कला


‘पूर्णबहादुरको सारंगी’की बाटुलीजस्तै विद्रोही अञ्जना (भिडिओ)

विवादमा परिने डर लागेको त्यो डाइलग, जसमा धेरै टेक खाइन्
‘पूर्णबहादुरको सारंगी’की बाटुलीजस्तै विद्रोही अञ्जना (भिडिओ)

म जे काम गर्न आएकी थिएँ, त्यसलाई न्याय गरिरहेको छु : अञ्जना बराइली। तस्बिर/भिडिओ : सरोज नेपाल


लक्ष्मी बलायर
मंसिर १, २०८१ शनिबार १७:९, काठमाडौँ

अभिनय क्षेत्रमा कसैले छोटो समयमै सफलता पाउँछन्। कसैलाई वर्षौँ संघर्ष गर्नुपर्छ। अञ्जना बराइली ती भाग्यमानी अभिनेत्री हुन्, जसले दुई वर्षमा तीनवटा हिट फिल्मको स्वाद चाखिसकेकी छिन्।

व्यवस्थापनमा स्नातकोत्तर गरेकी २५ वर्षीया यी अभिनेत्रीको नाम अहिलेसम्म सर्वाधिक कमाउने चलचित्रको कीर्तिमानसँगै अंकित हुन पुगेको छ।

‘महापुरुष’ र ‘पुजार सार्की’ मा देखिइसकेकी उनको ताजा फिल्म हो, ‘पूर्णबहादुरको सांरगी’। 

हलमा प्रदर्शनरत फिल्म ‘पूर्णबहादुरको सारंगी’ अहिले चर्चाको शिखरमा छ, यसले सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड बनाइसकेको छ। यस फिल्ममा अञ्जना विजय बराल (पूर्णबहादुर) को जोडी अर्थात् बाटुलीको भूमिकामा छिन्।

बाटुली पात्र पूर्णबहादुरको दिमागमा विद्रोही चेतको आगो झोसेर बेपत्ता हुन्छिन्। यहीँनिरबाट दर्शकलाई खुल्दुलीको नयाँ क्षितिजमा लैजान्छ। केही संवाद र रोदीमा चलेको जुहारीका कारण पनि सामाजिक सञ्जालहरूमा अञ्जना छाएकी छिन्।

यसरी लाइमलाइटमा हुँदा निकै दंग छिन् अञ्जना। उनका अनुभवमा, आफूले गरेको कामले एकपछि अर्को सफलता पाउँदा बेग्लै खुसी र आनन्द लाग्ने नै भयो।

भिडिओ

‘कहिलेकाहीँ गलत बाटो पो रोजेँ कि भन्ने सोच्थेँ। तर, यसरी सफल हुँदा म सही बाटोमा रहेछु भन्ने महसुस हुँदोरहेछ,’ नेपालखबरसँग खुसीमिश्रित अनुभव सुनाइन्।

हुन त रिलिजअगावै पनि अञ्जना यस फिल्मबाट आशावादी थिइन्। गन्धर्व समुदायको कथामा बनेको यो फिल्म चल्छ भन्ने लागेको थियो। तर, यस किसिमको सफलता भने उनको कल्पनाबाहिर थियो।

‘एक किसिमले हिटै हुन्छ भन्ने थियो,’ उनी भन्छिन्, ‘तर, यसरी इतिहास नै रच्ने तरिकाले ब्लकबस्टर हुन्छ भन्ने सोचेको थिइनँ। अहिले दर्शकहरूमाझ जति पूर्णबहादुरको सांरगीको माग छ। यस्तो होला भन्ने लागेको थिएन।’

पूर्णबहादुरको सारंगीमा छोराको भविष्य बनाउन बुवाले गरेको संघर्ष र त्यागलाई देखाइएको छ। हरेक बुवा छोराछोरीको भविष्य बनाउन सक्दो गरिरहेकै हुन्छन्। सबैको जीवनमा कतै न कतै मेल खाने भएकै कारण यो चलचित्र बढी चलेको अञ्जनालाई लागेको छ।

पर्दामा मुख्य भूमिकामा विजय बराल र आफू देखिए पनि फिल्मको सफलतालाई भने उनले पूरै टिमको सफलताका रुपमा लिएकी छिन्। भन्छिन्, ‘हामी पर्दामा देखिने मात्रै त भयौँ नै। पर्दापछाडि पनि कति जना हुनुहुन्छ। उहाँहरुसामु हाम्रो खटाइ केही पनि होइन। उहाँहरुले जति खट्नुभयो, त्यसको फलचाहिँ हामीले पर्दामा देखायौँ। यो क्रेडिट टिमलाई जान्छ।’

बाटुली बन्दाको अनुभव
गत चैत ताकाको कुरा हो। अञ्जना ‘पुजार सार्की’ को सुटिङ सकेर घर फर्किएकी थिइन्। सोहीबेला लेखक महेश दवाडीले यस फिल्मबारे बताए। अञ्जनाको दवाडीसँग राम्रो सम्बन्ध थियो। उनले नै अञ्जनालाई टिमसँग भेट गराइदिए।

जब फिल्मको आइडिया सुनिन्, तब उनलाई यो फिल्ममा काम गर्नुपर्छ भन्ने लाग्यो। कथा नौलो लागेपछि सोही दिन नै फिल्ममा साइन गरेको उनी बताउँछिन्।

अञ्जनालाई बाटुली क्यारेक्टरमा देखिनु भने चुनौतीपूर्ण रह्यो। फिल्मभित्र बाटुली पात्रका चारवटा चरण छन्। एउटा भर्खर प्रेम बस्दाको। अर्को, बेहुली हुँदाको। तेस्रो, गर्भवतीको र चौथो, बच्चा ठूलो भइसकेपछिको।

यी सबै चरणमा समयअनुसार परिवर्तन हुँदै जानुपर्ने थियो। अनि फरक फरक भावभंगी ल्याउनुपर्ने भयो। यही कारण बाटुलीको चरित्रमा ढाल्न निकै गाह्रो भएको उनले भोगाइ छ।

‘बोली र लवजमा खासै मेहनत गर्नुपरेन,’ उनी सुनाउँछिन्, ‘तर, बाटुलीको संघर्ष र लुक्समा निकै काम गर्नुपर्‍यो। समयअनुसार बाटुली क्यारेक्टर परिवर्तन हुँदै जान्छ। फरकफरक मुडमा काम गर्न गाह्रो भएको थियो।’

अञ्जना अविवाहित हुन्। तर, फिल्ममा उनले गर्भवतीको भूमिका निर्वाह गर्नुपरेको थियो। पेटमा कपडा राखेर हिँड्न निकै असहज भएको उनी बताउँछिन्। बच्चा पाउने दृश्यमा झन् गाह्रो भएको उनको अनुभव छ।

‘कपडालाई, फरियालाई बेर्दा केही गर्न नमिल्ने। नक्कली पेट लगाउँदा यस्तो गाह्रो भइरहेको छ। जो आमा बन्नुभएको छ, उहाँहरुलाई कति गाह्रो भयो होला भन्ने लागेको थियो,’ सुटिङ अनुभव सुनाउँदै भनिन्, ‘बच्चा जन्माउने पार्टमा झन गाह्रो भयो। आफूलाई आमा बनेको अनुभव छैन। मुभीहरूमा देखेकी त थिएँ तर आफूले गर्दा कसरी गर्ने होला भएको थियो। त्यो सिनमा न्याय दिन सकिनँ कि लागेको थियो। मुभी हेर्दाचाँहि ठिकठाक नै गरेछु भन्ने लागिरहेको छ।’

फिल्मभित्र अञ्जनाले ‘तिमीहरू गाइनेको दुई कौडीको हैसियत नहुँदोरहेछ’ भन्ने संवाद बोल्नुपर्ने थियो। यो डाइलग बोल्दा निकै टेक खानुपरेको बताउँछिन् उनी।

‘यो डाइलग बोल्दा निकै डर लागेको थियो। कन्ट्रोभर्सीमा परिन्छ भन्ने भएको थियो। मलाई बदनाम हुनुभन्दा गुमनाम नै मन पर्छ। यो डाइलगमा धेरै टेक खानुपरेको थियो।’

धेरैजसो फिल्ममा विजय रमाइलो क्यारेक्टरमा देखिन्छन्। तर, रियलमा उनले विजयलाई निकै भलादमी पाइन्। भन्छिन्, ‘विजय दाई एकदमै बुझ्ने हुनुहुन्छ। हामीलाई के कुराले गाह्रो भइरहेको छ, उहाँले बुझ्न खोज्नुहुन्थ्यो। मज्जाले सिकाउनुहुन्थ्यो। अहिलेसम्म गरेका काममा विजय दाइ एकदमै सहज लाग्यो। विजय दाइजस्तो कोएक्टरसँग सबै अभिनेत्रीहरूले काम गर्न पाउनुपर्छजस्तो लाग्छ।’

बाटुली क्यारेक्टरमा आफैँलाई पाएँ
दलित समुदायको भएर सानो छँदा अञ्जनाले पनि केही विभेद भोग्नुपरेको थियो। फिल्मको बाटुली पात्रभित्र पनि आफूलाई भेटाएको उनको अनुभव छ।

‘फिल्मभित्र बाटुलीको जुन विद्रोही क्यारेक्टर छ, म पनि त्यस्तै छु। त्यस पात्रमा आफूलाई पाएर नै अझै बाटुली पात्रलाई न्याय दिन सकेकी हुँ जस्तो लाग्छ,’ अञ्जना भन्छिन्, ‘खासमा म पनि त्यस्तै छु। केही कुरा चित्त बुझेन भने बोल्नैपर्छ। बोल्नैपर्ने कुरा दबाएर बस्दा पनि आफैसँग रिस उठ्छ। बाटुली पात्र कताकता अन्जना पनि हो।’

यस फिल्ममा बाटुली विद्रोहको झिल्को हुन्। तर, बुवाको संघर्ष देखाउन खोज्दा फिल्मले आमालाई न्याय गर्न नसकेको प्रतिक्रिया आइरहेका छन्। ती प्रतिक्रियामा अञ्जनाको फरक मत छ।

‘योचाँहि अडियन्सले कुन हिसाबले बुझ्नुभएको छ भन्ने हो,’ अञ्जना बुझाउँछिन्, ‘तर, हामीले चलचित्रमा बुझ्ने तरिकाले देखाएका छौँ। आमाले विद्रोह गरेपछि जुन ठाउँमा आमालाई देखाइँदैन, त्यो ठाउँ पछाडि बाटुलीले कान्छाको लागि पूर्णेलाई छोडेर गएको हो नि। पछि पूर्णेले खासमा बाटुलीले जे गरेकी थिई, ठीक गरेकी थिई भन्ने कुरा रियलाइजेसन गरेर नै उसले छोरालाई आमाको कथा सुनाएको हो।’

बाटुलीले बालेको विद्रोहको राँको पूर्णबहादुरले बोकेर हिँडेकामा सन्तोष छ उनलाई।

उनी भन्छिन्, ‘बाटुलीलाई गलत सोचेको भए पोइल गई भन्न सक्थ्यो। जुन तरिकाले कथा सुनाउँछ, कता कता पूर्णले रियलाइजेसन गरेको थाहा हुन्छ। बाटुलीले कान्छाको लागि देखेको सपना म पूरा गर्छु भनेर पूर्णे लागेको हो।’

उनका अनुसार पहिले बाटुली पात्रको भूमिका फरक थियो। जसले दर्शकहरूबाट अझै आलोचना पाउन सक्थ्यो। पछि त्यस चरित्रलाई केही परिवर्तन गरियो।

अञ्जनालाई बाटुली पात्रले गरेको विद्रोहकै कारण यो फिल्म सशक्त भएको लाग्छ। किनभने नियतिवादी पूर्णबहादुरमा बाटुलीकै कारण परिवर्तन आएको छ र विद्रोहचेत जागेको छ।

‘खासमा फिल्ममा विद्रोही पात्रचाँहि बाटुली हो,’ उनी ठोकुवा गर्छिन्, ‘बुझ्ने अडियन्सले त्यसरी बुझ्नुहुन्छ। तर, नबुझ्नेले फोटो/भिडिओ हालेर हर्केसँग किन पोइल गएको भन्नुहुन्छ? बाटुलीले विद्रोह नगरेको भए कान्छा डाक्टर कुनै हालतमा बन्दैनथ्यो होला।’

यस फिल्मको सफलतासँगै उनलाई नयाँ फिल्मका प्रस्तावहरू आइरहेका छन्। तर, अञ्जना भने सचेत छिन्।

‘यो फिल्म चलिरहँदा पनि ममाथि जिम्मेवारीको बोझ थपिएजस्तो लागेको छ। थिचिरहेको जस्तो फिल भइरहेको छ। कति प्रोजेक्टहरूको अफर आइरहेको छ। स्क्रिप्ट पढ्छु। ला, गर्ने र भन्ने हुन्छ,’ उनले भनिन्।

फिल्मको स्क्रिनमा अञ्जनाको सानो भूमिका छ। तर, फिल्ममा कलाकारको छोटो भूमिकाले फरक नपार्ने उनको बुझाइ छ।

‘लामो समयसम्म कुनै कलाकार स्क्रिनमा देखिँदा नोटिस हुन्छ भन्ने हो,’ उनी भन्छिन्, ‘तर, लामो सिन भएको पात्र र छोटोले त्यस्तो फरक पार्दैन। किनभने, मैले अहिलेसम्म जति फिल्म गरेको छु, कुनैमा पनि लामो भूमिका छैन। मलाईचाँहि पात्र बलियो हुनुपर्छजस्तो लाग्छ। त्यो पात्रले बोल्न खोजेको के हो, त्यो कुरा महत्त्वपूर्ण हुन्छ।’

बाल्यकालदेखि अभिनयको हुटहुटी
धादिङमा जन्मेकी अञ्जनाको अभिनयप्रतिको रुचि बच्चैदेखिको हो। गीत सुन्नेबित्तिकै नाच्न र गाउँन सुरु गर्थिन्। डान्स राम्रो गरेपछि हिरोइन बन्न पाइन्छ भन्ने लाग्थ्यो उनलाई।

‘बच्चैदेखि गीत सुन्नेबित्तिकै ममीको सल ओडेर नाँच्ने गर्थेँ,’ बाल्यकालीन सम्झना खोतल्दै उनले भनिन्, ‘जब फिमेल आर्टिस्टहरूलाई टेलिभिजनमा देख्थेँ। अनि नाँचेपछि यसरी टिभीमा देखिन पाइन्छ भन्ने थियो। स्कुलका कार्यक्रममा डान्स पनि गर्थेँ।’

परिवारका लागि अभिनय क्षेत्र नौलो थियो। त्यसैले सुरुवातमा कसरी प्रवेश गर्ने भन्ने अन्योल भएको थियो। ७ वर्षअघि एउटा ब्युटी पेजेन्टमा भाग लिइन् र मोडलिङ पनि सुरु गरिन्। त्यसपछि उनले अभिनयको उडान भरिन्।

‘सुरुमा ब्युटी पेजेन्टमा गएकी थिएँ। त्यसको एक वर्षपछि म्युजिक भिडिओ खेल्न थालेँ। तीन–चारवटा म्युजिक भिडिओ खेलेपछि घुमीघुमी गीतमा देखिने मौका पाएँ,’ उनले भनिन्।

हुन पनि घुमीघुमी उनको करिअर ग्राफमा एउटा टर्निङ प्वाइन्ट नै बन्यो, जहाँ विपिन कार्कीसँग देखिएकी छिन्। त्यसपछि उनी सबैको नजरमा पर्न थालिन्।

त्यहीबेला फिल्म ‘महापुरुष’ बन्ने तरखरमा थियो। फिल्मको अभिनेता अरुण क्षेत्रीको जोडीको खोजी भइरहेको रहेछ। र, फिल्मका निर्माता रवीन्द्र सिंह बानियाँ घुमीघुमी हेरेपछि नै अञ्जनालाई अफर गरेका रहेछन्।

‘पहिले त विश्वास लागेको थिएन,’ पहिलो फिल्मको प्रस्ताव पाउँदाको उनको अनुभव छ, ‘पछि घुमीघुमीका गीतकार हर्क दाइले भनेपछि पत्याएँ। रवीन्द्रजीले तपाईँको गीत हेरेका थियौँ, हर्कजीसँग नम्बर मागेको भन्नुभयो।’

त्यो डेब्यु अनुभव
अडिसन दिएपछि अञ्जना ‘महापुरुष’ फिल्ममा अनुबन्धित भइन्। यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गौरी मल्लजस्ता हस्ती थिए। तर, अञ्जनासँग भने अभिनय सिकेको पनि अनुभव थिएन। पहिलो फिल्म खेल्दा निकै गाह्रो महसुस भएको उनी सुनाउँछिन्।

‘सुटिङ नजिकिँदै जाँदा एन्जाइटी बढ्न थाल्यो,’ उनी भन्छिन्, ‘सेटमा जाँदा बोली नै अड्किएजस्तो हुने। एक दिन त डरले हनहन्ती ज्वरो नै आयो।’

यतिसम्म कि यो बाटो आफ्ना लागि होइन कि भन्ने पनि उनलाई लाग्यो। यो गलत बाटोमा किन आएको होला भन्नेसम्मको पनि सोच आयो।

ती दिन सम्झिन्छिन् उनी, ‘सुटिङ सकेपछि मैले आफ्नो करिअर गलत बाटोतिर लगेँछु भन्ने भयो। म त नसक्ने रहेछु, रहरै रहरमा आएको रहेछु भन्ने फिल भयो।’

‘महापुरुष’ बक्सअफिसमा सुपरहिट भयो। तर, अञ्जनालाई भने त्यसपछि अरू फिल्म खेल्न आँट आइरहेको थिएन।

‘पहिलो फिल्म हिट हुँदा प्रेसर फिल हुँदोरहेछ,’ उनको अनुभव छ, ‘डेब्यु फिल्म खेलेपछि अफरहरु आउन्थ्यो। तर, स्क्रिप्ट छान्न निकै गाह्रो हुने। पहिलोभन्दा राम्रो नहुँदा दर्शकबाट गाली पाइएला भनेर सोचिँदोरहेछ। जसले १४ महिना अर्को फिल्म खेल्ने आँट गर्न सकिनँ।’

रोचक के भने पहिलो फिल्म हिट भइसकेपछि उनी कौसी थिएटरमा डेढ महिनाको अभिनय क्लास लिन थालिन्। त्यहीबेला उनलाई पुजार सार्कीको अफर आयो। अभिनय सिकेपछि भने सहज हुँदै गयो।

यो क्षेत्र मेरो लागि बनेको रहेछ
अञ्जनाले २ वर्षमा पाएको सफलता लोभलाग्दो छ। उनले तीनवटा हिट फिल्म दिनुका साथै चर्चित कलाकारसँग स्क्रिन सेयर गरिसकेकी छिन्।

बल्ल उनलाई यो कुरा सामान्य लाग्न थालेको छ। अनि यो क्षेत्र आफ्ना लागि बनेको रहेछ भन्ने अनुभूत गर्न पुगेकी छिन्।

‘धेरैले हिटमा ह्याट्रिक गर्‍यौ, लक्की अभिनेत्री भन्नुहुन्छ तर मलाई त्यस्तो खत्रा फिल नै भएको छैन,’ उनको भनाइ छ, ‘यो मेरो कर्म हो, म यता काम गर्न आएको हो भन्ने लागिरहेको छ। म जे काम गर्न आएकी थिएँ, त्यसलाई न्याय गरिरहेको छु। यो क्षेत्र मेरो लागि बनेको रहेछ सोचिरहेको छु। कहीँ न कहीँ अटाउन सक्ने रहेछु भन्ने लागिरहेको छ।’

अञ्जना भविष्यभन्दा पनि वर्तमानमा रमाउने स्वभावकी छिन्। त्यसैले आफू भविष्यलाई लिएर कहिल्यै चिन्तित नभएको बताउँछिन्। भन्छिन्, भविष्यलाई लिएर धेरै सोचेकी छैन। अझै राम्रो प्रोजेक्ट गर्दै जाउँला। तर, धेरै आशा राख्दिनँ, निराश भइन्छ। अहिले इन्जोय गरिरहेकी छु।’

भिडिओमा हेर्नुहोस् कुराकानी

  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad