बलिउड फिल्म ‘१२ वीं फेल’ का अभिनेता विक्रान्त मेसीले अभिनयबाट सन्यास लिने भएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू अभिनयबाट ब्रेक लिने घोषणा गरेका हुन्।
‘नमस्ते, पछिल्ला केही वर्ष र त्यसपछिका वर्षहरू अद्भुत रह्यो। तपाईंको निरन्तर सहयोगको लागि म सबैलाई धन्यवाद दिन्छु। तर, जब म अगाडि बढ्दै छु, मैले महसुस गरें कि यो आफैलाई सन्तुलन र घर फर्कने समय हो। एक श्रीमान, बुबा, छोरा र अभिनेताको रूपमा पनि। २०२५ मा हामी अन्तिम पटक एक अर्कालाई भेट्नेछौं,’विक्रान्तले लेखेका छन्।
विक्रान्त मेसीले अभिनयबाट ब्रेक लिनुको कारण अहिलेसम्म खुलाएका छैनन्, तर उनका फ्यानहरू उनको घोषणाबाट निराश भएका छन्।
विक्रान्तको यो घोषणालाई लिएर फिल्म उद्योगबाट धेरै प्रतिक्रिया आइरहेका छन्। उनीसँगै फिल्म ‘१२ वीं फेल’ मा देखिएकी अभिनेत्री मेधा शंकरले आश्चर्य व्यक्त गरेकी छन्।
१५ नोभेम्बरमा रिलिज भएको विक्रान्तको अन्तिम फिल्म ‘द साबरमती रिपोर्ट’ को समयमा विक्रान्तलाई धम्की आएको थियो। यो फिल्म गोधरा घटना र त्यसपछिको गुजरात दंगामा आधारित छ। ट्रेलर रिलिज भएसँगै फिल्म विवादमा परेको थियो।
विक्रान्त आफैंले दैनिक भास्करलाई दिएको अन्तर्वार्तामा यसको खुलासा गरेका थिए। विक्रान्तले आफ्ना विरोधीहरूले आफ्नो ९ महिनाको बच्चालाई पनि नछोड्ने र उनीबारे अश्लील कुरा गरेको बताएका थिए।
विक्रान्त मेसीले सानो पर्दाबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। उनले धरम वीर, बालिका वधू, कुबुल है जस्ता टिभी शोहरूमा काम गरे। सानो पर्दामा आफ्नो छाप छोडेपछि उनी बलिउडतिर लागे।
विक्रान्त मेसीले सन् २०१३ मा फिल्म ‘लुटेरा’ बाट बलिउडमा डेब्यू गरेका थिए। त्यसपछि उनले दिल धडकने दो, छपाक जस्ता फिल्ममा पनि काम गरे।
तर, ‘१२ वीं फेल’ उनको करियरको सबैभन्दा ठूलो फिल्म साबित भयो। यो फिल्ममा उनले आईपीएस मनोज कुमारको भूमिका निभाएका थिए। फिल्ममा विक्रान्तको कामको निकै प्रशंसा भएको थियो। उनलाई धेरै अवार्डले पनि सम्मानित गरिएको थियो।
हालै उनको फिल्म ‘द साबरमती रिपोर्ट’ रिलिज भएको थियो, जसको निकै प्रशंसा भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले समेत फिल्मको प्रशंसा गरेका छन्।
Shares

प्रतिक्रिया