भारतका चर्चित फिल्म निर्देशक अनुराग कश्यपले अहिले हलमा प्रदर्शन भइरहेको ‘राजागंज’जस्तै फिल्म निर्माण भइरहे नेपाली फिल्म धेरै माथि पुग्न सक्ने बताएका छन्।
भारतबाट ‘राजागंज’ हेर्न भिडिओ सन्देश पठाउँदै कश्यपले यो फिल्मका निर्देशक दीपक रौनियार एकदमै उत्कृष्ट फिल्ममेकर रहेको भनी तारिफ गरेका छन्।
‘दीपक रौनियारसँग मेरो पहिलो फिल्मी भेट उनको पहिलो फिल्ममार्फत भएको थियो,’ कश्यपले भनेका छन्, ‘उनी एकदमै उत्कृष्ट फिल्ममेकर हुन्। दीपकजस्तो प्रतिभासँग जोडिन पाउँदा म एकदमै गर्व महसुस गर्छु। मैले पहिल्यै पनि भनेको थिएँ- नेपालका दुई फिल्ममेकर मीनबहादुर भाम र दीपक रौनियारलाई म एकदमै मान्छु।’
हलमा प्रदर्शन भइरहेको ‘राजागंज’ गज्जबको थ्रिलर फिल्म रहेको उनको भनाइ छ।
‘यो गज्जबको थ्रिलर मुभी छ, यसमा सोसियल कमेन्ट्री छ’, भिडिओ सन्देशमा कश्यपले भनेका छन्, ‘यो नेपालको फिल्म हो। यहाँ नेपालको दैनिक जिन्दगी देखिन्छ। नेपाल बुझ्न सकिन्छ । यो फिल्म भारतमा बस्नेले पनि रिलेट गर्न सक्छन्। साउथ एसियाका नागरिकले पनि रिलेट गर्न सक्छन्। यदि अडियन्सले सपोर्ट गरे भने यस्तै फिल्मको माध्यमबाट नेपालको सिनेमा धेरै माथि पुग्न सक्छ। त्यसका लागि पनि यो फिल्म हेर्नुपर्छ।’
निर्देशक दीपकबाट आफूलाई पनि प्रेरणा मिल्ने उनले बताएका छन्।
‘दिपक तिमीलाई धेरै-धेरै बधाई। तिमी फिल्म बनाइराख, यस्तै फिल्म बनाइराख। तिमीसँग फिल्म बनाउन पाउँदा मलाई पनि प्रेरणा मिल्छ। भुइँतहसम्म पुगेर फिल्म बनाइरहनुपर्छ भन्ने महसुस हुन्छ,’ कश्यपले भनेका छन्।
मधेस आन्दोलनको पृष्ठभूमिमा बनेको यो फिल्मको कथाबाट प्रभावित भएर कश्यपले पनि लगानी गरेका छन्। कश्यप यो फिल्मका कार्यकारी निर्माता हुन्।
‘ग्यांग्स् अफ वासेपुर’, ‘देव डी’, ‘ब्ल्याक फ्राइडे’, ‘गुलाल’, ‘रमन राघव २.०’, ‘पाँच’लगायत थुप्रै चर्चित फिल्म निर्देशन गरेका कश्यप भारतमा हिंसा, राजनीति र अपराधमा केन्द्रित भएर यथार्थपरक सिनेमा बनाउने निर्देशकका रूपमा परिचित छन्।
Shares

प्रतिक्रिया