कला


‘वसन्त’ नित्तान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो: प्रकाश सपूत

‘वसन्त’ नित्तान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो: प्रकाश सपूत

नेपालखबर
चैत १७, २०८१ आइतबार १०:४५, काठमाडौँ

संगितकार, गीतकार र अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गरेको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदै छ। गीत र श्रव्य दृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्रमार्फत आफ्नो भोगाई र विसं २०६० देखि हालसम्मको समाजलाई चित्रण गर्न खोजेका छन्। 

विशेष गरी माओवादी द्वन्द्व, वर्गीय र जातीय विभेदका विषयलाई चलचित्रमा समेटिएको सपूतले बताए। ‘यो मेरो स्कुल जीवन र त्यो समयको ग्रामीण समाजको चित्रण हो। यस चलचित्रमा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु। यसले कुनै विधि वा पद्धतिलाई राम्रो वा नराम्रो देखाउनेभन्दा पनि उक्त समयको एउटा वसन्त नामक पात्रको कथा भनेको छ,’ उनले भने। 

गायक सपूतले ‘वसन्त’ नामक पात्र आफूसँग धेरै नजिक रहेकाले उक्त पात्रको भोगाइले आफ्नो जीवनको महत्त्वपूर्ण समय चित्रण गरेको उल्लेख गरे। ‘मैले सिर्जना गर्ने कृतिमा समाजकै पात्र र अवस्थालाई चित्रण गर्ने गरेको छु। जे भइरहेको छ, त्यसकै बिम्ब चलचित्रमा प्रस्तुत गरेको छु । मेरा गीत झैँ चलचित्रमा पनि आफ्ना भावनालाई प्रस्तुत गरेको छु, गीतको तुलनामा चलचित्रमा ती झनैँ परिपक्व भएर आएका छन्’, उनको भनाइ छ। 

सपूतका अनुसार चलचित्रमा एउटा पात्रले लेखक बन्न गरेको सङ्घर्षलाई देखाइएको छ। त्यो सङ्घर्षमा घट्ने घटनाक्रम, सामाजिक परिवेश, वर्गीय विभेद, जातीय अस्तित्वलाई समेटेर सामाजिक चेतनालाई प्रश्न गरिएको छ। 

चलचित्रमा उनको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का रहेकी छन्। सपूतले दलित समुदाय र अभिनेत्री खड्काले ब्राह्मण समुदायको पात्रको भूमिका निर्वाह गरेका छन् । अन्तरजातीय मित्रता र प्रेमले निम्त्याउने असरलाई पनि चलचित्रमा देखाइएको अभिनेत्री खड्काले बताइन्। 

‘मैले बाचेको जीवनभन्दा मैले चलचित्रका लागि निर्वाह गरेको शान्ति शर्मा नामक पात्रको जीवन फरक छ। गाउँ, त्यो समयले ममा भिन्न दृष्टिकोण निर्माण गरेको छ। त्यो परिवेश मेरो लागि नित्तान्त नयाँ थियो, उक्त पात्रले नयाँ जीवन बाँचेको अनुभूतिसमेत दिएको छ’, उनले भनिन्। 

गीतमार्फत आफ्नो अनुभवलाई प्रस्तुत गरिरहेका सपूतले आफ्ना कथा सकिने डर र आफ्नो सिर्जनालाई न्याय गर्न सक्छु भन्ने लागेर निर्देशक बनेको बताए। ‘आफैँ निर्देशक र अभिनेता बन्दा सहज त पक्कै भएन तर मेरो भोगाइलाई मैले नै पर्दामा ल्याउनुपर्छ भन्ने लाग्यो किनकि यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो। यसले सामाजिक चेतनालाई प्रश्न गर्दै समतामूलक समाजको कल्पना गरेको छ’, उनले भने। 

सपूतले निर्देशन गर्न हतारिएको प्रश्नको सामना गरेका छन् किनकि उनी गीत सङगीतमै व्यस्त थिए। केही समयपछि निर्देशनमा आउँदा परिपक्वता बढेता पनि चलचित्रमा उठाइएको विषयसँग नयाँ पुस्तालाई जोड्न समय लाग्ने भएकाले यो समय चलचित्र निर्देशन गर्न उपयुक्त लागेको उनले सुनाए।

‘मैले जुन समयको कथा उठाएको छु, त्यहाँ परिवेश देखाउन पनि त्यस बेलाको अवस्थालाई चित्रण गर्नै पर्थ्यो, त्यही गरेँ। मैले सिर्जनामार्फत समाजलाई गरेको प्रश्न सही छ भने म त्यहाँ डराउनुहुँदैन, मैले एउटा सर्जकका हिसाबले मनबाटै अनुभूति गरेका कुरालाई चलचित्रमा समेटेको छु’, सपूतको कथन छ।  

अभिनेत्री खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताए। उनले भने, ‘गायक सपूतलाई मैले नयाँजस्तो कहीँ कतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । वर्षौँसम्म सम्झिने पात्र चलचित्रमा निर्वाह गरे जस्तो लागेको छ।’

चलचित्रमा प्रभातपाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad