अमेरिकाको मेरिल्यान्डमा हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको छ।
गत वर्ष बर्लिन फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धा रहेको मिन बहादुर भाम निर्देशित ‘शाम्बाला’ देखि दीपक रौनियार निर्देशित ‘पूजा सर: राजागञ्ज’ र विनोद पौडेल निर्देशित ‘भूठान’ लगायतका चलचित्र प्रदर्शन हुनेछन्।
ओपनिङ फिल्मको रुपमा ‘शाम्बाला’ प्रदर्शन हुनेछ। त्यसैगरि, ‘पूजा सर: राजागञ्ज’ को प्रदर्शनसँगै महोत्सवको समापन गरिनेछ। त्यस्तै, ‘भूठान’ को रेड कार्पेट सहित निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्यहरुको बिशेष प्रदर्शन हुनेछ।
जुन २६ देखि २९ सम्म हुने महोत्सवमा नेपालसहित अमेरिका, इरान, मेक्सिको, साउदीसहित १५ देशका कथानक, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ फिल्म प्रदर्शन हुनेछन्।
महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ। ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ।
महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरुको छनोट समितिले चलचित्रहरू छनोट गरेको हो।
ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङस् द रेस फोर क्रिटिकल मिनिरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरि दुई फिल्म प्रदर्शन हुनेछन्।
सुविना श्रेष्ठ निर्देशित वृत्तचित्र ‘देवी’ र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि महोत्सवमा प्रदर्शन हुनेछन्। प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको फिल्म ‘अ क्रिष्टमस बोनस’ लगायतका फिल्म डीएमभी–क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन्।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। पुरस्कार छनोटको लागि निर्णायक मण्डलको नाम भने केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ।
महोत्सव अवधिमा चलचित्र र संस्कृतिबारे प्यानल छलफलका साथै र चलचित्र निर्माणबारे ‘मास्टर क्लास’ पनि हुनेछ।
महोत्सव निर्देशक युवाकर राजकर्णिकारले यो वर्ष महोत्सवमा उत्कृष्ट फिल्म ल्याउन पाउँदा खुसी लागेको बताए।
Shares

प्रतिक्रिया