अभिनेता नाजिर हुसेनले ‘गुन्यु चोलो’मा निर्वाह गरेको पारलैंगिक (ट्रान्सजेन्डर) महिलाको अवतार देखेपछि भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकीले आश्चर्य व्यक्त गरेको बताएका छन्।
नाजिरले नेपालखबरको सो ‘लेट्स टक’मा ‘साम्बाला’ फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आएका नवाजुद्दिनले आफ्नो फिल्मको पोस्टर देखेपछि अनपेक्षित प्रतिक्रिया दिएको खुलाएका हुन्।
‘हामी साम्बाला फिल्मको प्रिमियरमा सँगै थियौँ,’ नाजिरले भने, ‘एउटा जोनमा हामी सँगै बसिरहेका थियौँ। मलाई नकिम उद्दिन दाइले उहाँसँग चिनाउनुभयो। उसले पनि ट्रान्सजेन्डरको भूमिकामा काम गरेको छ भन्नुभयो। अनि मलाई पोस्टर देखाइदेऊ न भन्नुभयो।’
नवाजुद्दिनले पनि ट्रान्सजेन्डर महिलाकै भूमिकामा भारतमा ‘हड्डी’ नामक फिल्ममा काम गरेका थिए। यता नाजिरले पनि त्यस्तै भूमिकामा अभिनय गरेको भनेपछि नवाज पोस्टर हेर्न उत्सुक देखिए। त्यसपछि नाजिरले पोस्टर देखाइदिए।
‘पोस्टर देखाएपछि उहाँ चकित हुनुभयो,’ नाजिरले भने, ‘हम ने भि किया था, मगर इत्ना ब्युटिफुल तो नही थे हम’ भन्नुभयो। त्यसपछि उहाँले आफ्नो म्यानेजरलाई बोलाउनुभयो। त्यही पोस्टर देखाएर ‘कस्ती छ?’ भनेर सोध्नुभयो। ‘राम्री छ’ भन्ने जवाफ आएपछि उहाँले ऊ नै हो भन्दै मतिर देखाउनुभयो। उनीहरू ट्वाँ परे।’
प्रदर्शनको तयारीमा रहेको ‘गुन्यु चोलो’का लागि ६ महिना लगाएर १७ किलो तौल घटाएको नाजिरको भनाइ छ।
यसबारे पनि नवाजुद्दिनले नाजिरसँग चासो राखेका थिए। ‘मैले ६ महिनामा १७ केजी घटाएको भनेपछि उहाँ छक्क पर्नुभयो, मैले त्यसरी गर्न त पाइनँ तर कस्तो पूरै परिवर्तन देखिएको भनेर प्रतिक्रिया दिनुभयो,’ नाजिरले सम्झिए।
यस पात्रले आफूलाई आत्मविश्वास दिएको नाजिर बताउँछन्।
‘पोस्टरमा गुलाबी जति सुन्दर देखिएको छ, यसपछाडि अरू २५–३० जना ट्रान्सजेन्डर कलाकारको पनि सहयोग छ,’ नाजिरले भने।
पूरा भिडिओ:
Shares

प्रतिक्रिया