गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वरमा ‘माया के हो?’ बोलको गीत सार्वजनिक गरिएको छ। काठमाडौँमा गरिएको एक पत्रकार सम्मेलनबीच गीतको भिडिओ सार्वजनिक गरिएको हो।
जहाँ गीतका सङ्गीतकार अर्जुन पोखरेल, निकेश खड्का, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री उगेन छोदेन उपस्थित थिए। प्रेम राजा अधिकारीको शब्द रहेको गीतको भिडिओलाई कुलेखानीको मनोरम दृश्यमा छायांकन गरिएको छ। निर्देशक खड्काले गीतको भाव अनुसार नै भिडिओ तयार गरेको बताए।
‘यो गीत सुन्दा नै गुनगुनाई रहने किसिमको बनेको छ। गीतमा व्यक्त भएको प्रेम भावलाई भिडिओमा देखाउने कोसिस गरेको छु। दर्शकलाई एउटा फ्रेश केमेष्ट्री पनि हुनेछ’, उनले भने।
सङ्गीतकार पोखरेलले पछिल्लो समय देखिएको रोमान्टिक गीतसङ्गीतको कमीलाई यस गीतले पुरा गर्ने बताए। उनले भने‘पछिल्लो समय सामाजिक विषयवस्तुका फिल्म बढी बनिरहेको सन्दर्भमा कम रोमान्टिक गीत कम सुनिन थालेको छ। रोमान्टिक गीतको प्रतीक्षामा रहेका दर्शकलाई यसले तृप्त बनाउँछ जस्तो लागेको छ। गीतको अडियो झैँ भिडियो पनि रोमान्टिक बनेको छ’, उनले भने।
अभिनेता श्रेष्ठले आफूले केही समयको अन्तरालमा भिडिओमा काम गरेको बताए। ‘म अहिले मेरो व्यवसायिक कामसँगै फिल्मकै कारण भिडिओमा पनि कम देखिएको छु। यो गीत सुन्दा मन पर्यो साथै यसलाई भिडिओ बनाउने टिमसँग म पहिले देखि काम गरिरहेकोले यो सहकार्य सम्भव भएको हो। मेरो बीचको केहि ग्यापलाई यो गीतले न्याय गर्छ जस्तो लागेको छ’, अभिनेता श्रेष्ठले भने।
अभिनेत्री छोदेनले फिल्मपछि गीतमा काम गर्दा छुटै अनुभव सङ्गालेको बताइन। उनले ‘दुई नम्बरी’ फिल्मपछि भिडिओमा काम गरेकी हुन्। उनले अभिनेता श्रेष्ठ, निर्देशक खड्का लगायतले आफूलाई सहज बनाएको बताइन।
ङागस्तो दोर्जी योञ्जनले निर्माण गरेको सार्वजनिक भिडिओमा हरी हुमागाईंकको छायांकन, सुवास तिमल्सेनाको शृंगार, कुसुम बुटिकको ड्रेस, विकास धमलाको सम्पादन रहेको छ।
Shares

प्रतिक्रिया