बोलमाया, गलबन्दी, घुमी घुमी, अरेली काँडैले, रुकुम मैकोटजस्ता चर्चित गीत गाएकी गायिका शान्तिश्री परियार जति सफल छिन्, उनको संघर्ष त्यति नै मार्मिक छ।
रोल्पामा छँदा होस् वा काठमाडौँमा, शान्तिश्रीको सुरुवाती जीवन त्यति सहज थिएन। तर, उनले कहिल्यै हार मानिनन्। जस्तोसुकै परिस्थितिमा पनि आफ्नो गायन यात्रा अघि बढाइरहिन्।
तीन हजारभन्दा बढी गीत गाइसकेकी शान्तिलाई रेकर्डिङदेखि देश-विदेशका कार्यक्रमसम्म भ्याईनभ्याई छ। हालै उनका दुई गीतले १०/१० करोड भ्युज पाएका छन्। साथै उनले राजधानीमै करोडौँ मूल्य पर्ने घरसमेत किनिसकेकी छन्।
एउटा कलाकारका लागि यो भन्दा सुखद पल के हुन सक्ला र?
सफलताको स्वाद चाखिरहेकी तिनै शान्तिश्रीले शुक्रबार आफ्ना साधना र सफलता कुरा बताइन्। पर्यटन बोर्डमा आयोजित काठमाडौँ उत्सवमा उनले कवि दीपदर्पणसँग आफ्ना तीतामीठा पल सेयर गरिन्।

दीपदर्पणले सुरुमै चोटका कुरा खोतले। सायद शान्तिश्रीलाई नजिकबाट चिनेकाले पनि होला! उनले शान्तिश्रीका संघर्षका दिन कोट्याए।
उनले सोधे, ‘मान्छेलाई जीवनमा चोट आउँदा आत्तिन्छन्। शान्तिको जीवनमा पनि चोटहरू आए होलान्? चोटले मान्छेलाई तीनवटा अवसर दिन्छ। चोट खाएर टुक्रिएर जाने, चोटबाट हतियार बनेर प्रतिशोध लिने र चोटबाट चोट खाएर मूर्ति बनेर पुजिने?’
जवाफमा शान्तिश्रीले सधैँ चोट घातक हुने सुनाउँदै त्यही चोटबाट बलियो भएर अघि बढ्नुपर्ने बताइन्।
उनले भनिन्, ‘चोट भन्ने चिज घातक नै हुन्छ। जब मान्छेलाई चोट लाग्छ, त्यो चोटबाट टुक्रिने होइन। अझै बलियो भएर जानुपर्छ। त्यो चोटलाई चोट नमानेर जीवनको पाठका रूपमा लिइयो भने त्यसले केही चिजसँग पनि डगमगाइँदैन। आफू अगाडि बढ्न सक्ने माध्यमचाँहि चोटलाई बनाउन सकिन्छ जस्तो लाग्छ।’
‘त्यसो भए ती चोटबाट शान्तिश्री मूर्तिको स्वरूपमा सांगीतिक क्षेत्रमा उभिएको छ’, दीपदर्पणले फ्याट्टै सोधिहाले।
शान्तिले स्वीकार्दै भनिन्: हजुर, त्यस्तै त्यस्तै भन्दा पनि हुन्छ।
फेरि दीपदर्पणले सोधे, ‘त्यो रोल्पाको धुलोबाट उठेर यहाँसम्म पुग्दा कस्तो अनुभव हुन्छ?’
पहिलोपटक सार्वजनिक कार्यक्रममा प्रस्तुत भएकी शान्तिले त्यो धुलो नै तागत भएको बताइन्।
‘त्यो धुलो नै मेरा लागि तागत रहेछ। त्यो धुलोसँग हारेको भए वा हराभरा ठाउँ खोजेको भए मैले अरूको जिन्दगीलाई देखेर, अरूको यस्तो बबाल छ, मेरो किन यस्तो भनेर हारेको भए सायद आज यो ठाउँमा पुग्ने थिइनँ होला। यसरी जीवनका कथा सुनाउन योग्य पक्कै हुँदैन थिए। त्यही धुलोलाई नै तागत बनाएर यहाँसम्म आइयो’, उनले भनिन्।
शान्तिश्रीको संघर्ष शान्तिश्रीकै शब्दमा

आज धेरै स्रोता/दर्शकले मेरा गीत र स्वरलाई अथाह माया दिनुभएको छ। त्यही मायाले आर्जन गरेको पैसाले मैले आफू र आफ्नो परिवारका लागि गाँसबासको बन्दोबस्त गर्न सकेँ।
मेरो वर्तमान आज धेरै सहज छ, तर मेरो विगतमा सजिलो भन्ने केही थिएन। थियो त केवल दुःखै दुःख। चुनौती नै चुनौती!
कतिलाई शान्तिश्रीले दुःखको कथा सुनायो भन्ने पनि लाग्न सक्छ। तर म मेरो विगतलाई परिमार्जन गरेर कथा बनाउन चाहन्नँ। झुटो कथाले आत्मालाई सन्तुष्टि मिल्दैन। आत्मालाई सन्तुष्ट मिल्ने भनेको त यथार्थमै हो।
मैले मेरो यथार्थलाई तोडमरोड गर्नु भनेको मेरी आमालाई झुक्याउनु बराबर हो। किनभने म कुन धरातल टेकेर यहाँ आइपुगेको छु भन्ने कुरा बिर्सिन हुन्न। त्यो विगत नभएको भए आज यो वर्तमान हुने थिएन।
मलाई यथार्थ एकदम मन पर्छ। आफ्नो पनि, अरूको पनि। त्यसकारण म जे छु, जस्तो थिएँ, त्यस चिजप्रति प्रेम छ। गहिरो प्रेम छ।
म आफ्नो जन्मथलो ह्वामा गाउँ छाडेर रोल्पाको सदरमुकाम लिवाङ आउँदा ७ वर्षकी थिएँ। आफू जन्मेको ठाउँ र खेलेको माटो छाडेर नौलो ठाउँ झर्नु नयाँ संघर्षको सुरुवात थियो।
बुवाआमाका हामी सात जना सन्तान। दाइ र दिदीपछि जन्मेकी म। त्यतिबेला आमाबुवाको बलमा नै पेट पालियो। दुई/तीन वर्षपछि बल्ल स्कुल जाने अवसर मिल्यो। त्यो पनि आमाको बलमा। मेरी आमा छोरीलाई नाम लेख्न सक्ने बनाउँछु भन्नुहुन्थ्यो। म आमालाई डोको बोक्नेदेखि गिट्टी कुट्नेसम्मका काममा सघाउँथेँ।
आर्थिक अभाव कतिसम्म थियो भने त्यतिबेला अलिकति सफा र राम्रो देखिने भनेकै स्कुल ड्रेसमात्र हुन्थ्यो। मामाघर जाँदा होस् वा मेलामा जाँदा- स्कुलको सर्ट र मिडी लगाएर जान्थेँ। स्कुल ड्रेस लगाएर जाँदा पनि मेरो लुगा राम्रो छ भन्ने लाग्थ्यो।
सानैदेखि गीत-संगीतमा रुचि भएकाले स्कुलका अतिरिक्त क्रियाकलापमा गीत गाउँथे र पुरस्कारसमेत पाउँथेँ। त्यही पुरस्कार पाएको पैसाले जुत्ता र मोजा किन्थेँ। आफ्ना लागि आफैँ जिम्मेवारी लिने अभ्यास त्यही बेला सुरु भयो।
मेरो बुवालाई त्यो बेला युद्धमा जानुभन्दा आफ्नो सात सन्तान पाल्नु नै एउटा युद्धसरह थियो। आफ्ना सन्तानलाई दुईछाक कसरी खुवाउने भन्ने युद्ध सबैभन्दा ठूलो युद्ध हो सायद।
त्यो युद्ध जित्न भनेर जब हाम्रा बुवाआमाले हाम्रो परिवारलाई सदरमुकाम ल्याउनुभयो। उहाँहरूले ट्रकको सामान लोड-अनलोड गर्ने काम गर्नुभयो। भारी बोक्ने काम गर्न नसक्ने भएपछि आमाले निगुरो पसल राख्नुभयो।
अहिले फर्किएर हेर्दा ती दिन दुःखभन्दा पनि भर्याङ रहेछन् भन्ने लाग्छ।
म दुःखका अग्ला-अग्ला पहाड चढेर आज यहाँ आइपुगेकी हुँ। मेरो कथा यहाँ दिग्गजहरूसामु भन्न पाउँदा खुसी लागिरहेको छ।
मेरो कथा अभावको मात्र कथा होइन, गीत-संगीतको कथा पनि हो। पहिलोपटक कक्षा २ मा पढ्दा गीत गाउन पाएँ। भाद्र ४ गते बालदिवस मनाइन्थ्यो। बालदिवसमा कसले गाउन सक्छ भनेर सोध्दा मैले पहिलोचोटि म सक्छु भनेर हात उठाएकी थिएँ।

‘जुगाबाटो घाँस मैले बोकेर, दुध खान्छन् अरूले लुकेर’ बोलको गीत सौतेनी आमाको विषयमा थियो। यही गीत गाएर म प्रथम भएँ र पुरस्कारमा २ सय रुपैयाँ पाएँ। कपी कलमसमेत पाएकी थिएँ। त्यो दिनको प्रोत्साहनले तानेर नै होला म आजसम्म गाइरहेकी छु।
मैले कलाकार बन्छु भन्ने संकल्प गरेको प्युठानमा भएको दोहोरी गीत प्रतियोगितामा सहभागी भएपछि हो। दोस्रोपटक दाङ घोराहीमा क्षेत्रीयस्तरमा भएको दोहोरी प्रतियोगितामा सहभागी भएँ। मैले नारायण रायमाझीसहित बद्री पंगेनी र राजु परियारजस्ता कलाकारलाई देखेको त्यहीँ हो। उहाँहरूले लगाएको लुगा र प्रस्तुति देखेर मलाई आफू पनि त्यस्तै बन्नुपर्छ भन्ने लाग्यो। यो कुरा म आमालाई बारम्बार भनिरहन्थेँ।
त्यसबेला म स्वास्थ्य र शिक्षासम्बन्धी नाटक देखाउन गाउँतिर जान्थेँ। त्यो बेला प्रकाश जिसी दाइसँग सूर्यचौरमा भेट भयो। उहाँले मसँग गाउनुभयो। दोहोरी साँझमा गायौँ भने तिमी कलाकारका रूपमा धेरै अगाडि बढ्न सक्छौ भन्नुभयो। मैले आमालाई यो कुरा सुनाएँ। तर उहाँले मान्नुभएन। त्यो बेला एक/दुई महिनाका लागि भए पनि जानुपर्छ भनेर मैले विद्रोह गरेँ। १५ वर्षको उमेरमा आमाले नाइँ भन्दाभन्दै पनि मैले काठमाडौँ जाने निर्णय गरेँ।
अझै याद छ- त्यो असार १० गतेको रात थियो। म नाइट बस चढेर काठमाडौँ हिँडेकी थिएँ। नाइट बसमा २४ घण्टामा चार/पाँच घण्टा मात्रै निदाएँ हुँला। म खासै धर्म मान्दिनँ थिएँ। तर त्यसदिन भगवान् शिवलाई हरेक श्वासमा सम्झेँ। हुन पनि कोही नहुनेको भगवान् हुँदोरहेछन्। किनकि म पढेलेखेको पनि थिइनँ। उमेरले समेत अपरिपक्व थिएँ।
काठमाडौँमा पाइला टेक्दा कहाँ टेकेँजस्तो लागेको थियो। तर, मैले सही ठाउँमा टेकेको रहेछु। पुरुष खराब भनिने यो समाजमा मैले पूजा गर्ने पुरुषहरू हुनुहुन्छ। जसमध्ये मेरो बुवापछि प्रकाश जिसी दाइ हुनुहुन्छ। पृथ्वी थकाली दाइलाई पनि म त्यति नै मान्छु। अरू पनि कलाकार हुनुहुन्छ। यो समाजमा पूजा गर्न मिल्ने पुरुष पनि हुनुहुन्छ।
अर्का पुरूष मेरा श्रीमान्, जसबिना यो सफलता सम्भव हुँदैनथ्यो। आजसम्म उहाँ मसँगै उभिनुभएको छ।
प्रकाश जिसी दाइले मेरो कला देखेर ल्याउनुभएको थियो। काठमाडौँ आइपुगेकै दिन उहाँले विभिन्न दोहोरी साँझमा लानुभयो। सुरुमा धौलागिरि दोहोरी साँझमा गएँ। केटीहरू चिटिक्क परेर नाचेको देखेँ। कपाल स्ट्रेट गरेको देख्दा खुब रमाइलो लागेको थियो। तीन/चार ठाउँमा जाँदा पनि म सेलेक्ट हुन सकिनँ।
भोलिपल्ट अरू दाहोरी साँझ चहारेँ। त्रिवेणी त्रिशूली दोहोरी साँझमा पहिलोपटक काम गर्ने अवसर पाएँ। त्यहाँका कलाकारसँग गीत गाउने ट्युनिङ मिलिसकेको थियो, तर त्यहाँ धेरै ग्राहक आउँथेनन्। नचलेको दोहोरी साँझ रहेछ, जहाँ १६ दिन काम गरेँ।
१७औँ दिनमा रोल्पाकै अनिता खड्का दिदीले बागबजारको रमाइलो चौतारीमा मेरो सट्टा तिमी आऊ भन्नुभयो। साहुजीले मेरो स्वर मन पराएपछि त्यहाँ काम सुरु गरेँ।
चलेको दोहोरी साँझमा खचाखच मान्छे हुँदारहेछन्। मलाई काम गर्न रमाइलो लाग्यो। त्यहाँ याम श्रेष्ठ सरसँग भेट भयो। जो मलाई छोरीजस्तै मान्नुहुन्छ। र, म बाबाजस्तै मान्छु अहिले पनि।
गाइसकेपछि उहाँले बोलाएर परिचय सोध्नुभयो। मैले नि केही चलाखी गरेँ। अर्कोमा ४ हजार दिएको छ भनेर गफ लाएँ। पुरानाले ३२/३५ सय पाउने रहेछन्, मैले पहिलो महिनामै चार हजार तलब पाएँ।
सुरुमा प्रकाश खड्का दाइले डेरा खोजिदिनुभयो। त्यसपछि म गीता खड्कासँग बसेँ। तर, एक महिनापछि अल्लगै बसेँ। कोठा सर्दा अनिता खड्का दिदीले साथ दिनुभएको थियो। उहाँले बेडदखि भाँडा र सिरकसम्म दिनुभएको थियो। सामाखुसीको टाउन प्लानिङमा १२ सयको रुममा बसेँ। त्यहाँबाट संघर्ष सुरु भयो। गरिब घरकी छोरी भए पनि भात पकाउन अल्छी गरेको रहेछु। खाना पकाउँदा रुन्थेँ।
जागिर पाएपछि गीत रेकर्ड पालो आयो। पहिलो गीत शम्भु थापा चर्चितको ‘अरूभन्दा फरक म किन’ बोलको गीत गाएकी थिएँ। दोस्रो गीत ‘घर छ तीनतले’। शिव हमालको शब्द र संगीतमा ‘एकतर्फी मायाले कति पीडा दिन्छ’ गीतपछि भने करिअर अलि सजिलो भयो। यसमा मेरो र कुलेन्द्र विश्वकर्माको स्वर थियो।
सुरुवाती दिन संगीत साधना भनेको दोहोरी साँझमै भयो। चार वर्षपछि बल्ल मैले संगीत सिकेँ। चन्दन श्रेष्ठ गुरुकहाँ गएर ७ हजार तिरेर भर्ना भएँ। चार वर्ष शास्त्रीय संगीत सिकेँ। त्यसपछि व्यस्तता बढ्दै गयो।

जन्मथलो छाडेर काठमाडौँ आउनु मेरो संघर्षको अर्को चरण थियो। तर आमाबाबुबाट धेरै बसेर संघर्ष गर्दा पनि मेरो शिर र मुटुमा सधैँ आमाबुवा र उहाँहरूको आशीर्वाद रहिरह्यो। सबैतिर आमाबुवालाई राखेर हिँडियो भने कहिले पनि हारिँदैन।
मेरा गीतहरू चल्न थालेपछि मैले आमाबुवालाई घर किन्दिने सपना देखेँ। मेरो आमाबुवाको जिन्दगीका २७/२८ वर्ष भाडाको घर सर्दै बिते। कहिले कता, कहिले कता सर्दा मलाई निकै दुःख लाग्थ्यो र सधैँ हाम्रो स्थायी घर कहिले हुन्छ होला भनेर सोचिबस्थेँ।
तर, २०७४ सालतिर म ठूलै दुर्घटनामा परेँ। ढाड भाँचिएकाले उठ्न नसक्ने भएँ र अब बाँच्दिनँ भन्नेसम्म लाग्न थाल्यो। जसरी भए पनि पैसा कमाएर छानो हाल्नु थियो। एक महिना आराम गरेर फेरि काम गर्न थालेँ। जब मैले बुवाआमाका लागि घर किन्दिएँ, मैले त्यो घरलाई महल भन्न थालेँ। आमालाई के छ आमा तपाईंको महलको खबर भनेर जिस्क्याउँथेँ। आमाले तिम्रो महल हाँसिरहेको छ भन्नुहुन्थ्यो। अनि म हाँस्थेँ।
मैले हालसम्म लगभग तीन हजार गीत गाइसकेकी छु। अस्तिसम्म म हलचल नभएर कतै नठोइकीकन सललल बग्ने नदीझैँ ठान्थेँ। तर, बग्दै जाने क्रममा ठोकिइँदोरहेछ। हिँडदै जाने क्रममा बहकिइँदोरहेछ। अरूको कारणले म मज्जाले ठोकिएकी छु। लडेकी छु, बजारिएकी छु र रोएकी पनि छु। तै पनि सम्हालिँदै हिँड्ने, भिड्ने र बग्ने क्रम जारी छ।
Shares

प्रतिक्रिया