ad ad

कला


‘प्रसाद २’को रिलिज सर्दा निर्देशक थापा खुसी, भन्छन्– नत्र भयंकर पीडा हुन्थ्यो

‘प्रसाद २’को रिलिज सर्दा निर्देशक थापा खुसी, भन्छन्– नत्र भयंकर पीडा हुन्थ्यो

राधिका अधिकारी
बैशाख ११, २०८० सोमबार ११:०, काठमाडौँ

लभस्टोरी जनराको फिल्म निर्देशन गरेर दर्शकमाझ चिनिएका निर्देशक हुन्- सुदर्शन थापा। उनले निर्देशन गरेका ‘मधुमास’, ‘प्रेमगीत’, ‘रामकहानी’ र ‘म यस्तो गीत गाउँछु’का सिक्वेल नेपाली फिल्म उद्योगका सफल फिल्म मानिन्छन्। 

सुदर्शन हिट फिल्म ‘प्रसाद’को सिरिजमा निर्देशकका रुपमा जोडिए। तर यो फिल्मसँगको सहकार्य सुदर्शनका लागि खास सुन्दर रहेन। फिल्म छायांकनदेखि सुरु भएको लफडा फिल्म चल्ने बेलासम्म जारी छ। पहिलोपटक छायांकन स्थल पुगेर फर्किएको सुदर्शनको टिमले लिएको रिलिज मितिमा फिल्म रिलिज हुन सकेन।

अब यो फिल्म यही वैशाख १५ गते रिलिज गर्नेगरी मिति तोकिएको छ। तर यो मितिमा पनि फिल्म रिलिज हुनेमा निर्देशक थापा मात्रै होइन, फिल्मका लेखक सुशील पौडेल पनि ढुक्क छैनन्। 

फिल्मका विषयमा पटकपटक भएका झमेलाले निर्देशक थापा केही समय ‘डिस्टर्ब’ नै भए। दोस्रोपटक लिइएको रिलिज डेट नजिकिँदै गर्दा थापा भन्छन्, ‘सबै विवाद सकिएर फिल्म रिलिज हुने टुंगो लाग्दा निकै उत्साहित छु।’

सुदर्शन ‘प्रसाद २’ आफ्ना लागि नयाँ सिकाइ भएको बताउँछन्।

भन्छन्, ‘जति नै फिल्मको अनुभव गरे पनि रिलिज हुनेचाहिँ पहिलोजस्तै नै लाग्छ। त्यसमाथि ‘प्रसाद २’को विषयवस्तु नयाँ छ। नयाँ हुँदा कौतुहल र उत्साह मात्रै हुँदैन रहेछ, के होला, दर्शकले कस्तो प्रतिक्रिया दिने हुन्, समीक्षा कस्तो आउला भन्ने डर पनि हुने रहेछ।’

सुदर्शन लभस्टोरी जनरामा चलेका निर्देशक, उद्योगमा उनको चर्चा पनि त्यसैगरी हुने गर्छ। यो चर्चा र सफलताका बीचमा कहिलेकाहीँ सुदर्शन आफैँलाई प्रश्न गर्छन्, ‘मैले लभस्टोरीभन्दा फरक फिल्म बनाउन नहुने हो कि?’ यो प्रश्न गर्दैगर्दा सुदर्शनलाई सोसल ड्रामाको अफर नआएकाले आफ्नो जनरा एउटै भनेर छुट्टियो भन्ने भयो।

त्यही समय फिल्म ‘प्रसाद’कै लागि निर्देशनको अफर आएको थियो। तर पहिलो फिल्ममा सुदर्शन विविध कारण जोडिन पाएनन्। फेरि दोस्रो सिक्वेलबाट अफर आयो, उनी जोडिए। फिल्म रिलिजको संघारमा छ। सुदर्शन फिल्मको प्रचारमा व्यस्त छन्। 

‘प्रसाद २’ निर्देशन गर्दैगर्दा यहाँका हरेक पात्र र परिवेशले आफूलाई छोएको सुदर्शन बताउँछन्।

भन्छन्, ‘निर्देशकले कुनै विषयवस्तुमा फिल्म बनाउनुपर्छ। सोसल ड्रामाको फिल्म बनाउँदा वरपरका घटनाक्रम र कथावस्तुलाई देखाउन हरकोहीलाई मन हुन्छ। यति हो- त्यो समाजको विषयवस्तुले निर्देशकलाई छुन्छ कि छुँदैन? मलाई यो फिल्मको कथावस्तुले छुन्छ। मैले हुर्कंदै गर्दा देखेको/भोगेको कथा हो यो। यो कथाले अरुलाई पनि छुन्छ।’

आइतबार बिहान भएको भेटमा सुदर्शन फिल्मप्रतिको पटकपटकको अवरोध सम्झँदै भन्दै थिए, ‘फिल्ममा कथा जसरी वहेको छ, त्यसैगरी बिनाअवरोध फिल्म रिलिज गर्न पाएको भए, भन्ने लाग्छ। नत्र दुःख, कष्ट, आरोह, अवरोह भन्ने कुरा जीवनमा कति धेरै छ। हामीले सिनेमामा जीवनको एउटा पाटोलाई देखाउन खोजेका हौँ। जीवनकै एक प्रक्रिया फिल्ममा पनि देखियो।’

हिजोआज सुदर्शनलाई लाग्न थालेको छ- ‘सिनेमाले तय गरेको यो उतारचढावपूर्ण यात्राले फिल्ममा अझै इन्ट्रेस्टिङ बनाएको छ।’

त्यसो त सुदर्शन पहिलोपटक पाएको रिलिज डेट सरेकोमा खुसी छन्। भन्छन्, ‘मलाई त खुसी लागेको छ। रिलिजको १ दिन अघिसम्म पनि प्रचारमा बस्न पाइएको थिएन। मैले कस्तो फिल्म बनाएको हुँ भनेर भन्नै पाएको थिइनँ। आफ्ना कुरा भन्नै नपाई फिल्म रिलिज गर्नुपर्दा पीडा झन् भयंकर हुन्थ्यो।’ 

कलाकारको लफडाले फिल्म छायांकनमा अवरोध आउनु र निर्माताको विवादका कारण फिल्म रिलिजको अघिल्लो दिन रोकिनुलाई फिल्मको कथासँग जोडेर नहेर्न सुदर्शन आग्रह गर्छन्।

पछिल्लो समय निर्माता/निर्देशकले नयाँ नामसँग भरोसा नभएर पुरानैको नाम बेच्ने गरेका छन्। नयाँ ब्रान्ड र नाममा भर नलागेपछि निर्माता/निर्देशकले पुरानै नाममा नयाँ कथा बेच्ने गरेक छन्।

‘प्रसाद २’ भने ‘प्रसाद’कै बाटो भएर हिँड्ने थापा बताउँछन्।

भन्छन्, ‘यो फिल्ममा राख्नकै लागि २ राखिएको होइन। यो पूर्णतया ‘प्रसाद’को सिक्वेल हो। किनकि प्रसादको कथा जहाँबाट अन्त्य भएको थियो, त्यहीँबाट ‘प्रसाद २’को कथा सुरु हुन्छ। व्यापारको हिसाबले भन्दा पनि घटना र पात्रको निरन्तरताका लागि यो सिक्वेल बनाइएको हो।’ 

तर ‘प्रसाद’को सिक्वेल भन्दै गर्दा कलाकारको सेट नै परिवर्तन गरेर फिल्म निर्माण गरिएको छ।

कलाकारको सेट नै परिवर्तन गरेर निर्माण गरिएको फिल्ममा पुरानो स्वाद कत्तिको पाइएला भन्ने प्रश्नमा थापा भन्छन्, ‘स्वाभाविकै हो- कलाकार परिवर्तन हुँदा पहिले यो थियो भन्ने एकछिन हुनसक्छ। तर, पछि त्यही उपस्थित पात्रले नै दर्शकको मन जित्दै जानेछ। किनकि ‘प्रसाद’का पात्र परिवर्तन गरिएको होइन, केवल कलाकार चेन्ज भएका हुन्।’

फिल्मका पात्रले जीवन जिउन गाउँमा गएर गर्ने पारिवारिक, सामाजिक र राजनीतिक संघर्षको कथा भएकाले दर्शकले फिल्म मन पराउनेमा निर्देशक थापा ढुक्क सुनिए।

फिल्म ‘प्रसाद २’ वैशाख १५ रिलिज हुँदै छ। फिल्ममा केकी अधिकारी, विपिन कार्की, अर्पण थापालगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .