कला


अस्कर मनोनीत निर्देशक एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’ को तारिफ

अस्कर मनोनीत निर्देशक एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’ को तारिफ

नेपालखबर
जेठ १२, २०८२ सोमबार १४:५०, काठमाडौँ

प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले फिल्म ‘ऊनको स्वीटर’ हेरेका छन्। हालै नेपाल भ्रमणका क्रममा फिल्म हेरेका उनले  फिल्मप्रति विशेष प्रतिक्रिया दिएका छन्।

उनले यस चलचित्रलाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन्।

एरिक भ्यालीले भने, ‘म नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुसी छु। मैले भर्खरै हेरेको चलचित्र ‘ऊनको स्वीटर’ ले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ। मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ तर यस चलचित्रमा त्यो पाइनँ। यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको चलचित्र हो। यसमा दृश्यांकनदेखि कलाकारको अभिनयसम्म सबै पक्ष प्रशंसनीय छन्।’

भ्यालीले ‘ऊनको स्वीटर’ जस्ता चलचित्रमार्फत नेपाली सिनेमा अब नयाँ दृष्टिकोण र गहिरो विषयवस्तुमा प्रवेश गरिरहेको बताए।

नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलजस्ता कलाकारको अभिनय छ। 

दर्शकहरूले कलाकारको दमदार अभिनय, यथार्थपरक संवाद शैली, र प्रभावशाली निर्देशनलाई चलचित्रको प्रमुख विशेषता मानेका छन्। सामाजिक सञ्जालमा स्वतन्त्र समीक्षकहरूबाट पनि चलचित्रले सकारात्मक चर्चा पाइरहेको छ। निर्माता संस्था आर्टमाण्डूले चलचित्रले प्रदर्शनको दुई हप्तामा मात्र ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ, जुन हालसम्म निकै माथि पुगेको अनुमान गरिएको छ।

एरिक भ्याली एक जना यस्ता विदेशी स्रष्टा हुन्, जसले नेपाललाई आफ्नो दोस्रो घरजस्तै मानेका छन्। १८ वर्षको उमेरमा अफगानिस्तान भ्रमणका क्रममा भिसा सकिएपछि भारत हुँदै नेपाल आएका उनी नेपालका अरुण, तमोर, डोल्पा, बझाङ र बाजुराजस्ता दुर्गम क्षेत्रको गहिरो अध्ययनमा लागे। नेपाली भाषा सिक्दै उनले यहाँको जीवनशैली, स्थानीय परम्परा र सांस्कृतिक विविधतालाई बुझ्ने प्रयास गरे।

चर्चित चलचित्र ‘क्याराभान’ (१९९९) ले नेपालको डोल्पा क्षेत्रको जीवनशैली, प्राकृतिक सङ्घर्ष र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेको थियो। उक्त चलचित्रले अस्करको ७२औँ संस्करणमा समेत मनोनयन प्राप्त गरेको थियो। भ्यालीको दृष्टिकोणमा नेपाल केवल प्राकृतिक सौन्दर्यको भूमि होइन, सांस्कृतिक गहिराइले भरिएको समाज हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad