कला


नयाँ वर्षको अघिल्लो साँझ बिर्तामोडमा गुञ्जिँदै नेपथ्य

नयाँ वर्षको अघिल्लो साँझ बिर्तामोडमा गुञ्जिँदै नेपथ्य

नेपालखबर
चैत २५, २०८० आइतबार १३:१०, काठमाडौँ

बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयको अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ।

झापा जिल्लाका महत्वपूर्ण केन्द्रहरूलाई जोड्ने यस उदीयमान सहरमा आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्याण्डका लोकरक भाका गुञ्जनेछन्।

धेरैअघि यस भेगको पुरानो वाणिज्य केन्द्र थियो बिर्ताबजार। कालान्तरमा महेन्द्र राजमार्ग बनेपछि सडकभएतिरै चहलपहल बढ्न थाल्यो।

राजमार्गको जुन बिन्दुबाट बिर्ताबजार मोडिन्थ्यो त्यसलाई ‘बिर्तामोड’ भन्न थालियो। समयसँगै अब ‘बजार’ ले स्वयंलाई ‘मोड’ भित्रै बिलीन तुल्याइसकेको छ।

बढ्दो ब्यस्तता र सहरीकरणसँगै यातायात आवागमनको पनि तीब्र वृद्धिभएको बिर्तामोडमा यसअघि नेपथ्यले ‘ट्राफिक व्यवस्थापन’मा योगदान दिन कन्सर्ट गरेको थियो।

यस भेगमा सवारी दुर्घटनाको मात्रा अत्यधिक वृद्धिभएको बेला सुरक्षित आवागमनको नाराका साथ पाँच वर्षअघि नेपथ्य प्रस्तुत भएको थियो।

त्यसभन्दा पहिले भने द्वन्द्वकालमा शान्तिको आव्हान गर्दै ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत नेपथ्यले यसै भूमिमा गीतहरु सुनाएको थियो।

अहिलेको यो नवीन नगरपालिका त्यतिबेला भने ‘अनारमनी गाविस’ भनेर चिनिन्थ्यो। यसरी बिर्तामोडको विकासक्रमसँग जोडिँदै आएको नेपथ्यले अब भने यस सहरकै प्रमुख खेलकूद आयोजना ‘झापा गोल्डकप’लाई योगदान दिने उद्देश्यका साथ आफुलाई प्रस्तुत गर्नलागेको छ।

‘यो सिंगो भेगका दर्शक हाम्रा लागि बहुमूल्य निधिका रुपमा रहँदै आएका छन्,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्याण्ड फेरि जुर्मुराएको बिन्दु छेवैको दमक बन्न पुगेको थियो भने केहि दिनअघि मात्र पनि हामी अर्को छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौं।’

नेपथ्य मनपराउने दर्शक घेरामा उभिनका लागि आफु सदैव उत्साहित रहने गरेकामा अबको केहि दिनमै बिर्तामोडका संगीतप्रेमीहरु माझ पुग्न ब्यग्र भइरहेको पनि गुरुङले थपे।

स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ। नेपथ्य यसभन्दा अघिल्लो कन्सर्टका बेला पनि यसै मैदानमा उभिएको थियो।

‘नेपथ्यको प्रस्तुतीलाई स्वदेशका साना सहरबजारदेखि लिएर ठूला सहरसम्म एकरुपता प्रदान गर्न हामी सदैव प्रयासरत रहँदै आएका छौं,’ व्यवस्थापक नेपालयका अर्पण शर्मा भन्छन्, ‘कलाकारबाहेक प्रविधि र प्राविधिकसमेत ठूलो टिमका साथ उपस्थित हुँदा यो एकरुपतालाई बिर्तामोडका दर्शकले पनि महशुस गर्न सक्नेछन्।’

बिर्तामोड कन्सर्टको आयोजना स्थानीय श्रृद्धि इभेन्टले गर्न लागेको हो। आयोजक सुमन धिमालका अनुसार सदाझैँ त्यहाँको कन्सर्ट पनि निर्धारित समय अर्थात् शुक्रबार बेलुकी ठीक साढे ६ बजे सुरुहुनेछ। आयोजनास्थलका ढोका त्यसभन्दा दुई घन्टा अगावै अर्थात् ठीक साढे ४ बजे खोलिनेछन्।

टिकटका लागि बिर्तामोड लगायत पूर्वका सहरहरुमा काउन्टरका व्यवस्था गरिएका छन्। इन्टरनेटबाटै बुकिङ सुरक्षित गर्न अनलाइन टिकटको पनि व्यवस्था गरिएको छ। 

कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad