा परे। सामाजिक सञ्जालका हरेक प्लेटफर्मममा गजलले चर्चा पायो।

लाखौं लगानी गरेर निर्माण गरेका म्यूजिक भिडिओलाई पनि सामान्य खर्चमा लिप्सिङ गरिएको पेलाको गजलले पछि पार्यो। यो गजलको लोकप्रियतापछि पेलाका पुरा गीतहरुले पनि चर्चा पायो।

वर्षको अन्त्यतिर गजल गाएर चर्चामा आएका पेलाले सबैजसो मिडियामा राम्रो स्पेश पाए। लामो समयदेखि संगीत साधना गर्दै आएका पेलालाई यही वर्षले स्रोतासम्म पुर्यायो। 

पुराना पुस्ताका पेलाको जस्तै लाभलाग्दो लोकप्रियता नयाँ पुस्ताका स्वप्न सुमनको देखियो। वर्षको अन्त्यमा रिलिज भएको स्वप्नको ‘जे छौ तिमी’बोलको गीत अहिले सर्वाधिक चर्चामा छ।

स्वप्न सुमनको गीतमा लाखौं टिकटक भिडिओ बनेका छन्। भिडिओले राम्रो भ्यूज कमाएको छ। दुई साता भन्दा लामो समय यो गीत युट्युबको ट्रेन्डिङ नम्बर वानमा रह्यो।

स्वप्नले यो गीत श्रीमती ज्योत्स्ना योगीले गाजल लगाउँदै गर्दा लेखेका थिए। श्रीमतीलाई उनले तिमी जस्तो छ्यौ ठिक छ्यौ भन्ने भावमा लेखेको यो गीत अन्य गीतभन्दा फरक शैलीको छ। स्वप्नको यही गीत मार्फत अहिले युवा पुस्ता आफ्नो प्रेम अभिव्यक्त गरिरहेका छन्।

‘नढाक न मुहार श्रृंगारले, चन्द्रमामा पनि दाग हुन्छ’ भन्ने पंक्ति अहिले टिकटकमा हिट छ। १५ मिनेटमा स्वप्नले कोरेको शब्दको लोकप्रियता देखेर स्वप्न आफैं दंग छन् ।

वर्षभरी विभिन्न जनराका गीत बजारमा आए। चर्चामा रहे। तर तीलकको ‘के लत बस्यो मलाई’ र स्वप्नको ‘तिमी जे छौँ’ले पाएको लोकप्रियताले अन्य गीतको चर्चालाई छायामा पार्यो।

गायनकै कारण यो वर्ष प्रकाश सपुत, प्रकाश दुतराज, हरिवंश आचार्य लगायतका गायक–गायिकाको चर्चा औसतमा रह्यो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .