अभिनेता अनुपविक्रम शाहीले ‘जार’का लागि आफूले अरु फिल्मभन्दा १० गुणा बढी मेहनेत गरेको दाबी गरेका छन्। फिल्ममा मुख्य भूमिकामा रहेका शाहीले यो फिल्मको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठूलो उपलब्धि रहेको बताए।
फिल्मको प्रचारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथिको फिल्ममा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको बताए।
‘यो फिल्मले मेरो लागि थप विशेष बोकेको छ। मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु,’ उनले भने, ‘जारको हर्षजीत पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु।’
सिक्किम र दार्जिलिङका स्थानीय दर्शकसँग नजिकबाट साक्षात हुन पाउँदा खुशी लागेको बताउँदै उनले गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन जार उपयुक्त विकल्प रहेको तर्क गरे।
निर्देशक फुर्वाछिरिङ लामाले जारले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको भन्दै गोर्खाली नयाँ पुस्तालाई नै आफ्नो फिल्म समर्पित गरिएकोले हेरेर साथ दिन आग्रह गरे। ‘यो फिल्म हामीले गोर्खालीकै लागि तयार गरेका हौँ, आइबी राईज्यूको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने कोशिश गरेका छौँ’, उनले भने ।
यस फिल्ममा अनुपविक्रमसँगै सौगात मल्ल र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ। यो फिल्म आगामी वैशाख २६ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया