फिल्म ‘द ब्ल्यु लाइट’मा अर्पण थापा अनुबन्ध भएका छन्।
केही दिनअघि घोषणा गरिएको फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्।

यसअघि फिल्ममा अभिनेत्री बेनिशा हमाल अनुबन्ध भइसकेकी छन्।
‘द ब्ल्यु लाइट’ बलिराम चौहानले निर्देशन गर्नेछन्।
चौहान अहिलेको प्रतीक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन्। चौहानको यो डेब्यु निर्देशन हो।
साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुन लागेको चलचित्रको शीर्षमध्येको एक भूमिकामा थापालाई मंगलबार औपचारिक रूपमा अनुबन्ध गरिएको निर्माण टिमले जनाएको छ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यु लाइट’को को-प्रोड्युसरका रूपमा रमन ग्रे रहनेछन्।
जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यु लाइट’ फिल्म नरेन्द्र मैनालीले खिच्नेछन्।
गत मंगलबार सार्वजनिक गरिएको थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएको देख्न सकिन्छ।
पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ। जुङरुङ्ग कपाल तथा विक्षिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ।

यद्यपि पोस्टरले पूर्ण कथावस्तु प्रस्ट पार्दैन।
निर्देशक चौहानले चलचित्रको कथावस्तु र अन्य कलाकारहरूको विवरण हाललाई गोप्य राखेका छन्।
उनले चाँडै कलाकारको पूरै लाइनअप सार्वजनिक गरिने बताएका छन्।
‘द ब्ल्यु लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्माणपक्षले जनाएको छ।
Shares

प्रतिक्रिया