कला


जसले गीत गाएरै बुवाआमालाई विदेशबाट फर्काए

जसले गीत गाएरै बुवाआमालाई विदेशबाट फर्काए

प्रकाश दुतराज


सन्तोष गौतम/रासस
कात्तिक २२, २०८१ बिहिबार २०:५१, म्याग्दी

२०५८ साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरे। गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश रहेका भक्तबहादुर दुतराजका पाँच छोराछोरीमध्ये दोस्रो सन्तान प्रकाश अर्मनबाट बेनी आउँदा आठ वर्षका थिए। 

‘परिवार ठूलो भएकाले बुवाको विदेशको कमाइ र आमाले ज्याला मजदुरी गर्दा समेत परिवार चल्न समस्या भएपछि मैले नौ देखि १२ कक्षा पढ्दासम्म बेनीको एक कार्यालयमा मासिक रु तीन हजार पाँच सय ज्यालामा साँझ-बिहान सरसफाइको काम गरेको थिएँ,’ उनले भने, ‘१२ कक्षा पढ्दै गर्दा भाइ, बहिनीलाई मेरो जिम्मा लगाएर आमा पनि विदेश गएपछि ममाथि अझै जिम्मेवारी थपियो।’

सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाइ र शुभेच्छुकबाट सहयोग जुटाएर ‘सिमसिम पर्‍यो पानी’ बोलको गीत रेकर्ड गराए। बाध्यताले पढाइलाई भन्दा कमाइलाई प्राथमिकता दिनुपर्ने अवस्था आएपछि भाइबहिनीलाई गाउँ पठाएर वैदेशिक रोजगारको तयारीसँगै सांगितिक क्षेत्रमा अवसर खोज्न २०७१ मा काठमाडौँ छिरेका प्रकाशले दोहोरी साँझमा काम पाए। 

‘विदेशको चक्करमा काठमाडौँ छिरेको म ज्यान पाल्नका लागि चार वर्ष छ महिना दोहोरी साँझमा काम गरेँ। दोहोरी साँझ मेरा लागि गर्जो टार्ने थलो मात्र नभएर गीत, संगीत सिक्ने पाठशाला पनि भयो,’ उनले भने, ‘दोहोरीको तलब र स्रोता दर्शकको ‘टिप्स’बाट बचेको पैसाले आठवटा गीत बनाए पनि आर्थिक हिसाबले फाइदा भएन।’

विदेशको प्रयासमा २०७४–७५ को डेढ वर्ष सांगितिक क्षेत्रबाट टाढिएका प्रकाशले आफन्त, शुभचिन्तक र साथीभाइको आग्रहमा सामाजिक विषयवस्तुसँग जोडिएर ‘आरने’, ‘बैनी झ्यालैमा’, चोली मैलो भो, बोलको गीत बनाए। आरनेले कृषि औजार निर्माण र मर्मतको काम गर्नेहरू, बैनी झ्यालैले प्रेम कथा र चोली मैलो भो स्कुले जीवनको झल्को दिने कथामा आधारित थिए। 

सांगीतिक क्षेत्रबाट आर्थिक हिसाबले प्रगति गर्न नसकिने निष्कर्ष निकालेर विदेश जान बेनीको बैङ्कमा घरजग्गा धितो राखेर ऋण निकालेका प्रकाश २०७६ साल फागुनमा काठमाडौँ पुगेर आधा पैसा ‘एजेन्ट’लाई दिए। आधा पैसाले गाउँघरमा बूढापाकाबाट सुनेको यातायातको सुविधा नहुँदा नुन लिन भोट र बटौली गएको कथामा आधारित ‘घर कता हो बैनीको, लौन साह्रै मन पर्‍यो’ गीत रेकर्ड र म्युजिक भिडिओ बनाउने प्रकाशको योजना थियो।

‘अन्तिम भनेर ‘घर कता हो बैनीको’ गीत रेकर्ड र म्युजिक भिडिओ बनाएर युट्युबमा राखेर घर आएका बेला कोरोना महामारी फैलिएपछि ‘लकडाउन’ भयो,’ प्रकाशले भने, ‘गाउँमा आएको एक हप्तापछि इन्टरनेट भएको ठाउँमा गएर हेर्दा ‘युट्युब’मा राम्रो भ्युज र धेरैले ‘टिकटक’ बनाएको देखेपछि सुखीको सिमा रहेन। विदेश जाने योजना सफल नहुँदा निराश बनेको थिएँ। गीत चल्न थालेपछि कला क्षेत्रमै संघर्ष गर्ने निधो गरेँ।’ 

‘युट्युब’मा हालसम्म रु चार करोड बीस लाख ५६ हजारभन्दा बढी पटक हेरिएको यो लोक दोहोरी गीतमा अभिनयसमेत गरेका प्रकाशलाई स्वरमा शान्तिश्री परियारले साथ दिएकी छन्। प्रकाशका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’को म्युजिक भिडिओ ‘युट्युब’मा एक करोडपटक भन्दा धेरै हेरिएका छन्।

गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएर गाउँमा घर बनाई राखेका प्रकाशले भाइबहिनीलाई पढाइमा सघाएका छन्। प्रकाशको परिचयसँगै सामाजिक र  आर्थिक हैसियत फेरिएको छ। ‘युट्युब’ र स्वदेश तथा विदेशमा हुने ‘स्टेज’ कार्यक्रम उनको आम्दानीका स्रोत हुन्।

प्रकाशका गीतमा प्रयोग भएका शब्द र संगीत मात्र होइन, नृत्य पनि मौलिक र मनछुने किसिमका छन्। उनी गीतका शब्द रचना, गायन, संगीत, निर्देशन र अभिनय आफैँ गर्छन्। उनका म्युजिक भिडिओले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन्। मीठा शब्द र संगीतले भरिएको गीतको भिडिओमा मार्मिक र अर्थपूर्ण दृश्य र कथा समेटिएका छन्। 

नेपालीपन भएका सिर्जना स्रोता-दर्शकले मन पराउने प्रकाशको अनुभव छ। ‘अहिलेका दर्शक हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,’ उनले भने, ‘हरेक गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु।’

प्रकाश आफू हुर्केको गाउँ-समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन्। सोही कारण उनका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ। अभाव, दुःख, विभेद, गाउँ-समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गरेको प्रकाशको भनाइ छ। 

मनोरञ्जनको साथमा सन्देश 

तयार पारेको गीतका विषयमा आफ्नो टिममा छलफल र उनीहरूका सल्लाह-सुझावअनुसार संगीत र म्युजिक भिडिओ बनाउँदा सफलता मिलेको उनले बताए। ‘करिम’ बोलको गितको म्युजिक भिडिओको कथा र केही दृश्यका विषयमा भएको विवादलाई उनले कमजोरीबाट पाठ सिक्ने अवसरका रूपमा लिएका छन्। गीत सुन्दा र म्युजिक भिडिओ हेर्दा स्रोता-दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुपर्ने हिसाबले काम गर्नुपर्ने प्रकाशको भनाइ छ।

युवा विदेशिँदा रित्तिएका गाउँघरको परिवेशमा आधारित भएर २०७८ सालको दसैँको छेको पारेर दुतराजले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको ‘जाम भो माइली’को म्युजिक भिडिओ हालसम्म २ करोड १८ लाख १७ हजारपटक हेरिएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जीवन शैली झल्काउने दृश्य समावेश गरिएको प्रेम कहानीमा आधारित ‘रिमै’ले युट्युबमा सार्वजनिक भएको प्रकाशको गीतले सबैभन्दा धेरै ‘भ्युज’ पाएको छ।  हालसम्म चार करोड ७७ लाख २९ हजार पटक हेरिएको रिमैको स्वरमा दुतराजलाई मेलिना राई र अभिनयमा केपिना गोतामेले साथ दिएका छन्। 

डेढ महिनाअघि प्रकाशले सार्वजनिक गरेको ‘रेशम’ गीतको म्युजिक भिडिओमा बर्खामा लेकका बुकीमा तीन/चार महिना परिवारदेखि टाढा रहेर भेडा गोठमा बस्ने गोठालाको कथालाई प्रस्तुत गरेका छन्। रेशम गीतको भिडिओ युट्युबमा राखेको दुई महिनाको अवधिमा एक करोड ३४ लाख ७२ हजारभन्दा बढी पटक हेरिएको छ। सिर्जनाले पाएको तारिफ, स्रोता दर्शकको हौसलाले प्रकाशले लाहुरे बन्ने योजनाबाट विश्राम लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad