जेठ २ गते प्रदर्शन हुने ‘हेल्लो काँशीराम’का निर्देशक रिम विश्वकर्माले निर्देशन र लेखनमा अर्को फिल्म ‘राजकुमारी’ बनाउने घोषणा गरिएको छ।
रेडलाइन्स फिल्म प्रालिको ब्यानरमा निर्माण हुने यस चलचत्रिमा पीबी थापाको लगानी रहनेछ।
निर्माता थापाले यो चलचित्रको कथा र यसले उठान गर्ने विषयले गहिरो रूपमा प्रभाव पारेकाले लगानी गर्न तयार भएको जनाए।
फिल्मको बजेट करिब ५ करोड रुपैयाँ हुनेछ।
पुराना निर्देशक निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’का रूपमा लिएको बताए।
फिल्मको मुख्य पात्र राजकुमारीको भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी छ।
निर्माण टिमले केही चर्चित अभिनेत्रीसँग कुराकानी गरिरहेको भए पनि मुख्य अभिनेत्री को हुने भन्ने विषय टुंगोमा नपुगेको निर्देशक विश्वकर्माले बताए।
अन्य कलाकार र प्राविधिक टोलीको चयन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।
फिल्मको अधिकांश छायांकन काठमाडौँमा हुनेछ भने बाँकी दृश्य मुस्ताङ, पोखरालगायत क्षेत्रमा पनि खिच्ने तयारी छ।
निर्देशक विश्वकर्माका अनुसार आगामी भदौसम्म छायांकन सुरु हुनेछ।
चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म फाइनल गरिएको छैन।
टाइटलअनुसार चलचित्र राजपरिवारसँग नजिक रहेर बन्न सक्ने अनुमान गर्न सकिन्छ।
तर, निर्माण टिमले यसको कथावस्तु पूर्ण रूपमा खुलाएको छैन।
निर्माण टिमले दर्शकलाई सस्पेन्समा राख्दै सबै विवरण चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
निर्देशक विश्वकर्माको चलचित्र ‘हेल्लो काँशीराम’ आगामी जेठ २ गते प्रदर्शनमा आउँदैछ।
Shares

प्रतिक्रिया