फिल्म ‘माइतीघर’का लागि यसको शीर्ष गीतको छायांकन गरिएको छ। बाग्लुङको कालिका मन्दिरमा यो गीतको सुटिङ गरिएको हो।
गीतको भिडिओमा फिल्मका अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाले नृत्य गरेका छन्। उनीहरुसँगै यो गीतमा ५० बढी कोरसलाई समेत फिचरिङ गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए।

५९ वर्ष अगाडि फिल्म ‘माइतीघर’मा समावेश ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीत आज पनि दर्शकहरुको मुखमा झुन्डिएको छ। सोही गीतलाई रोहितले आफ्नो फिल्म ‘माइतीघर’मा समावेश गरेका हुन्।
सार्वजनिक गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र जयदेवको संगीत छ। गीतको भिडिओलाई कमल राइले कोरियोग्राफी गरेका हुन्।
फिल्म ‘माइतीघर’लाई दसैँको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ। फिल्म ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरिरहेका छन्। फिल्ममा तामाङ संस्कृतिलाई पनि समावेश गरिएको छ।
जुन फिल्मको एक महत्वपूर्ण हिस्सा हो। यो फिल्मको छायांकन म्याग्दीको ताकम गाउँ र धारापानी गाउँमा गरिएको छ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहितसहित रविन शेरचन र धीरज तामाङको लगानी छ। फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।
यस फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ।
Shares

प्रतिक्रिया