साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ। ‘जार’ विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षको दाबी छ।
‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको फिल्म हो। सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो।
इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए। त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २२५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाको भनाइ छ।
यो चलचित्रले हाम्रो इतिहाससँगको साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउने लामाले बताए।
‘मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैं झक्झकाइ रहन्थ्यो। नेपाली समाजमा जस्तै नेपाली भाषी समुदायमा जहाँसुकै गए पनि एउटै भावना पाइन्छ। जारले हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्छ,’ निर्देशक लामाले भने।
‘जार’ले इतिहास, संस्कृति र समाजलाई गहिरो रुपमा स्पर्श गर्ने भएकाले युवा पुस्तामाझ समेत प्रभाव पार्ने विश्वास निर्देशक लामाको छ। चलचित्र ‘जार’ले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ। कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेला प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न सक्नेछन्।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ। त्यसैले ‘जारी’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन्। यस फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ। ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ। सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ।
चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ। यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ।
Shares

प्रतिक्रिया