अभिनेत्री केकी अधिकारीलाई निर्देशक दीपेन्द्र के खनालसँग काम गर्न ठूलो रहर थियो। दीपेन्द्रले बनाएका फिल्म पशुपति प्रसाद होस् वा आमा। यी फिल्महरू हेरेपछि केकीलाई लाग्थ्यो, ‘दीपेन्द्रजीसँग सहकार्य गर्ने दिन कहिले आउला?’
धेरै वर्षपछि फिल्म ‘के घर के डेरा: घर नं २’ ले केकी र दीपेन्द्रबीचको सहकार्य जुराइदिएको छ। किनकि यस फिल्ममा केकीले पहिलोपटक दीपेन्द्रको निर्देशनमा काम गर्ने मौका पाएकी छिन्।
‘दीपेन्द्रजीको फिल्मको म प्रशंसक हुँ। उहाँसँग पहिल्यैदेखि काम गर्ने रहर थियो। सँगै सहकार्य गर्ने दिन कहिले आउला भन्ने हुन्थ्यो। जेहोस् यो पटक भने सँगै काम गर्न जुरेको रहेछ,’ उनले भनिन्।
गतवर्ष केकीका लागि निकै फलदायी रह्यो। उनको लगानी तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ बक्सअफिसमा सफल भयो। हुन त सुरुमा यो फिल्म चल्ला भन्ने धेरैलाई आश थिएन। एक त फरक विषयवस्तु, अर्को मुख्य पात्र महिला। तर, यो फिल्म चलेसँगै फिल्मक्षेत्रमा बनाइएका धेरै भाष्य तोडिए। फिल्म चलाउन स्टार चाहिनेदेखि महिला कलाकारले लिड गरेको फिल्मले व्यापार गर्दैनन् भन्ने सोचलाई गलत साबित गरिदियो।
फिल्म सफल भएसँगै केकीलाई पनि थुप्रै फिल्मका प्रस्तावहरू आए। जति पनि फिल्मका अफर आए, ती फिल्मको केन्द्रमा महिला थिए। तर, ती बोल्ड र बलियो पात्रमा बोक्सीको घरकै क्यारेक्टरको फ्लेबर आउँथ्यो। जसकारण ती दर्जनबढी फिल्मका प्रस्ताव केकीले अस्विकार गरिन्।
‘कलाकारका हिसाबले नयाँ चिजले तानिहाल्छ। तर बोक्सीको घरपछि जति पनि चलचित्रको अप्रोच आए, ती सबै त्यसै पात्रसँग धेरै हदसम्म मिल्दोजुल्दो थिए। मलाई चाहिँ चलचित्रमा सानो क्यारेक्टर पनि मिलेर आउँदा बलियो हुन्छ जस्तो लाग्छ,’ केकीले भनिन्, ‘परिवर्तनकारी क्यारेक्टरको पात्र बढी आइसकेपछि यो त मैले भर्खर बोक्सीको घरमा गरिसकेँ। मैले अलिकति बेग्लै गर्नुपर्यो नि भन्ने भयो। लिड कलाकार हुँदम चलचित्रलाई आफ्नो काँधमा बोक्न त पाइन्छ। तर, त्यति मात्रै सबै चिज हुँदैन रहेछ, जुन मैले महसुस गरेँ।’
आफूसहित दर्शकलाई पनि एउटै फ्लेबर आउँदा मजा नआउने कारण थुप्रै स्क्रिप्ट थाती राखेको उनको दाबी छ। सोहीबीच नौलो कथा लागेकै कारण ‘के घर के डेरा: घर नं २’ छनोट गरेको सुनाउँछिन् उनी।
‘म आफैँपनि साहित्य अनुरागी हुँ। जहिल्यै पनि हाम्रो चलचित्रमा साहित्यसँग कनेक्सन नभएको र डाइलगहरूमा मिठास नै नआएको महसुस हुन्थ्यो। साहित्य लेखनबाट फिल्म अलग भएको अवस्थामा बुद्धिसागरजीको लेखनको कथा नौलो लाग्यो। कुनै पनि चिजलाई सरल तरिकाले व्याख्या गर्ने उहाँको शैली छ। त्यो चिज चाहिँ दीपेन्द्र के खनालसँग मिसिएर आएको छ। त्यसले यस्तो खालको वर्ल्ड क्रिएट गरेको छ, जसको हिस्सा बन्ने अवसर कसैले पनि गुमाउँदैन थियो होला,’ उनले सुनाइन्।
प्रायजसो केकी फिल्मको स्क्रिप्ट आउँदा दुईतीन दिन लगाएर पढ्छिन्। तर, यस फिल्मको स्क्रिप्ट २ घण्टामै पढेर सकाइन्। कथा निकै रोचक भएकाले नरोकिई पढेको उनको भनाइ छ।
‘प्रत्येक क्यारेक्टर जसरी लेखिएको छ, छुट्टाछुट्टै कथालाई एउटा मालामा उनिएको छ, सबैपात्र लोभलाग्दो छ। कति ठाउँमा मैले आफूलाई पाएँ। मसँग आफैँ भाडामा पनि बसेको र घर भएको पनि अनुभव छ। सबै दर्शकले आफूलाई पाउनुहुनेछ,’ उनले सुनाइन्।
केकीका अनुसार डेरा होस् वा घर दुवैमा बस्नेहरूको आ-आफ्नो दु:ख छन्। यस फिल्मले काठमाडौँमा घर हुने र डेरामा बस्ने दुवैको कथा भन्छ।
भन्छिन्, ‘डेरामा बस्नुलाई चाहिँ संघर्षसँग जोड्छौँ। घर हुनुलाई एक किसिमको सफलता प्राप्त गरिसकेको जस्तो सोच्छौँ। हामी आम नेपालीको सपना आफू जहाँ बसिरहेका छौँ, त्यहाँ घर होस् जस्तो लाग्छ। जहाँ कर्म गर्न सकियोस्। र, हरेक महिना भाडा तिर्न नपरोस्। जुन साझा सपना हो। मसँग डेरा बसेको लामो अनुभव छ। घर हुँदा कस्तो होला, संघर्ष नै सकिन्छ जस्तो लाग्थ्यो। खासमा संघर्ष नसकिँदो रहेछ। हामी मान्छेलाई केही चिजमा पनि आत्मसन्तुष्टि मिल्दैन। घरको चाहना पूरा भएपछि अर्को चिजले तान्छ।’
निर्देशक र अन्य कलाकारसँग पहिलोपल्ट काम गरे पनि केकीले आर्यन सिग्देलसँग एकसाथ काम गरिसकेकी छिन्। आइ एम सरी र पुनर्जन्म फिल्ममा सहकार्य गरेका उनीहरू १० वर्षपछि फेरि स्क्रिन सेयर गर्दैछन्। आर्यनलाई निकै परिपक्क पाएको सुनाउँछिन् केकी।
‘१० वर्षमा एउटा जेनेरेसन नै ग्याप हुन्छ। उहाँलाई अझै परिपक्क पाएँ। माया गरेको मान्छेसँग बिहे भएपछि बच्चाबच्ची भएपछि बढी जिम्मेवार हुन्छ, त्यो चलचित्रमा देखिएजस्तो फिल भयो। आइ एम सरीमा रोमान्टिक र लबर ब्वइ हुनुहुन्थ्यो। अझ परिपक्क पाएँ,’ केकी भन्छिन्।
निर्देशक खनालसँग काम गर्दा निकै सहज लागेको बताउँछिन् उनी। खनालको निर्देशनमा काम गर्दा सेटमा पुगेको जस्तो नलागेको उनको अनुभव छ।
‘नयाँ प्रयोगलाई दर्शकले स्वीकार्न थाल्नु भएको छ’
केकीका अनुसार पहिले फिल्ममा महिलालाई पीडा भोगिरहेको र संघर्ष गरिरहेको देखाइन्थ्यो। अन्त्यमा त्यसबाट उम्किन पुरुषकै सहारा लिइन्थ्यो। जुन चित्त नबुझेर नै महिलाकेन्द्रित सिनेमामा लगानी गर्न पुगेको उनको निचोड छ।
तर, अहिले भने फिल्मक्षेत्रमा निकै परिवर्तन भइसकेको केकीलाई लाग्छ।
‘अहिले विभिन्न किसिमका कथाहरू चल्न थालेका छन्। नयाँ प्रयोगलाई दर्शकले स्वीकार्न थाल्नु भएको छ। त्यसमा माटोको सुगन्ध छ, त्यो आफ्नै कथाजस्तो लाग्छ भने त्यो लिडमा को छ वा अनुहार कस्तो छ भन्नेसँग त्यति लगाव छैन। जुनसुकै समुदायबाट आएको फेस स्वीकार्छन्। समाज पनि परिवर्तन भएको र कथा पनि त्यही अनुसारले बनिरहेको छ जस्तो भान हुन्छ,’ उनले भनिन्।
जसले महिलाका कथाहरूमा पनि लगानी गर्नेहरू बढिरहेको उनलाई लाग्छ। ‘बोक्सीको घर’ सफल भएसँगै महिलालाई केन्द्रमा राखेर फिल्महरूको अफर निकै आएको सुनाउँछिन् उनी।
‘बोक्सीको घरपछाडि १०/२० वटा स्क्रिप्ट पढेँ होला। जुन महिलालाई केन्द्रमा राखेर बलियो क्रान्तिकारी तरिकाले लेखिएका थिए। जुन मैले यसअघि १५ वर्षको करिअरमा कहिले पनि देखेको थिइनँ। छिटफुट आउँथ्यो तर नगन्य रूपमा। त्यो आफैमा ठूलो परिवर्तन हो किजस्तो लाग्छ। एकदमै खुसी लाग्छ। त्यसको श्रेय धेरैजनाले बोक्सीको घरलाई दिनुहुन्छ। यत्रो वर्षको स्टेपले बोक्सीको घरले क्रेडिट पायो होला। निर्माता र कलाकारका हिसाबले म खुसी छु। तर त्यसमा धेरै चिजले भूमिका खेलेको छ,’ उनी भन्छिन्।
सहज जीवन बाँचिरहेको मान्छे निर्माता बन्दा केकीलाई बढी प्रेसर फिल भएछ। जसकारण यो पाटो आफ्नो लागि नभएको समेत उनले महसुस गरिन्। तर, लगानी गरेको फिल्म सफल भएपछि केकीलाई जिम्मेवारी बोध भइरहेको छ।
‘जब एक कसिमिको चलचित्रले सफलता प्राप्त गर्छ, आफूले सोचेको जस्तो कथा र सोचेको जस्तो पात्र निर्माण गर्ने स्वतन्त्रता हुन्छ, अझ सफल भइसकेपछि जिम्मेवारी बोध हुन्छ। फिमेलड्रिभन फिल्म सफल हुँदा तपाईं पछाडि हट्न पाउनुहुन्न है! अझै यस्ता भनिनुपर्ने सामाजिक कथा ल्याउनपर्छ भनेको फिल हुन्छ। जसले आफूलाई थप जिम्मेवार पाएको छु,’ उनले सुनाइन्।
यो वर्ष केकीले सामाजिक विषयवस्तुमा नयाँ फिल्म बनाउँदैछिन्। जुन फिल्मबाट उनका भाइ विम्ब अधिकारी डेब्यु गर्दैछन्।
आफूले समय लिएर निर्माणमा लागिरहेको उनी सुनाउँछिन्। निर्माणबाहेक लेखन र निर्देशनमा पनि उनको रुचि छ।
‘निर्देशनमा रुचि अत्याधिक नै छ। त्यो अनुसार आफूलाई ढाल्न पनि कोसिस गरिरहेकी छु। सुटिङ भएको अवस्थामा आफूलाई मन परेको डारेक्टरको सेटमा जाने गरेको छु। जिरो फेजबाट कसरी लेखिन्छ, आफ्नो चित्त बुझेको मान्छेसँग संगत गरिरहेको छु। तर, अहिले नै जम्प गर्न सक्ने अवस्थामा छैन। अलि समय चाहिँ लिनुपर्छ,’ केकी भन्छिन्।
जेठ २ गतेबाट ‘के घर के डेरा: घर नं २’ सिनेमाहलमा लाग्दैछ। एक वर्षपछि हलमा फर्किन पाउँदा निकै उत्साहित छिन् केकी। फिल्मको कथालाई लिएर कन्फिडेन्ट देखिइन् केकी।
भनिन्, ‘अहिले त्यस्तो प्रेसर फिल हुन्न। जस्तो परिणाम आउँछ, त्यो चिजलाई स्वीकार्ने फेजमा पनि पुगिसकेको छु। धेरै असफलता भोगिसकेँ, सफलता पनि देखेँ। न असफलताले धेरै निराश बनाउँछ। त्यो फेजबाट म चेन्ज भइसकेको छु। यो सफल भए पनि नभए पनि मैलै जम्प गर्नुपर्छ भन्ने मानसिकतामा पुगिरहेको छु। यस फिल्मलाई दर्शकले मन पराउनुहुन्छ भन्नेमा कन्फिडेन्ट छु।’
Shares

प्रतिक्रिया