काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औं संस्करण सुरू भएको छ। जेरेमी पावर रेगेम्बलद्वारा निर्देशित ‘बिट्विन द माउन्टेन एण्ड द स्काइ’ प्रदर्शनसँगै किम्फ सुरू भएकफ हो।
सिएनएन हिरो जितेकी समाजसेवी म्यागी डोयनको जीवनकथामा आधारित यो डकुमेन्ट्री हाल संयुक्त राष्ट्र अमेरिकामा प्रदर्शनरत छ। र नेपालमै पहिलो चोटि हेर्ने मौका किम्फले जुराएको छ।
पाँच दिने महोत्सवमा संसारभरका ३० देशबाट ६५ भन्दा बढी चलचित्र थमेलस्थित क्यूएफएक्स छाया सेन्टर, एस्ट्रेक हल र जीएए हलमा एकसाथ आयोजना हुनेछ।
‘हामी यी चलचित्र मार्फत फरक संस्कृतिलाई एक ठाँउमा ल्याएर एक आपसमा जोड्न चाहन्छौं,’ किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूले भनिन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि किम्फप्रति बोर्डको प्रतिबद्धता व्यक्त गर्दै चलचित्र संस्कृति आदानप्रदानको माध्यम बनेको बताए।
कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाको उपस्थिति पनि थियो। उनले किम्फ जस्ता चलचित्र महोत्सवको महत्वमा प्रकाश पार्दै, नेपाली चलचित्र उद्योगको समग्र विकासमा सहयोग पुर्याउने धारणा राखिन्।
उद्घाटन समारोह जुरी सदस्यहरूद्वारा परम्परागत घन बजाएर सम्पन्न गरिएको थियो। उद्घाटन कार्यक्रम अघि, काठमाडौं डक ल्याब अन्तर्गत दक्षिण एशियाका ९ वृत्तचित्रहरूको प्रत्यक्ष पिचिङ सेसन सम्पन्न भयो।
यी ९ वृत्तचित्रमध्ये उत्कृष्ट तीनवटा छान्ने जिम्मेवारी निर्देशक तथा उद्यमी भास्कर ढुंगाना, अलायन्स फ्राँसेस काठमाडौंकी लुसी डे बारोस, कथाहरूकी कार्यकारी निर्देशक स्मृति बस्नेत र निर्देशक टिन डिर्डामल सहितको निर्णायक टोलीले लिएका छन्। डक ल्याबका प्रशिक्षकस् क्यानडाकी चलचित्रकर्मी अनाम अब्बास, भुटानी निर्देशक अरुण भट्टराई र भारतीय चलचित्रकर्मी रिन्तु थोमसले पनि मूल्याङ्कनमा सहयोग पुर्याउने छन्।
संसारभरका फरक कथालाई ठाँउ दिदैँ आएको यो महोत्सवले यसपालि पनि खण्डित आवाजलाई ध्यानमा राखेर महोत्सवको उदेश्यलाई निरन्तरता दिनेछ।
Shares

प्रतिक्रिया