कला


अन्तर्राष्ट्रिय सार्वजनिक प्रदर्शनमा ‘गाउँ आएको बाटो’

अन्तर्राष्ट्रिय सार्वजनिक प्रदर्शनमा ‘गाउँ आएको बाटो’

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार १४:३६, काठमाडौँ

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को अन्तर्राष्ट्रिय सार्वजनिक प्रदर्शन हुने भएको छ। 

टोरोन्टो, बुसान लगायत विश्व प्रतिष्ठित फिल्म फेस्टिभलहरुमा प्रदर्शन भईसकेको चलचित्र हङकङ, थाइल्यान्ड, इन्डोनेसिया, यूके,  इटालीलगायका देशमा सर्वजनिक प्रदर्शनमा आउँन लागेको हो।

 ‘गाउँ आएको बाटो’लाई हङकङको गोल्डेन सिन सिनेमाले शनिबार र आइतबार (नोवेम्बर २–३) मा  सार्वजनिक प्रिमियर गर्दैछ। गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेर सार्वजनिक रुपमा प्रदर्शन गरेको हो। 
 
यसअघि यो चलचित्र हङकङको नेपाली दर्शकलाई लक्षित गरी प्रदर्शन गरिएको थियो। गोल्डेन सिन सिनेमाको हलमा १२ शोमा बाँडेर देखाईएको चलचित्रलाई झन्डै ८ सय दर्शकले हेरेका थिए। 

प्रदर्शनमा सहभागी हुन नेपालबाट निर्देशक नवीन सुब्बासहित अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बू हङकङ पुगेका थिए। 

चलचित्रलाई अंग्रेजी र चिनियाँ सबटाइटलमा हङकङका पाँच वटा हलमा प्रदर्शन गरिनेछ। गोल्डेन सिनले आफ्नो वेवसाइडमा ‘गाउँ आएको बाटो’को चिनियाँ  पोस्टर सार्वजनिक गर्दै २५ अक्टोबरदेखि बक्स अफिस खुला गरेको थियो। 

चलचित्र निर्माता अमोद राईका अनुसार  टोरोन्टो, बुसान जस्ता विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शनपछि ‘गाउँ आएको बाटो’ अन्तर्राष्ट्रिय दर्शकमाझ आउन लागेको हो। हङकङमा रहेका नेपाली समुदायलाई चलचित्र हेर्न अग्रह गर्दै उनले  भने, ‘गाउँ आएको बाटो अन्तर्राष्ट्रिय दर्शकमाझ आउँदा हामी उत्साहित छौँ। यो सपना हामीले लामो समयदेखि देखेका थियौाँ। यो सफलता त्यो यात्रामा हामीले गरेको दुःखको प्रतिफल हो जस्तो लाग्छ।  हङकङमा केही समयअघि चलचित्रलाई नेपाली समुदायबीच प्रदर्शन गरिएको थियो, अब भने सार्वजनिक रुपमा प्रदर्शन हुँदै छ। यो चलचित्र हेर्न छुट्नु भएको छ भने एक एकपटक हेर्न आग्रह गर्छु।’

हङकङबाट प्रकाशन हुने ‘साउथ चाइना मर्निङ पोस्ट’ले ‘गाउँ आएको बाटो’लाई  हङकङमा यो साताको गरिने उत्कृष्ट कामको पाँचौ सुचीमा रोखेको छ। यस्तै  अन्य  स्थानीय सञ्चारमाध्यमहरुले पनि ‘गाउँ आएको बाटो’को चर्चा गरेका छन्।

हङकङमा रहेका देवराज राई कार्यकारी निर्माता  रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, प्रेम सुब्बालगायतको अभिनय  छ।  चलचित्रको सहनिर्माताका रुपमा हङकङबाट अरुण राई, मातृदिप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत रहेका छन्। 

नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्रमा संलग्न भएर काम गरेका छन्। चलचित्रमा  सम्पादन ताइवानका क्वान पुन लुङ र संगीतको काम हङकङकी संगीतकार हाइडी लीले गरेकी हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad