‘हुनेलाई दसैँ, नहुनेलाई दशा।’ यो उखान अहिले पनि उत्तिकै सार्थक लाग्छ। हुन पनि अचाक्ली महँगी र बेरोजगारीको दलदलमा रहेको निम्नवर्गका मान्छेका लागि दसैँसँगै तनाव सुरू हुन्छ।
भैरेलाई पनि दसैँ आउँदा पीर थपिएको छ। एक कार्यालमा पियनको जागिर गर्ने उनको कमाइ थोरै छ। त्यही कमाइले श्रीमतीलाई सारी किन्नु छ। अनि छोरालाई इस्टकोट। र, एउटा खसी पनि। परिवारको खुसीको लागि भैरेले उठाउनुपरेको कदम र त्यसले ल्याएको समस्यामा केन्द्रित छ टेलिशृंखला: दसैँ।
यसले भैरेको भोगाइ र परिस्थितिको दुखान्त कथा भन्छ। जुन कथामा दर्शकहरूले आफूलाई भेटे। दसैँ आउँदा भोग्नुपरेको सास्ती महसुस गरे। त्यसैले त दसैँ ताका प्रसारण हुने चर्चित टेलिसिरियल अहिले पनि सान्दर्भिक र लोकप्रिय छ।
पहिलेको तुलनामा पात्र र परिस्थिति फेरिए होलान्! तर, अझै पनि असमानताको खाडल कायमै छ। व्यवस्था फेरिए पनि जनताको दु:ख जस्ताका त्यस्तै। त्यसैले पनि होला युट्युबमा दर्शकहरूको हरेक वर्ष एउटै प्रतिक्रिया हुन्छ: यो सिरियल हेरेपछि बल्ल दसैँ आए जस्तो लाग्छ।
यस सिरियलमा हरिवंश आचार्य भैरेको भूमिकामा छन्। मदनकृष्ण श्रेष्ठ भने पञ्चायती हाकिम बनेका छन्। आफूहरूले यो २०४६ सालअघि बनाएको बताउँछन् कलाकार हरिवंश आचार्य।
‘ठ्याक्कै वर्ष त थाहा भएन। तर, २०४६ अगावै बनाएका थियौँ। त्यतिखेर भर्खरै नेपाल टेलिभिजन सुरुवातको समय थियो। त्यसअघि टेलिभिजनका लागि दुइटा नाटक बनाइसकेका थियौँ। दसैँका लागि पनि केही नयाँ बनाइदिनु पर्यो भनेर प्रस्ताव राखेपछि हामीले यो टेलिफिल्म बनाएका थियौं,’ उनले भने।
यस सिरियलमा हरिवंश र मदनकृष्णले समाजकै कथालाई टपक्क टिपेका छन्। कथावस्तुबारे बनाउँदाको अनुभव सुनाउँदै भन्छन्, ‘हुनेलाई दसैँ, नहुनेलाई दशा अहिले पनि यो उखान बोल्ने गरिन्छ। अवचलन गरेर कमाउनेहरूलाई दसैँ हुन्छ। उनीहरू धेरै खर्च गर्छन्, रमाइलो गर्छन्। तर, जोसँग सामर्थ्य छैन, उसलाई चाहिँ दसैँ नआइदिए हुन्थ्यो जस्तो लाग्छ। त्यो चिज हामीले पनि पहिल्यैदेखि भोग्दै आएका थियौँ।’
दसैँ बनाउँदाको कुरा सुनाउँदा हरिवंश बाल्यकालतिर पुग्छन्। सानो हुँदा हरिवंशसँग दुई जोर लुगा हुन्थ्यो। त्यसैले दसैँ आउँदा नयाँ लुगा पाउने आशा गरेर बस्थे उनी।
‘त्यो बेलामा मेरो जम्मा दुई जोर लुगा थियो। एकजोर धोए अर्को लगाउँथेँ। १५/१६ वर्ष हुँदासम्म पनि यसरी लगाइयो। कतिपटक त लुगा धोएको नसुक्दा बाहिर पनि जान पाएको छैन। दसैँमा नयाँ लुगा पाइन्छ भनेर केटाकेटीको लागि रमाइलोको विषय हुन्थ्यो,’ उनी भन्छन्।
लुगा किनेपछि दसैँको दिन लगाउने भनेर घरकाले बाकसमा राखिदिन्थे। तर, हरिवंश घरमा कोही नहुँदा बाकस खोलेर लुगा हेर्थे। त्यो नयाँ लुगाको बास्ना सुँघ्थे कहिले लगाउन पाइएला भनेर हतारिन्थे। कतिपटक त उनले लुकीलुकी कोठामा दसैँअगावै नयाँ लुगा लगाएका थिए। आफ्नो बाल्यकालको भोगाइसहित दसैँको अर्थशास्त्रको सेरोफेरोमा यो सिरियल बनाएको उनको भनाइ छ।
पञ्चायती हाकिम र पियनको कथामा ३/४ दिनमा स्क्रिप्ट तयार भयो। यसको छायांकन भने इमाडोलमा गरिएको थियो। कलाकार किरण केसीको घरमा धेरैजसो सुटिङ गरिएको उनले सुनाए। सिरियल बनाउनको लागि आफूहरूले जम्मा २० हजार रूपैयाँ पाएको हरिवंशको भनाइ छ।
उनले भने, ‘त्यो बेला बजेट नै हुँदैनथ्यो नि। एउटा संस्थाले यो फिल्म बनाउन २० हजार दिएको थियो। कलाकारदेखि सुटिङको खर्च कटाएर हामीलाई जम्मा ११ सय रूपैयाँ बचेको थियो। त्यो रूपैयाँ हामीले आधाआधा बाँडेका थियौँ।’
सिरियलले कहिले हसाउँछ त कहिले भावुक बनाउँछ। सिरियलको अन्त्यले त झन धुरुक्कै रुवाउँछ। छोराको खुसीको लागि भैरेले खसी चोरेर ल्याउँछन्। तर, त्यो कुरा थाहा पाएपछि उठिबास लाग्छ। घर छोडेर जाँदा छोराले सोध्छन् : आमा दसैँ भनेकी यही हो! बालमनोविज्ञान समेत चित्रण गर्ने यस दृश्यले मन छुन्छ।
साढे तीन दशक पुरानो सिरियल दर्शकहरूको स्मृतिमा भइराख्दा दंग छन् महजोडी। डार्क कमेडी जनरामा निर्माण गरिएको र चाखलाग्दो भएकै कारण दर्शकहरूको मनमा बाँचिरहेको उनको भनाइ छ।
‘दसैँ वर्षैपिच्छे आउँछ। संसार त त्यही छ नि! नयाँ लुगा लगाउने, टीकाजमरा लगाउने र दक्षिणा लिने पनि त्यही छ। पहिलेभन्दा अहिले यातयात सजिलो भएको छ। त्यो बेलाको मानिसले जीवनमा जे भोगे त्यो सिरियलमा भेटे। त्यो बेलाका मान्छेले अहिले पनि हेर्नुहुन्छ। अहिलेका नयाँ पुस्ताले बाउआमाले हेरेको देखेर खोज्छन्। त्यसभित्रको हाँसोलाग्दो कुराले तानिरहने भएकाले रमाइलो लाग्छ। युट्युबमा राख्दा अहिले पनि लोकप्रियता लम्बिँदै गएको छ,’ हरिवंश सुनाउँछन्।
त्यतिबेला नेपालमा हेर्नको लागि नेपाल टेलिभिजन र दुरदर्शनबाहेक विकल्प थिएनन्। जसकारण दर्शकहरू नछुटाइ सिरियल हेर्ने गर्थे। उनका अनुसार सिरियल हेर्नकै लागि अफिस र पसलबाट छिटो घर आउनेहरू पनि थिए। बाटोमा भेट्दा पनि ‘चपा भैरे चपा’ भनेर जिस्क्याउने गरेको स्मरण गर्छन् हरिवंश।
बोकाको रङ नपखालिएपछि...
यस मर्मस्पर्शी सिरियल जति उत्कृष्ट छ, उति नै रोचक छन् पर्दापछाडिका किस्साहरू पनि। सीमित बजेटका कारण सुटिङका लागि १०० रूपैयाँ तिरेर बोको भाडामा ल्याइएको थियो। मन्दिरबाट बोकालाई ल्याएर रङ लगाउनुपर्ने र फेरि पानीले पखाल्नुपर्ने दृश्य थियो। तर, पानीले चिसो लागेपछि बोकालाई गाह्रो भएछ।
‘१०० रूपैयाँ भाडामा खैरो बोका ल्याएका थियौँ। त्यो बोकालाई रंग लगाएर फेरि पानी फ्याँकेर त्यसको ओरिजिनल कलर देखाउने सिन थियो। रंग लगाउँदा खेरि नै बोकालाई गाह्रो भइसकेको थियो। त्यसपछि हामीले तीन/चारचोटि पानीले पखाल्यौँ। त्यसपछि त बोकाले स्वाँस्वाँ गर्दैँ सिँगान चुहाउन थाल्यो,’ आचार्यले भने, ‘पछि बोका दलेको कालो नै गएनछ। साहुबाट बेस्सरी गाली खाइयो। अहिले सम्झिँदा गिल्टी फिल हुन्छ। जनावरलाई त्यस्तो गर्न नहुने हो।’
कसैगरी पार नलागेपछि भैरे कुमारी मन्दिर जान्छन्। जहाँ उनले घण्टी झुण्डाएको बोका देख्छन्। के गरुँ भनेर उनले कुमारीसँग उपाय माग्छन्। वास्तवमा भगवतीको भूमिका हरिवंशले नै निर्वाह गरेका थिए। तर, त्यसमा हरिवंशकी स्व.श्रीमती मीरा आचार्यले स्वर दिएकी थिइन्। जुन स्वर सुन्दा हरिवंश भावुक सुनिन्छन्।
‘सिरियलमा म आफैँ भगवती बनेको थिए। तर, त्यो भ्वाइस मेरी श्रीमती मीराको हो। उसको स्वर मेरो मुखभित्र पस्यो। उनी भौतिक रूपमा छैनन्। भगवानलाई पनि उनको स्वर मन परेछ। मान्छे नै लगेर गयो। स्वर सुन्दा अहिले भावुक पनि बनाउँछ,’ आचार्यले दु:खी हुँदै भने।
बीपी, गणेशमान फर्किएपछि
यस सिरियलले त्यो बेलाको राजनीतिक अवस्थालाई समेत पर्दामा उतारेको छ। प्रजातन्त्रदेखि पञ्चायती व्यवस्थाको कुरा यसभित्र अटाएका छन्।
बीपी कोइराला, गणेशमान सिंह निर्वासित जीवनबाट फर्किएपछि पञ्चायती व्यवस्था धरमराउँदो अवस्थामा थियो। उनीहरूले संविधान संशोधनदेखि व्यवस्था परिवर्तनका कुरा उठाइरहन्थे। प्रजातन्त्रको पुन:स्थापना हुनुभन्दा दुई वर्ष अघिदेखि नै बहुदलीय व्यवस्थाको हल्लाखल्ला व्यापक थियो।
‘त्यो बेलामा जनमानसमा संविधान भनेको के हो? व्यवस्था परिवर्तन के हो? भन्ने कुराहरू सुनिन्थे। सरकारी मिडिया नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्रहरूले बहुदल पक्षधरहरूलाई भेडाको छाला ओडेर हिँडने ब्वाँसाजस्ता समेत भन्थे। सरकारी मिडियाले त्यस्ता शब्दहरू धेरै प्रयोग गर्थे। त्यही कुरा सिरियलमा पनि बच्चाको मुखबाट बोल्न लगाएको छ,’ उनले भने।
बहुदलीय व्यवस्था हुँदै मुलुक गणतन्त्रसम्म आइपुगेको छ। अहिले धेरै भ्रष्टाचार भएको भन्ने सुनिन्छ। तर, हरिवंश भने पञ्चायतमा पनि निकै भ्रष्टाचार हुने गरेको सुनाउँछन्।
उनले भने, ‘अहिले देशमा भ्रष्टाचार भयो भन्ने सुनिन्छ। पञ्चायतमा बजेटको आकार ठूलो हुँदैनथ्यो। तर, त्यहाँ पनि भ्रष्टाचार हुन्थ्यो। केही संस्थाहरू भ्रष्टाचारका अखडा थिए। त्यो असन्तुष्टि जनतामा थियो। त्यही असन्तुष्टिलाई सिरियलमा पनि व्यक्त गरिएको थियो।’
बाल्यकालकै दसैँ रमाइलो
क्यालेन्डरसँगै वर्ष फेरिए। हरिवंशलाई भने बाल्यकालको दसैँ प्यारो लाग्छ। त्यो बालापन जहाँ दसैँ आएसँगै बिछट्टै रमाइलो हुन्थ्यो। मासु खान पाइन्थ्यो। र, दक्षिणाकै लागि टीका लगाइन्थ्यो।
‘त्यो बेला बोइलर कुखुरा भर्खर आएको थियो। मासु मुस्किलले महिनामा एकचोटि खान पाइन्थ्यो। दसैँ आएपछि मासु खान पाइन्छ भन्ने लोभ हुन्थ्यो। बाटो हिँड्दा पनि मासु पकाएको बास्ना आउँथ्यो। अहिले धुवाँधुलोको मात्र आउँछ। दसैँमा चारपाँच दिन नै टीका लगाउन गइन्थ्यो। त्यही दक्षिणाले फेरि लुगा किनेर लगाइन्थ्यो। आफ्नो दायित्व नहुँदा सधैँ राम्रो,’ उनी सम्झिन्छन्।
अहिलेका बच्चाहरूमा पहिलेजस्तो उत्साह नभएको सुनाउँछन् उनी। प्रविधिको विकाससँगै परम्परा र संस्कृतिमा परिवर्तन हुँदै गएको धारणा छ उनको।
‘अहिलेको दसैँमा बच्चाहरूमा उत्साह छैन। किनभने उनीहरूलाई लुगा लाउनलाई घरभरि लुगानै लुगा हुन्छन्। खानलाई छाकैपिच्छे मासु पाउँछन्। बिस्तारै नेपालीहरूले संस्कृति पनि बिर्सिंदै गइरहेका छन्। फेस्टिबल भनेको रमाइलो गर्ने माध्यम पनि हो,’ उनले थपे, ‘अहिले फेस्टिबलमा रमाउँदैनन्। पहिले देउसी खेल्न जान्थ्यौँ। अहिलेका लाज मान्छन्। पहिले समुदाय पनि पूरै चिनेको हुन्थ्यो। अहिले बसाइँसराइले गर्दा जनसंख्या वृद्धि भएर एक घरकाले अर्को घरकालाई चिन्दैनन्। उहिले खोपी, लंगुरबुर्जा र लुकामारी खेल्न अरुको घरमा गइन्थ्यो। अहिले खेल्ने भनेको कोठामा मोबाइलमा हो।’
पुरानो पिँढीका मानिस बितेर गए। नयाँ पुस्ता धमाधम विदेसिँदै छ। जसकारण हरिवंशलाई आजभोलिको दसैँ खासै रमाइलो लाग्दैन।
भन्छन्, ‘यो वर्ष घरपरिवारसँग रमाइलो गर्ने हो। काभ्रे जान्छु। टीका लगाउने घर पनि घटिसके। अग्रज बितेर जानुभयो। लाउन आउने पनि धेरै जना विदेशमा छन्। पहिलेपहिले पो चारपाँच दिनसम्मै लाउन गइन्थ्यो। धेरैजना दसैँमा तास खेल्न पाइन्छ भनेर रमाउँछन्। तर, मलाई चाहिँ आउँदैन। बरु सिनेमा हेर्न जान्छु।’
Shares

प्रतिक्रिया