कला


त्यसपछि दिव्यालाई लाग्यो : अब नेपाल फर्केर हिरोइन बन्ने बेला भयो (भिडिओ)

दिलिपकी छोरीलाई विराजको छोरासँग स्क्रिन सेयर गर्ने रहर

अनिल यादव
चैत ३१ , काठमाडौँ

दिव्या रायमाझी बच्चैदेखि अरुकोे क्यारिकेचर गरेर मान्छे हसाउँथिन्। अरुको मुहारमा हाँसो छर्दा मज्जा आउँथ्यो उनलाई। तर, ‘हिरो’ दिलिप रायमाझीकी छोरी भएका कारण जसले जहाँ भेटे पनि उनलाई एउटै कुरा भनिरहन्थ्यो– ‘तिमी त हिरोको छोरी, पक्कै हिरोइन नै बन्छौ होला।’

यहीकारण उनको अभिनयप्रतिको मोह नै मरेको थियो। 

‘सबैले त्यही कुरा भनेको सुन्दा म जे पनि बन्छु तर हिरोइन बन्दिनँ भनेर हिँडेकी थिएँ,’ नेपालखबरको सो ‘लेट्स टक’मा आइपुगेकी उनले भनिन्, ‘तर, अमेरिका पुगेपछि मेरो बाटो नै मोडियो।’

बुबा दिलिपले दिव्याको करिअरमा कहिल्यै हस्तक्षेप गरेनन्। दिलिप सधैँ भन्थे– ‘तिमीलाई जे मन लाग्छ, त्यही पढ। जे बन्न मन लाग्छ, त्यही बन।’

अमेरिका जानुअघि नै दिव्यालाई फिल्मको अफर आएको थियो तर मानिनन्। कालो कोट लगाउने वकिलहरूलाई देखेर दिव्यालाई वकिल बन्न मन लाग्यो। कानुन पढ्न उनी अमेरिका पुगिन्। कानुन् पढिन् पनि। पढ्दै गर्दा जब एक दिन उनी अमेरिकाको थिएटरमा पुगिन्, हिरोकी छोरी न हो, हिरोइन बन्ने रहर एकाएक सवार भयो। 

दिव्याकै शब्दमा भन्दा– ‘त्यसपछि थिएटर पढेँ, अनि फेरि हिरोइन बन्ने भूत चढ्यो।’

उनले अमेरिकामा चार वर्षे थिएटर आर्ट्सको कोर्स पढिन्। अभिनय, निर्देशन, लेखन, स्टेज डिजाइन, पहिरन डिजाइन सबै विधा सिक्न पाइन्। 

हामीले सोध्यौँ– ‘त्यसपछि अमेरिकामै काम गरौँ भन्ने लागेन ?’

‘लाग्यो नि, किन नलाग्नु?’ जवाफमा दिव्याले भनिन्, ‘तर, त्यहीबेला कोभिड भयो। थिएटर, फिल्म सबै ठप्प। त्यसपछि यो प्यासनलाई साइडमा राखेर आईटीमा मास्टर्स गरेँ। आईटीमै फुलटाइम जब पनि गरेँ।’

यही वर्ष रिलिज भयो दिव्याको पहिलो फिल्म ‘एक्टरः टेक वन’। यो फिल्मका लागि निर्देशक राजन भुसालले उनलाई धेरै अघिदेखि नै अफर गरिरहेका थिए। अध्ययनमा व्यस्त भएकाले उनी मानिरहेकी थिइनन्। तर, उनकै भागमा जुरेको रहेछ, कसको के लाग्छ! 

‘फिल्म पनि होल्ड भइरहेको रहेछ,’ दिव्याले भनिन्, ‘पछि फेरि उहाँले कल गर्नुभयो। म पनि सबै काम छाडेर अब चाहिँ हिरोइन भन्ने बेला भयो भनेर नेपाल आइपुगेँ।’

फिल्म साइन गरेको दुई हप्तामै उनी नेपाल फर्किइन्। लगत्तै सुटिङ सुरु भयो। सुरुवाती चरणको यो फिल्म यात्रा उनका लागि अलिअलि रमाइलो, अलिअलि गाह्रो र अलिअलि ‘एन्जाइटी ड्रिभन’जस्तो पनि भयो। 

‘आउडटडुर सुटका बेला धेरै मान्छेहरूको अगाडा पफर्म गर्न डर लाग्दो रहेछ,’ उनले पहिलोपटक क्यामेरा फेस गर्दाको क्षण सम्झिइन्, ‘पोखरामा एउटा सिम्पल सिन थियो। म सिनको केन्द्रमा थिएँ। पूरै भिड मलाई हेरिरहेको थियो। मलाई राम्रो देखाउन कसैले लाइट मिलाइरहको थियो, कसैले ब्याकग्राउन्डमा सजाइरहेको थियो। मेरो सिन राम्रो देखाउन सबैले व्यापक मेहनत गरिरहेको देखेर मलाई चाहिँ डर भयो– ला...मैले बिगारेँ भने। जम्मा एउटा शब्द बोल्नु थियो ‘के’। तर, सबैजना अनुभवी क्रुको अगाडि डर लाग्दो रहेछ। अहिले त त्यस्तो हुँदैन, बानी हुँदो रहेछ विस्तारै।’

हरेक कलाकारका लागि पहिलो फिल्म विशेष हुन्छ। दिव्याका लागि पनि हुने नै भयो। त्यही हिसाबले प्रमोसनमा दौडिरहेकी थिइन्। फिल्म माघ १६ बाट रिलिजको तयारीमा थियो। रिलिजको एक दिनअघि जिल्ला अदालत काठमाडौँबाट तत्कालका लागि फिल्मको प्रदर्शन रोक्न आदेश आयो। फिल्मको नाम जुधेको भन्दै ‘एक्टर’का निर्माताले मुद्दा हालेपछि यस्तो आदेश आएको थियो। 

त्यसपछि आयोजित प्रेस मिटमा दिव्या सबैका सामु रोइन्। 

भन्छिन्, ‘एकदमै नरमाइलो लागेको थियो। मलाई त पहिलो गाँसमै ढुंगा अड्किएको जस्तो भयो। फिल्मको प्रमोसन, प्रिमियर सबै भइसकेको थियो। बिदाको समयमा फिल्म रिलिज हुँदै थियो। त्यसबेला त्यसरी फिल्म रोकिनु साँच्चै अनफेयर भयो भन्ने लागेको थियो। हाम्रो पूरै टिम सुत्न सकिरहेको थिएन। तनावपूर्ण थियो स्थिति।’

पहिलो फिल्मका को–एक्टर थिए प्रदीप खड्का। संयोगले शुक्रबारबाट प्रदर्शनमा आएको दोस्रो मल्टिस्टारर फिल्म ‘पिताम्बर’मा पनि प्रदीप नै छन्। फिल्मवृत्तमा प्रदिपकै सिफारिसमा यस्तो संयोग जुरेको गसिपसमेत चल्यो। तर, दिव्या फिल्मकी निर्देशक कृषा चौलागाईंकै अफरमा यो ‘पिताम्बर’सँग जोडिएको बताउँछिन्। 

‘एक्टरको सुटिङ सकिनेबित्तिकै निर्देशक कृषा चौलागाईंले फोन गरेर यो फिल्मसँग जोडिएको हुँ,’ उनले भनिन्, ‘कुनै पनि फिल्म निर्माता या निर्देशकले सिफारिसकै भरमा त्यत्रो लगानी रिस्कमा राख्दैनन्।’

‘एक्सन प्याक्ड’ भनिएको ‘पिताम्बर’मा दिव्याले मीराको भूमिका निर्वाह गरेकी छन्। 

भन्छिन्, ‘मैले यो फिल्ममा तराईको बब्ली, सिम्पल र सशक्त महिलाको भूमिका निर्वाह गरेको छु।’

संसारभर फिल्मवृत्तमा स्टार किड्सलाई ‘नेपोटिजम’को आरोप लाग्ने गर्छ। दिव्या नेपोटिजमले अवसरको ढोका सहजै खोलिदिने स्वीकार्छिन्। 

‘नेपोटिजमले अवसरको ढोका सहजै खुल्छ, त्यो सही हो। तर सफलताको ग्यारेन्टी चाहिँ हुँदैन। त्यो आफूमै भर पर्छ। यदि मैले मेहनत गरिनँ, ट्यालेन्ट छैन भने अडियन्सको सपोर्ट पाइन्न। सुरुमा ढोका खुल्छ होला तर त्यसपछि मेहनत आफैले गर्नुपर्छ।’

दिव्यालाई फिल्ममा अभिनय गराउनका लागि धेरैले उनका बुबा दिलिप रायमाझीलाई कल गर्छन्। तर, दिव्याका अनुसार दिलिपले कहिल्यै डिल गर्दैनन्। 

‘तेरो छोरीलाई फिल्ममा खेलाउनुपर्‍यो भन्दै ड्याडलाई फोन आउँदो रहेछ,’ दिव्याले सुनाउँछिन्, ‘तर, उहाँले केही भन्नुहुन्न। सिधै मेरो नम्बर दिएर मसँगै डिल गर्नु भन्नुहुन्छ। खासमा मलाई बुबाको भन्दा पनि आफ्नै नामले चिनिन मन छ। बरु आफ्नै नामले ड्याडलाई पनि चिनाउन मन छ। सायद त्यसो हुँदा उहाँलाई पनि खुसी लाग्छ होला, गर्व महसुस हुन्छ होला।’ 

दिव्याकी मामु यतिखेर अमेरिकामा ब्युटिसियन छिन्। हामीले सोध्यौँ– ‘तपाईंलाई चाहिँ अमेरिकामै बसौँ भन्ने कहिल्यै लागेन?’ 

जवाफमा उनी भन्छिन्, ‘म सुरुमै नेपाल नै फर्किने भनेर गएकी थिएँ। अमेरिकामा मेरो राम्रो स्थायी जागिर थियो तर जन्मभूमिलाई नै कर्मभूमि बनाउँछु भनेर फर्किएकी हुँ।’

लगातार दुई फिल्ममा प्रदीपसँग स्क्रिन सेयर गरेकी दिव्यालाई अब स्टार किड समीर भट्टसँग स्क्रिन सेयर गर्न मन छ। 

‘हामी दुवै एकै वर्ष डेब्यु भएका हौँ। उहाँसँग स्क्रिन सेयर गर्दा रमाइलै हुन्छ होला। अहिलेसम्म जुरेको छैन तर जुर्ला,’ उनले हाँस्दै भनिन्। 

दिव्याकै नजरमा दिव्या कस्तो मान्छे? 

‘लेट्स टक’मा उनले भनिन्, ‘म पानीजस्तो छु। पानीलाई जस्तो कन्टेनरमा राख्नुस्, उसले त्यस्तै आकार लिइदिन्छ। सायद म पनि त्यस्तै छु, जस्तो मान्छेसँग छु, त्यस्तै भइदिन्छु।’

फिल्मको को–एक्टरसँग हिरोइनको अफेयरको चर्चा चल्नु नेपाली फिल्मका लागि नयाँ ट्रेन्ड होइन। दिव्या पनि यसको सिकार भइसकेकी छन्। 

भन्छिन्, ‘मेरो मात्रै होइन, सबैजनाको यस्तो हल्ला आउँदो रहेछ। तर, म त हा हा भनेर हाँसेरै उडाइदिने हो।’

हेर्नुहोस्, दिव्याले उनको बाल्यकाल, अध्ययन, करिअर, प्रेम र जीवनका अनेक पाटाबारे खुलेर कुराकानी गरेको यो कार्यक्रम ‘लेट्स टक’ :

फोटा/भिडियोः सौगात दाहाल

चैत २९, २०८१ शुक्रबार २०:२३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad