काठमाडौँमा परम्परागत कला पौभा र थाङ्का चित्रकलाबारे विमर्श कार्यक्रम गरिएको छ।
सोमबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा परम्परागत चित्रकला विभाग र तामाङ पत्रकार संघ काठमाडौँ शाखाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा परम्परागत चित्रकलाको सिर्जना र व्यवसाय सम्बन्धी विमर्श गरिएको हो।
‘परम्परागत कलाको आयाम’ शीर्षकमा गरिएको विमर्शमा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, पौभा कलाकार तथा लेखक उजय बज्राचार्य, पौभा चित्रकला व्यवसायी सुनिल शाक्य र थाङ्का चित्रकला व्यवसायी अनिल घिसिङ वक्ताको रुपमा थिए। विमर्श कार्यक्रमको सहजीकरण पत्रकार सुशीला तामाङले गरेकी थिइन्।
कलाकार बज्राचार्यले कला सिर्जनामा अहिले सुखद रहेको बताए। प्रविधि र आधुनिक फ्युजनको हकमा भने सिर्जनामा केही चुनौतीको सम्भावना रहेको उनको भनाइ छ। यसमा सम्पुर्ण कलाकारहरुले मौलिकताको पक्षमा ध्यान दिन रहेको उनले औंल्याए।
त्यस्तै, परम्परागत चित्रकला विभाग प्रमुख लामाले पौभा र थाङ्का कला विकासका लागि प्रतिष्ठानले समन्वयकारी भुमिका निर्वाह गरिरहेको बताए।
उनले भने, ‘पौभा, थाङ्का जस्ता परम्परागत कलाको विकास र विस्तारका लागि हामीले कलाकार, व्यवसायी सबैलाई समेट्ने प्रयास गरिरहेका छौँ। परम्परागत कलाको सिर्जना र व्यवसायिक पाटो दुवै राम्रो होस् भन्ने हाम्रो मनोसाय हो।’
व्यवसायीहरु शाक्य र घिसिङले परम्परागत चित्रकलाको बजार सन्तोषजनक रहेको सुनाए। घिसिङले थाङ्का कलामा बजारको स्थिति राम्रो रहेपनि नयाँ पुस्ताका कलाकारहरुको उपस्थिति न्यून रहेको विचार राखे। उनले भने,‘नयाँ पुस्ताका कलाकारहरु यसमा आउनुपर्छ भन्ने हो। तर किन आउनु भएन भन्ने चाहिँ चिन्ताको विषय छ।’
कलाको सिर्जना र गुनात्मक दुवै पक्षलाई जोड्न समन्वयको भुमिका निर्वाह गरिरहेको उनको भनाइ छ। घिसिङको कुरामा सहमत हुँदै व्यवसायी शाक्यले पौभा कलाकारहरुलाई कला सिर्जना गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था रहेको सुनाउँदै व्यवसायी र कलाकारहरुको सम्बन्ध सुमधुर रहेको सुनाए।
परम्परागत कलाको विस्तारको लागि समय सापेक्ष चल्नुपर्ने प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले भनाइ छ। उनका अनुसार परम्परागत कलाको जुन मौलिक दर्शन र विचारलाई परिस्कृत नगरीकन हामी समय अनुसार चल्न सक्छौँ। आगामी दिनमा कला विकासका लागि प्रतिष्ठान सहकार्यको तयार भएको उनले सुनाए। रासस
Shares

प्रतिक्रिया