कला


दिमाग सुग्घर पार्ने ‘दिमाग खराब’


श्रीजु सरल
कात्तिक २५ , काठमाडौँ

लुट र टलकजंग भर्सेज टुल्केजस्ता हिट सिनेमाका निर्देशक निश्चल बस्नेतको नयाँ नेपाली सिनेमा शुक्रबारबाट हलमा लागिसकेको छ। सन् २०१७ को 'लुट-२' यता निर्देशक बस्नेत ६ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन्। यस अर्थमा उनी दर्शकहरूले अति पर्खिएका निर्देशक समेत हुन्।

जे होस्, सन् २०१२ मा 'लुट' हेरेर फ्यान भएका आफ्ना 'टिनएजर' दर्शकहरू आज वयस्क भइसके र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र देशका लागि सोच्नसक्ने भइसके भन्ने निर्देशक बस्नेतले राम्रै बुझेको देखिन्छ।

नेपाली सिनेमा उद्योगमा निश्चल त्यस्ता थोरै निर्देशकमध्येका एक हुन् जसको फिल्म कलाकारको भन्दा निर्देशकको नामले नै बिक्छ। त्यसैले पनि निश्चलको सिनेमा भनेपछि दर्शकको अपेक्षाको पारो पनि निकै माथि हुन्छ।

६ वर्षसम्मको निर्देशकको मेहनत र दर्शकको प्रतीक्षाको आखिरमा जम्काभेट भएरै छाडेको छ। के निश्चलले दर्शकको अपेक्षालाई न्याय गर्न सकेका छन् त? अनि दर्शकले निश्चलको मेहनत अनुभूति गर्न सक्लान् त? आउनुस्, यसकै वरिपरि रहेर हामी कुरा गरौँ।

टलकजंग भर्सेज टुल्केबाटै आम दर्शकको मनमा बस्न सफल अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको फिल्ममा अर्का स्टार दयाहाङ राई पनि देखिन्छन्। धेरैलाई खुलदुली होला उनको भूमिकालाई लिएर। कतै उनी साइड रोल त गरिरहेका छैनन्? हो, उनी साइड रोल नै गरिरहेका छन्। दयाका फ्यानलाई यो कुराले चसक्क नहोला भन्न सकिन्न। तर, फिल्म हेरिसकेपछि भने साइड रोलमा पनि कति दम हुनेरहेछ भन्ने कुरामा दर्शकहरू छर्लङ्ग हुनेछन्। 

त्यसो त स्क्रिनमा निश्चल आफै समेत देखिएका छन्। र निश्चलको हरेक इन्ट्रीमा दर्शकहरू ताली बजाउँछन्। के निश्चलको अनुहारकै लागि मात्रै बजेको होला त त्यो ताली? पक्कै होइन। कथाले मागेको बेलामा उनको उपस्थिति भइदिँदा चाहिँ दर्शकलाई सन्तुष्टि मिलेको हो।

उता अर्पण थापाले खेलेको पात्र हरिप्रसादको चरित्र पनि कम बलियो छैन। सुरुदेखि नै पात्रको चरित्रले एउटा लय समाएको छ र त्यसलाई अन्तिमसम्मै कायम राख्न सकेको छ। विजय बरालले पनि यसपटक यस्तो पात्र पाएका छन् जसले उनको नाम भर्साटायल एक्टरको सूचीमा गाढासँग लेखाइदिने पक्का छ। स्पष्ट र पृथक विशेषता बोकेको उनको पात्र बलेलाई दर्शकले राम्रैसँग याद राख्नेछन्।

स्वस्तिमा खड्काको पात्र सचीको चरित्र पनि यथार्थपरक र यादगार छ।

यसरी हेर्दा, पटकथाकार आकाश बरालको विकेन्द्रीकृत लेखनले स्टोरीटेलिङलाई रोचक बन्न मद्दत गरेको देखिन्छ। जसले फिल्मको केन्द्रमा यही पात्र छ भन्ने ठोकुवा गर्दैन र दर्शकहरू हरेक पात्रसँग उत्तिकै आकर्षित भइदिन्छन्।

खैर, हामी निश्चल बस्नेततर्फै फर्कौँ। उनको निर्देशकीय भूमिकालाई पनि थोरै केलाएर हेरौँ। थिएटरबाट कला क्षेत्रमा प्रवेश गरेका निश्चलको निर्देशनमा पाइने विशेषता नै उनको कलात्मकता हो।

फिल्मको इन्साइटिङ इन्सिडेन्ट नै यसरी बुनिएको छ कि त्यसले एउटा बिम्ब जन्माइदिएको छ, जसलाई निर्देशकले फिल्मभरि पटकपटक र फरकफरक तरिकाले प्रयोग गरेका छन्।

कतिपय दृश्य र संवादहरू कथामा यस्ता छन् जुन नहुँदा पनि कथा उही रहन्थ्यो तर ती हुनुले कथा अझै विश्वसनीय र रोचक लागिदिएको छ। जसले दर्शकलाई यो हाम्रै वा हाम्रै वरिपरिको कथा हो भन्ने विश्वास दिलाउँछ। उदाहरणका लागि, दयाको पात्र भोलाले गनेको त्यो एक भोट।

फिल्ममा एनिमेसनको छोटो प्रयोग मीठो लाग्छ।

अभिनयको कुरा गर्नुपर्दा कोहीभन्दा कोही कम देखिँदैनन्। जसरी पात्रहरूमध्ये को विशेष हुन् छुट्याउन दर्शकलाई गाह्रो पर्छ, त्यसैगरी अभिनयमा को ज्यादा अब्बल देखिए भन्ने निष्कर्षमा पुग्न पनि उत्तिकै हम्मे पर्नेछ। खैर, अभिनयका हिसाबले स्वस्तिमाका प्रशंसक अझै बढ्ने, विजय बरालले नयाँ बन्ने फिल्महरूमा नयाँनयाँ चरित्र पाउनसक्ने सम्भावना भने स्पष्ट देखिन्छ।

एकपछि अर्को चित्तबुझ्दा ट्विस्ट भेटिँदा फिल्मले दर्शकको तिहारको माहोलमा रौनक थपिदिनेछ। सिनेम्याटोग्राफी, ब्याकग्राउन्ड म्युजिकदेखि कथासँगै बग्ने गीतहरूले दर्शकलाई फिल्मकै दुनियाँभित्र बाँधेर राख्नेछ।

त्यसोभए के, फिल्ममा कमजोरी कतै पनि भेटिँदैनन् त?

हो, फिल्ममा खोट लगाउने ठाउँ हत्तपत्त भेटिने छैनन्। भेट्टिइहाले पनि त्यसलाई नदेखेझैं गरिदिन तपाईंलाई मन लाग्न सक्छ।

उदाहरणका लागि कथामा घरीघरी पर्यटकजसरी आउँदैजाँदै गर्ने निश्चलको पात्र निर्मलको भने पृष्ठभूमि अझै खुल्नुपर्थ्यो कि जस्तो तपाईंलाई लाग्न सक्छ। निर्मलको चरित्र, संयोगमा विश्वास राख्नेका लागि यथार्थवादी र अन्यलाई भने 'गडफादर' जस्तो लाग्नसक्छ। यद्यपि, उनको हरेक उपस्थितिमा हुटिङको कमी भने हुनेछैन।     

अब एकैछिन फिल्मको उदेश्यबारे कुरा गरौँ। के भन्छ त फिल्मले? फिल्मले सुनाउने कथा केसँग सम्बन्धित छ?

समय सान्दर्भिक राजनीतिक विषयवस्तुमाथि बनेको यो फिल्ममा एकातिर जनताको मुखमा धुलो उडाएर नगरसफाइ अभियानमा हिँड्ने ... हिँड्ने? माफ गर्नुस्, हिँडी टोपल्ने नेता छन् भने  अर्कोतिर तिनै नेताको तिनै टोपल्याइँका कारण चुहुने छानोमुनि चुँडिएको चप्पल जोड्न बाजेको पालादेखि निहुरिँदै आएका जनता छन्। यिनै नेता र आम सर्वसाधारण जनताबीचको लडाइँको कथा हो- दिमाग खराब।

फिल्मले राजनीतिक व्यवस्थामाथि मात्र नभएर बिकाउ मिडियाबाजीमाथिसमेत झापड हान्न भ्याएकै छ।

थर्ड पर्सन न्यारेटिभ्समा कथा भन्ने यो राजनीतिक फिल्मले धेरै ठाउँमा बिम्बको भाषा बोलेको छ। चप्पल, झाडु, आगो आदि यसका केही उदाहरण हुन्।

अब फिल्मको नामको कुरा गरौँ। दिमाग खराब! के, फिल्म हेरिसकेपछि दिमाग खराब हुन्छ त? कि दिमाग खराब हुनेहरूका लागि हो यो फिल्म? वास्तवमै, यो फिल्म दिमाग खराब हुनेहरूकै लागि हो। जबसम्म तपाईंको दिमाग खराब हुँदैन, तबसम्म तपाईं एउटा कम्फर्ट जोनलाई छोडेर निस्किन चाहनुहुन्न। कमसेकम, आजको परिस्थितिमा तपाईंको मनस्थिति खलबलिनु अति आवश्यक छ। तपाईंको दिमाग खराब हुनु तपाईं, यो समाज र यो देशकै लागि पनि आवश्यक छ। फिल्मको यो थिम तपाईंलाई कस्तो लाग्यो?

पछिल्लो समय राजनीतिक विषयवस्तुमा नै आधारित रहेर नेपाली फिल्महरू धमाधम बनिरहेका छन्। ऐंचोपैंचो, छक्कापञ्जा -४, नाङ्गो गाउँ लगायतका राजनीतिक पृष्ठभूमिका फिल्महरूको माझमा निश्चलको 'दिमाग खराब' माझिएको लाग्छ।

नाङ्गो गाउँमा चुनौती दिइकन चुनावमा उठेको एउटा सर्वसाधारण मास्टरले हरूवा साबित हुनुपरेको थियो। तर, दिमाग खराबमा त त्यस्तै एउटा सर्वसाधारणले हार्ने मौका पनि पाउँदैनन्। यति हुँदाहुँदै पनि तपाईंलाई फिल्मले निराश पार्ने छैन। त्यो कसरी? ओहो! भएन त दिमाग खराब?

साँच्चै, अबको चुनावमा भोट केमा हाल्ने विचार छ?

कात्तिक २५, २०८० शनिबार २०:९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .