कला


पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा नेपाल-इन्डोनेसिया सांस्कृतिक कार्यक्रम

पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा नेपाल-इन्डोनेसिया सांस्कृतिक कार्यक्रम

नेपालखबर
माघ ७, २०८१ सोमबार ७:१, काठमाडौँ

मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।

पर्यटन व्यवसायी मिङ्मादोर्जे शेर्पाको अग्रसरतामा द लास्ट फ्रन्टायर्स ट्रेकिङ कम्पनीको आयोजना तथा नेपाल पर्यटन बोर्ड र एएमएस म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिको सहकार्यमा आइतबार राति यहाँ आयोजित कार्यक्रममा नेपाल र इन्डोनेसियाका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिए।

कार्यक्रमका लागि इन्डोनेसियाको जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनको १३ जनाको टोली केही दिनअघि यहाँ आइपुगेको थियो। आयोजक कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मिङ्मादोर्जे शेर्पाले कार्यक्रमले दुई देशबीच संस्कृति आदानप्रदान हुनाका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए।

‘यस सांस्कृतिक आदानप्रदान कार्यक्रमले एकअर्काको मुलुकको संस्कृति जान्ने मौका प्रदान गरेको छ, आगामी दिनमा हामी दुवै देशको पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न सक्छौँ’, उनले भने, ‘इन्डोनेसियामा रहेका २० लाखभन्दा बढी बौद्ध धर्मावलम्बीलाई हामी नेपाल ल्याउन सक्छौँ।’

त्यस अवसरमा जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनका प्रमुख सदस्य तथा गायिका रत्नादेवी कार्तिकाले इन्डोनेसियाको लोक गीतका साथै केही पप गीत गाइन्। 

‘जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनमा इन्डोनेसियाका ३८ प्रान्तमा १० हजारभन्दा बढी सदस्य आबद्ध छन्, यसको मुख्य उद्देश्य इन्डोनेसियाको कला र संस्कृति प्रवर्द्धन हो”, गायिका कार्तिकाले भनिन्, “कला, संस्कृति र दुई देशको पर्यटन प्रवर्द्धनका लागि नेपाल आउन पाउँदा निकै खुसी लागेको छ।’

कार्यक्रममा इन्डोनेसियाका तर्फबाट लातिस्या चान्जी बार्डेल स्टेयाज, सयिफा नुरुल अज्जुरा र डिजिक्रा औरेलिया देत्रियानीलगायतले नेतृत्व प्रस्तुत गरेका थिए।

नेपालका तर्फबाट कलाकारहरु देविका बन्दना, राजेश महर्जन, खुसी कुलुङ राईलगायतले गीत प्रस्तुत गरे भने नृत्यकार कमल राईको समूहले विभिन्न लोकभाकामा नृत्य प्रस्तुत गरेको थियो। त्यस अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी, भारतीय ज्योतिष एट्लान्टा कश्यपका साथै पर्यटनकर्मी तथा कलाकारहरुको उपस्थिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad