माघ १६ गते प्रदर्शन हुने फिल्म ‘एक्टरस् टेक वन’ ले ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ। विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरि प्रतियोगिताको घोषणा गरेको हो।
निर्माण कम्पनी अधृत फिल्मस् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा विजेताले अभिनयको लागि अवसर पाउनेछन्।
यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि चलचित्र ‘एक्टरस् टेक वन’को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडिओ बनाएर आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ।
पोस्ट गर्दा यस चलचित्रका ह्यान्डलहरू फेसबुकमा एक्टरनेपालीफिल्म, इन्स्टाग्राममा एक्टरदफिल्म र टिकटकमा एक्टरनेपाली लाई ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा ह्याजट्याग एक्टरमाघ १६ लेख्नुपर्नेछ।
यो कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई चलचित्रको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरी विजेता घोषणा गरिने बताइएको छ। यो कन्टेस्टको समयावधि माघ ३० गतेसम्म रहने छ। यस कन्टेस्टको लागि ‘एक्टरस् टेक वन’का कलाकार प्रदिप खड्काले विजेता घोषणा गर्नेछन्।
हालै सार्वजनिक भएको ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको चलचित्र युनिटले कलाकार हुन चाहने नयाँ र प्रतिभावान् व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ।
राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्।

Shares

प्रतिक्रिया