कला


‘काफ्ले’ बिना फिल्म नै नबन्लाजस्तो गरेपछि गीत दिएँ : झुमा लिम्बू (भिडिओ)

‘हाम्रो रैथाने संगीत विश्वलाई सुनाउनु पर्छ भनेर लागेकी हुँ, लोकप्रियताको भोक छैन’

अनिल यादव
बैशाख १२ , काठमाडौँ

‘धान सुक्यो रापले
फकाउँछ काफ्ले
जानु कि नजानु?’

रिलिजको तयारीमा रहेको फिल्म ‘ऊनको स्विटर’को यो गीत यतिखेर सर्वत्र चर्चामा छ। तर, धेरैलाई थाहा छैन, युट्युबमा १० दिनमा २३ लाख भ्युज भइसकेको यो गीत खासगरी फिल्मका लागि तयार गरिएको थिएन। 

‘भाइरल’ र ‘कमर्सियल’ संगीतको बजारभन्दा धेरै पर रहेर रैथाने संगीत साधनामा रमाइरहेकी झुमा लिम्बूले आफ्नै एल्बमका लागि यो गीत तयार पारेकी थिइन्। संगीतवृत्तभरि यसको चर्चा थियो, ‘काफ्ले भन्ने एउटा दामी गीत रेकर्ड भएर बसेको छ है’ भनेर। रिलिज नहुँदै गीत एक किसिमले हिट भइसकेको थियो। 

तर, निर्देशक नवीन चौहानले जिद्दी गरेपछि गायिका लिम्बले यो गीत ‘ऊनको स्वीटर’ फिल्मलाई दिन तयार भएको खुलाएकी छिन्। 

‘म खासमा एल्बम गर्दैछु, दुईतीन वर्षै भयो तयारी गरेको,’ नेपालखबर सो ‘लेट्स टक’सँग कुराकानी गर्दै लिम्बूले भनिन्, ‘अब रेकर्डिङ सक्नै लागेँ। काफ्ले पनि त्यसैगरी रेकर्ड भएर बसेको गीत थियो। नवीन, हामी पहिल्यैदेखि नजिक थियौँ। उसले ‘काफ्ले’बिना फिल्म नै नबन्ला जस्तो कुरा गरेपछि दिएको हुँ। त्यो एउटा गीत नवीनले चलाउँदैमा के हुन्छ र? अथवा, आर्टमान्डुजत्तिको प्लाटफर्ममा पुग्दाखेरी गीत अन्यायमा परेर मर्दैन भन्ने पनि थियो मलाई।’

यो गीत लेख्ने ‘काफ्ले’ नै हुन् अर्थात् युवराज काफ्ले। तर, गीतको कन्सेप्ट भने झुमाकै हो। 

‘म आफैँ ताप्लेजुङस्थित काफ्लेको बाहुल्य रहेको गाउँमा हुर्किएको हुँ,’ झुमाले भनिन्, ‘लेख्ने मान्छे पनि युवराज काफ्ले। उहाँलाई कन्सेप्ट सुनाएर त्यहीअनुसार गीत लेख्न लगाएको हुँ। यो हाम्रै सर्कलको कथा हो। गाउँमा हामीसँग खेल्ने काफ्लेका बच्चाहरू तीनजना थिए। दिदीहरूसहित हामी चारजना थियौँ। सबभन्दा नजिकको छिमेकी उनीहरू थिए। हामी उनीहरूसँगै खेलेर हुर्कियौँ।’

यो गीतमा त्यस्तो के जादु छ र यति धेरै रुचाइयो भन्ने लाग्छ?

‘अहिले मिक्स्ड कम्युनिटीको फिल्महरू धेरै नै बनिरहेको छ,’ झुमा भन्छिन्, ‘काफ्ले गीत जसको फिल्ममा पनि मिल्ने खालको छ। त्यहीमाथि ठेट पूर्वेली लोक भाका भयो। गीतमा ठेट शब्द र बोलिचालीको भाषा छन्। त्यसैले सबैको मन तानेको हुनसक्छ।’

नेपाली संगीत वृत्तमा झुमाको बेग्लै पहिचान छ। अरु संगीतकारहरू काठमाडौँको कुनै कोठाभित्र बसेर धुन सिर्जना गरिरहँदा उनी गाउँमा आम मान्छेजसरी संगीत संकलन गर्दै गरेकी भेटिन सक्छिन्। कतै गाउँमा पुगेर त्यहाँका मान्छेहरूसँग गफिइरहेकी अनि रेकर्डर खोलेर मान्छेहरूले गाउने गीत सुनिरहेकी हुन सक्छिन्। 

‘तर, म कहीँ पनि संगीत संकलनमा जाँदा गायिका भनेर जाँदिनँ। रेकर्ड गरिसकेपछि रेकर्ड गरेको छु है भनेर जानकारी चाहिँ दिन्छु। तर एक महिना गएर बस्दा पनि फलाना आएको थियो भन्ने उनीहरूलाई थाहा हुँदैन,’ झुमाले भनिन्। 

खासगरी उनले आफ्नै समुदायको संगीतमा धेरै खोज गरेकी छन्। लिम्बू धार्मिक ग्रन्थ मुन्धुमको अडियो संस्करण पनि निकालेकी उनी पछिल्लो केही वर्षयता सुदूरपश्चिमका संगीत संकलनमा पनि व्यस्त छिन्। लकडाउनताका खमारी रुख खोजेर आफै बाजा बनाएकी उनले पछिल्लो समय आधुनिक र हिपहप गायकहरूसँग पनि सहकार्य गरिरहेकी छन्। 

सुशान्त केसीको हिट गीत ‘पर्ख पर्ख न’ को सुरुवातमै उनको स्वर सुन्न सकिन्छ। र्‍यापर मिस्टर डीसँग पनि उनले ‘आशा’ गीत गाएकी छन्। 

अहिले ‘काफ्ले’ हिट भएपछि उनी भन्छिन्, ‘कमर्सियल बाटोमा म आफै कहिल्यै हिँडेको होइन। गीत चाहिँ हिँडेको होला। दर्शक/स्रोताले मनपराइरहनुभएको छ। गीतमा रैथाने संगीतको आफ्नै सौन्दर्य छ।’

हामीले झुमालाई सोध्यौँ– ‘बजारमा चाँडै भाइरल हुने गीत गाएर अरुले स्टेज र महोत्सव तताइरहँदा तपाईंलाई त्यस्तो लोकप्रियताको भोक कहिल्यै जागेन?’

जवाफमा उनी २२ वर्षकै उमेरदेखि नै रैथाने संगीतप्रति दायित्यबोध भएकाले त्यतातिर भोक नजागेको बताउँछिन्। 

‘त्यतिबेलै नेपाली रैथाने संगीतमा बिजोग छ भन्ने अनुभूत भयो,’ झुमाले भनिन्, ‘लिम्बूले गीत गाएको लिम्बूले मात्र सुन्छ, राईले गाएको राइले मात्रै सुन्छ, पश्चिमको दोहोरी पश्चिमले नै, मध्यपश्चिमको दोहोरी मध्यपश्चिमले मात्रै सुन्छ। यसरी हुँदैन, हाम्रो संगीत विश्वले सुन्नुपर्छ भन्ने लागेर २२ वर्षको केटी हुँदा नै मैलेचाहिँ यो काम सम्हाल्नुपर्छ भनेर जान्नु न तान्नु फिल्डमा उत्रिएको हो।’

झुमालाई लाग्छ, गाउँगाउँमा गाइने रैथाने संगीतलाई अहिले सहरले स्वीकारेको छ। 

‘सहरलाई पनि हामीसँग चाहिँ के छ त? आयतीत काम मात्रै गरिरहेका छौँ भन्ने अनुभूत भएको छ। म कुन समाज र देशको प्रतिनिधित्व गर्छु, त्यहीँको माटोका लागि काम गर्नुपर्छ भन्ने लाग्न लागेको छ,’ उनले भनिन्। 

आफ्नो समुदायको भाषा र संस्कृतिसँग बढी सामीप्य र जानकारी हुने भएकाले उनले लिम्बूकै संगीतमा धेरै काम गरेको र त्यही बढी मनपर्ने बताउँछिन्। लिम्बूमा पनि उनलाई सबैभन्दा बढी हाक्पारे मनपर्छ। अब उनलाई तराईको संगीत खोज्न मन छ। 

भन्छिन्, ‘मलाई तराईको काम गर्नु छ। तराईमा बाहिर सुन्दै नसुनेको समुदाय छ र त्यहाँ संगीत छ भन्ने खास मान्छेहरूबाट थाहा पाएको छु। निकट भविष्यमा सुरु गर्छु होला।’ 

यता गीत हिट हुँदैगर्दा बच्चा बेला सँगै खेल्ने र फकाउने ‘काफ्लेहरू’ यतिखेर कहाँ छन्? झुमालाई फोन गरेर के प्रतिक्रिया दिए त? 

हेर्नुहोस्, झुमा लिम्बूसँगको ‘लेट्स टक’ :

फोटो/भिडिओ : विशाल कार्की/सौगात दाहाल

बैशाख १२, २०८२ शुक्रबार १९:३७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad