कला


प्रिमियर शोमा ‘जार’लाई राजनीतिज्ञदेखि चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया

प्रिमियर शोमा ‘जार’लाई राजनीतिज्ञदेखि चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १३:१३, काठमाडौँ

वैशाख २६ बाट प्रदर्शन हुने फिल्म ‘जार’को राजधानीमा भव्य प्रिमियर गरिएको छ। नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार ललितपुरको लबिम महलस्थित क्यूएफएक्समा हलमा प्रिमियर गरिएको हो।

मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमी, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारको बाक्लो उपस्थिति थियो।
 
जहाँ अधिकांशले फिल्म हेरिसकेपछि सकरात्मक प्रतिक्रिया दिएका छन्। चलचित्रमा प्रयोग गरिएको भीएफएक्स र प्रयोग गरिएका गीतसंगीतको खुलेर तारिफ भएको छ।

पूर्वप्रधानमन्त्री भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको चलचित्र ‘जार’ पूर्ण मौलिक चलचित्र बनेको बताए। उनले त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि यो चलचित्र हेर्न पनि सुझाव दिए। 

‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गरेका छन्। नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि चलचित्र ‘जार’ हेर्नुपर्छ भन्ने मलाई लागेको छ। आफूले आईएसीमा पढेको इन्द्रबहादुर राईको जार कथालाई आज चलचित्रमा हेर्न पाउँदा निकै आनन्द आयो,’ उनले भने।   

भट्टराईले गायिका एवम् संगीतकार झुमा लिम्बुको गीत संगीतको खुलेर प्रशंसा गरे। उनले यो चलचित्रलाई राज्यले कर छुट गर्नु पर्ने बताए।
अभिनेत्री मनिषा कोइरालाले पनि ‘जार’ नेपाली चलचित्रको बढ्दो स्तरको प्रमाण भएको सुनाइन्। 

उनले भनिन्, ‘हामीले पछिल्लो समय उत्कृष्ट चलचित्र दिएका छौँ र ‘जार’ त्यसैको निरन्तरता हो। यसले हाम्रो इतिहास र साहित्यलाई चलचित्रको माध्यमबाट जीवन्त बनाएको छ। प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ।’

यस्तै, ललितपुरका सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई एकदम फरक र पूर्ण मौलिक चलचित्र लागेको बताए। राम्रो काम गरेकोमा जारको टिमलाई बधाई दिँदै राम्रो चलचित्र निर्माणको उदाहरण ‘जार’ भएको उनले सुनाए। ‍

अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली फिल्मको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताउँदा अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको दृढ आत्मविश्वासको प्रशंसा गरिन्।

नेतृ हिसिला यामीले चलचित्र जार अहिलेको समसामयिक सन्दर्भको सशक्त चलचित्र भएको बताइन्। अहिले आर्थिक राजनीतिक समस्या नै नेपाली युवा युवतीको घाँटीमा जार बनेर झुन्डिएको उनले बताइन्। 

निर्देशक दिपेन्द्र लामाले ‘जार’ हेरेपछि निर्देशकको कलात्मक उत्कृष्टता र नेपाली सिनेमामा नयाँ उचाइ भएको प्रतिक्रिया दिए।

 ‘पेन्टिङजस्तो फ्रेम, जीवन्त साउन्ड डिजाइन, मौलिक संगीत, गहिरो अभिनय, यी आँखा र कानले महसुस गर्ने पाटोहरू त प्रशंसनीय छन् नै, त्यसबाहेक फिल्ममा मुटु र दिमाग हल्लाउने सामर्थ्य छ। जारले नेपाली फिल्मको कलात्मक उचाइ अग्लो बनाउन एउटा महत्त्वपूर्ण इट्टा थप्ने काम गरेको छ । यसअघि साम्बाला र अहिले जारले भित्रैदेखि सन्तुष्टि दिएको छ। एउटा लोभलाग्दो र ईर्ष्यालाग्दो काम हो जार,’ उनले भने।

प्रिमियरमा उपस्थित दर्शकले निर्देशक लामा र कलाकारहरु सौगात मल्ल, अनुपविक्रम शाही तथा गितान्जली थापाको सशक्त अभिनयको खुलेर प्रशंसा गरे।

प्रिमियरपछि अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि कल्पना गरेको चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए। 

उनले भने, ‘एकदमै नछुटाउने खालको चलचित्र बनेको छ। यो मेरो २६–२७ वर्ष देखिको एउटा कल्पना थियो। कतिपटक मलाई यस्तोसम्म भयो कि मैले यो फिल्म गरिसके जस्तो लाग्थ्यो। त्यति मन परेको थियो । कुनै दिन गर्छु भनेर कुरेर बसेको थिए। धेरै ६–७ वर्ष देखि नै प्रयास गर्दा भएको थिए । तर अहिले आएर बन्न लेखेको रहेछ। यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुन्छ। मैले पाएँ। खुसी छु।’

त्यस्तै, अर्का अभिनेता अनुपविक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए। 

उनले भने, ‘इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको छौँ। हजुरहरुले साथ र सहयोग गर्नुहुने भन्ने पूर्णरुपमा विश्वास व्यक्त गर्दछु।’

‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो।साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा  ‘जार’लाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। 

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुँदैछ। यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad