नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले अमेरिकाका विभिन्न सहर हँसाउने भएका छन्। फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ टाइटलमा हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्नेछ।
हँसाउने यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, सन्तोष थापा सहभागी हुनेछन्।
कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी दिए। उनका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ।
अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउनेसँगै सिपसहित नेपाल फर्कन आह्वान गर्ने उद्देश्य रहेको पनि आयोजकले जनाएको छ।
कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका विनोद अधिकारीले अगाडि भने,‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो। कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ।’
कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहेको बताए।
‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ। तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो। कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौँ,’ उनले भने।
एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको छ।
Shares
प्रतिक्रिया