प्रकाश सपुत र परीक्षा लिम्बुको मुख्य भूमिका रहेको फिल्म ‘सोल्टिनी’ को छायांकन सकिएको छ। इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा फिल्मको सुटिङ सकिएको हो।
भोजपुरको अन्नपूर्ण गाउँमा भएको यसको ‘इन्ड क्ल्याप’ दृश्यमा कलाकारहरू परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरे।
निर्देशक अर्जुन सुवेदीले चलचित्र ‘सोल्टिनी’को छायाङ्कन समयमै सकिनुको मुख्य कारण पूर्व तयारी रहेको जानकारी दिए।
‘सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिमकै कारण हामीले निर्धारित समयभित्रै छायाङ्कन सम्पन्न गर्न सफल भयौँ,’ सुवेदीले भने।
अब, ‘सोल्टिनी’को सम्पादन प्रक्रियामा टिम प्रवेश गर्नेछ । निर्देशक सुवेदीले दर्शकलाई फरक स्वादको कथासँग जोड्न चलचित्रले कुनै कसर बाँकी नराख्ने बताए।
यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ।
यस फिल्ममा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडाको अभिनय छ।
सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिकामा देखिनेछन्। यो फिल्म २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज हुनेछ।
Shares

प्रतिक्रिया