वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान प्रदान गरिने भएको छ। जिनियस म्युजिक अवार्डको चौथो संस्करणमा राजुलाई सम्मान गर्न लागिएको हो।
अवार्ड आयोजक संस्थाले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै संगीतकार सिंहलाई सम्मान गर्ने घोषणा गरेको हो।
२५ भदौमा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा हुने अवार्ड वितरण कार्यक्रममा राजुलाई उक्त सम्मान प्रदान गरिने छ।
राजुसँगै उक्त समारोहमा पत्रकार कृष्ण भुसाल, राम थापा ‘अविरल’, विष्णु सुवेदी र सुमन सापकोटालाई पत्रकारिता सम्मान प्रदान गरिने जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै आएको संस्थाले जनाएको छ।
कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो।
सोही अनुरूप संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ।
४३ विधामा गीतसंगीतका स्रष्टालाई अवार्ड प्रदान गरिने यस अवार्डको उत्कृष्ट पाँच विधाका स्रष्टा केही समयअघि सार्वजनिक गरिएको थियो। अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोक तथा दोहोरी, गजल, आधुनिक विधाका स्रष्टा र सिर्जना समावेश गरिएको छ।
Shares

प्रतिक्रिया