कला


महले पार गरे सहकार्यको ४५ वर्ष

महले पार गरे सहकार्यको ४५ वर्ष

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १७:२, काठमाडौँ

‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य। नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन्।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित छन्। मह जोडीका रुपमा उनहरूको सहकार्यले आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ। करिब आधा शताब्दीसम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उनहरू दुईको इमान्दारिताको उदाहरण हो।

यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाए। तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ। यसको प्रभाव पनि यो जोडीले हावी हुन दिएनन्। फलतः सहकार्यको झण्डै आधा शताब्दी कलासाधनामा समर्पित भई दर्शकसहित आमनेपालीको मन जित्न मह जोडी सफल भएको देखिन्छ।

यसै सन्दर्भमा अभिनेता आचार्यले आफूलाई भाग्यमानी पुस्ताका रुपमा बुझेका छन्। किनकी कलाकारिताको दौरानमा उनीहरूले प्रविधिगत र राजनीतिक धेरै परिवर्तनलाई नजिकबाट बुझ्न पाए। ‘हामीले रङ्गमञ्चमा प्रहना गर्यौं, क्यासेट बनायौँ, टेलिभिजनका लागि शृङ्खला बनायौँ, चलचित्रमा पनि काम गरायौँ, त्यसकारण पनि म र मदन दाई भाग्यमानी पुस्ता बन्न पुग्यौँ। हामीले सबै माध्यममार्फत् आफ्नो कामलाई देखाउने मौका पायौँ। अहिले पनि हामीले पुराना कामलाई अत्याधुनिक प्रविधिमा रुपान्तरण गरेर ‘डिजिटल’ रुपमा उपलब्ध गराएका छौँ’, अभिनेता आचार्यले भने।

उनले मह जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया रहेको बताए। ‘दर्शकले हामीलाई एकसाथ हेर्ने इच्छा नराख्नु भएको भए हामीले यत्रो यात्रा पार गर्न सम्भव थिएन। अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत गर्‍यो।  हाम्रो सम्बन्धमा उनीहरू हावी भएनन्। यसका साथै हामीले गरिरहेको कामले दुवैलाई नाम दियो, एउटा स्थान बनायो। एकअर्कासँग कहlले आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरह्यौँ’, अभिनेता आचार्यले भने।
 
यसैगरी अभिनेता श्रेष्ठले मिलेर काम गरेमा त्यसले सफलता दिने बताए। उमेरका हिसाबले ७५ वर्ष पुगेका अभिनेता श्रेष्ठले चलचित्रसहित विज्ञापनमा अझै सक्रिय भई काम गरिरहेका छन्। उनले कामका सिलसिलामा कहिले त्यसको लाभ–हानि हाबी हुन् नदिएको बताए।

उनले भने, ‘हामी कहिले पैसाको पछाडि लागेनौँ, काममै केन्द्रित भयौँ। त्यसले हामीलाई नाम र दाम दुवै दियो। फेरि दुवैको नाम र काम एउटै छ, त्यसकारण पनि हामीले सोच्नुपर्ने केही थिएन। हामीमा इमान्दारिता छ, सद्भाव छ, सदैव एकअर्काको राम्रो भएको हेर्न र सुन्न चाहन्छौँ, त्यसैले यति लामो समयसम्म मह जोडीका रुपमा यात्रा तय गर्न सकेका हौँ।’

उनले स्वास्थ्यले साथ दिएसम्म आफूहरू एकसाथ काम गरिरहने बताए। पछिल्लो समय दुवै जनाले एकसाथ चलचित्र ‘महापुरुष’ मा काम गरिरहेका थिए। त्यसपछि अभिनेता आचार्यले ‘महाजात्रा’, ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ मा अभिनय गरिसकेका छन्। यस्तै अभिनेता श्रेष्ठले पनि ‘पहाड’ र ‘परान’ नामक चलचित्रमा काम गरेका छन्। छुट्टिएर चलचित्रको छायाङ्कन गर्दा होस् वा भोजमा, जहाँ जाँदा पनि एकलाई देखेपछि अर्कालाई खोज्नु स्वाभाविक छ। ‘मलाई हरिजी खोइ भनेर सोध्नु भयो भने यही त छन् नी, म भित्रै छन् भनेर भन्ने गरेको छु। कार्यक्रममा मात्र होइन चलचित्रको छायाङ्कनमा पनि सोधिरहनु हुन्छ’, अभिनेता श्रेष्ठले भने।
 
उनी दुईको कम्पनी ‘मह सञ्चार’मा २०६० सालदेखि जोडिएका निर्देशक प्रदीप भट्टराई पारिवारिक सदस्य झैँ देखिन्छन्। सामान्य सहयोगीका रुपमा शृङ्खलामा काम गर्न जोडिएका निर्देशक भट्टराईले धेरै शृङ्खलामा मुख्यसहायक निर्देशक र केही शृङ्खलामा निर्देशक नै भएर काम गरे। चलचित्रकै सन्दर्भमा ‘शत्रु गते’ र ‘महापुरुष’ मा मह जोडीलाई निर्देशक भट्टराईले निर्देशन गरेका छन्।

‘उहाँ दुई मेरा लागि जीवित भगवान् झैँ हुनहुन्छ। उहाँहरूको कर्म जस्तो छ, व्यवहार पनि त्यस्तै छ। मलाई त कर्म सिकाउने गुरू नै उहाँहरू हुनहुन्छ, मैले जे भने पनि उहाँहरूका लागि शब्द कम नै हुन्छ, मलाई एउटा छोराकै रुपमा माया गर्नुहुन्छ’, निर्देशक भट्टराईले भने।

मह जोडी एकसाथ नदेखिँदा सधैँ प्रश्न गर्ने गरिएको निर्देशक भट्टराईले देखे/सुनेका छन्। टेली शृङ्खलामा काम गर्दा होस् वा चलचित्रमा दुई एकसाथ नदेखिँदा प्रश्न तेर्सिनु स्वाभाविक हो। र, उनले मह जोडीलाई ‘दुईमै एक र एकमै दुई’ देखेका छन्। जहाँ ‘म’ त्यहाँ ‘ह’ पनि हुने बुझाइ निर्देशक भट्टराईको छ। त्यसकारण मह जोडीलाई शीर्ष भूमिकामा लिएर गज्जबको चलचित्र बनाउने रहर उनको छ।

‘उहाँहरूको क्षमतासँग म नजिकदेखि परिचित छु, त्यसैले एउटा गज्जबको चलचित्र बनाउने रहर छ। कथा पनि सोचिरहेको छु, किनकी उहाँहरूप्रति दर्शकको अपेक्षा बढेको छ, म आफैँ पनि अभिनय गराउनकै लागि गराउने पक्षमा छैन। त्यसकारण उहाँहरूलाई पर्दामा देखाउन पाउँदा म पनि दर्शक झैँ खुसी हुन्छु’, निर्देशक भट्टराईले भने।

हास्य कलाकारका रुपमा चिनिएका मह जोडी अहिले आफूलाई फरक भूमिकामा प्रस्तुत गरिरहेका छन्। अभिनेता आचार्यले अभिनय गरेको ‘भूठान’ मा एक दृश्यमा मात्र हाँसेको देख्न पाइन्छ। ‘बलिदान’ पछि पूर्णतया गम्भीर भूमिकामा अभिनेता आचार्य प्रस्तुत भएका छन्। यसअगाडि अभिनेतामा हुने नवरसमध्ये हास्यरस हावी हुँदा उनीहरू हास्य कलाकारका रुपमा बढी प्रस्तुत भएका निर्देशक भट्टराईले बताए।

‘उनी दुई नै पूर्ण कलाकार छन्। हामीले शृङ्खलामै केही फरक र भिन्न काम गरेका छौँ। मैले उनहीरूमा अभिनेतामा हुने सबै गुणलाई देखेको थिएँ, त्यही भएर नै ‘महापुरुष’ चलचित्रमा केही भिन्न रुपमा प्रस्तुत गरेँ। अहिले दर्शकले पनि विस्तारै बुझ्दै हुनहुन्छ, उनीहरू सबै किसिमका भूमिका गर्नसक्ने लोकप्रिय एवं सर्वस्वीकार्य कलाकार हुनहुन्छ’, निर्देशक भट्टराईले भने।

गत वर्षमात्र मह जोडीले विदेश र नेपालमा ‘मह जात्रा’ गरेका थिएँ। आउँदो समयमा पनि सँगै काम गरी सहकार्यलाई निरन्तरता दिने पक्षमा उनीहरू छन्। छोटो समयमा नाता–सम्बन्ध टुट्ने अहिलेको जमानामा वरिष्ठ कलाकार श्रेष्ठ र आचार्यको दोस्ती र सहकार्यले ४५ वसन्त पार गर्नु एकअर्काप्रतिको इमान्दारिता र सम्मान नै हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad