कला


मुख्यमन्त्रीविरुद्ध टिप्पणी गरे तेलंगानामा ‘पुष्पा २’ प्रदर्शन गर्न नदिने चेतावनी

मुख्यमन्त्रीविरुद्ध टिप्पणी गरे तेलंगानामा ‘पुष्पा २’ प्रदर्शन गर्न नदिने चेतावनी

फाइल तस्बिर: अभिनेता अल्लु अर्जुन


नेपालखबर
पुस १०, २०८१ बुधबार १४:५०, काठमाडौँ

तेलंगाना कंग्रेसका विधायक भूपति रेड्डीले अभिनेता अल्लु अर्जुनलाई ‘पुष्पा २’ प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन्।

उनले मुख्यमन्त्री रेवन्त रेड्डीविरुद्ध कुनै पनि प्रकारको आलोचना सह्य नहुने बताउँदै अल्लु अर्जुनले मुख्यमन्त्री रेड्डीबारे टिप्पणी गरेमा उनको फिल्म तेलंगना राज्यमा रिलिज गर्न नदिने चेतावनी दिएका हुन्। 

आन्ध्र निवासी अल्लु अर्जुन कामका लागि मात्र तेलंगाना आएको भूपतिको भनाइ छ। 

‘उनले तेलंगानामा कुनै महत्त्वपूर्ण योगदान दिएका छैनन्। त्यसैले राज्य सरकारको बारेमा टिप्पणी गर्दा होसियार हुनुपर्छ। पुष्पा समाजको हितमा बनेको फिल्म होइन, तस्करको कथा हो’, उनले भने। 

यही डिसेम्बर ४ मा हैदराबादस्थित सन्ध्या थिएटरमा पुष्पा-२ स्क्रिनिङका क्रममा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो भने उनका बालक छोरा गम्भीर घाइते भएका थिए। उनको उपचार जारी छ।  

यस घटनाविरुद्ध जाहेरी परेपछि हैदराबाद प्रहरीले अल्लु अर्जुनलाई पक्राउसमेत गरेका थिए। तर तेलंगना उच्च अदालतको आदेशमा उनी धरौटीमा रिहा भएका थिए। 

यसैबीच अल्लुले यही डिसेम्बर २१ मा सन्ध्या थिएटरमा भएको घटनालाई सामान्य दुर्घटना भनेपछि कंग्रेस विधायकले चेतावनी दिएका हुन्। 

भागदौडमा मरेकी महिलाका पति भास्कर अल्लु अर्जुनविरुद्धको मुद्दा फिर्ता लिन तयार छन्। उनी अल्लु अर्जुनलाई दोषी मान्दैनन्।

एनडीटीभीका अनुसार भास्करले छोराको उपचारका लागि अभिनेता अल्लुबाट पूर्ण सहयोग पाएको बताएका छन्।

उनले भने, ‘घटनाको भोलिपल्टदेखि अल्लुले हामीलाई साथ दिइरहेका छन्। यो दुर्घटना हाम्रो दुर्भाग्य हो। अभिनेताको गिरफ्तारीका लागि हामीलाई दोष लगाइयो, तर हामीसँग लड्ने शक्ति छैन।’

त्यही घटनाका विषयमा हैदराबादस्थित उस्मानिया विश्वविद्यालयका केही व्यक्तिले डिसेम्बर २२ का दिन अल्लु अर्जुनको घरमा तोडफोडसमेत गरेका थिए।

घटनामा ८ जनालाई पक्राउ गरिए पनि ६ जना धरौटीमा रिहा भइसकेका छन्। रिहा भएकामध्ये एकजना तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीको सहयोगी भएको दाबी भारत राष्ट्र समिति नेता कृष्णकले गरेका छन्।

कृष्णकले आरोपितका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्, जसमा एकजना मुख्यमन्त्रीसँग पोज दिइरहेका छन्।

हिजो मंगलबार मात्रै यस विषयमा अल्लु अर्जुनलाई प्रहरीले सोधपुछ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad