कला


प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी

प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १९:४०, काठमाडौँ

विश्व वातावरण दिवसको अवसर पारेर तारागाउँ कल्चरल सेन्टरमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ।

वातावरणीय चेतना र समकालीन कलाको प्रभावकारी संयोजनका लागि काम गर्दै आएको सगरमाथा नेक्स्टले सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरेको प्रदर्शनीलाई ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा। अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन्। 

लोखान्डवालाले विश्वव्यापी पारिस्थितीको आवश्यकतालाई मध्यनजर गर्दै प्रदर्शनी आयोजना गरिएको जानकारी दिइन्। उनका अनुसार प्रदर्शनीमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गरिएको छ।  

प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति दिएको थियो। शरिरमा रातो माटो पोतेर भुमिसँग साक्षतकार गरिएको प्रदर्शनीले मानव र माटोको सम्बन्धलाई उजागर गरेको थियो। प्रदर्शनीको मूल अवधारणा प्रसिद्ध उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ विचारमा आधारित रहेको थियो।  

विश्व औसतभन्दा झण्डै दोब्बर गतिको तापक्रम वृद्धिको सामना गरिरहेको हिमालय क्षेत्रको यथार्थमाथि केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराएको छ।   

प्रदर्शनीमा १२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूले आ–आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय संकटमाथि विविध दृष्टिकोण प्रस्तुत गरेका छन्। स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाएको छ।  

उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा प्रस्तुत गरेको छ।  

उत्सा हजारिकाको ‘यन्त्र–ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ जीवन दिने प्रयास गर्नेछ।   

मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गरेको छ। 

त्यस्तै, समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ले शहरीकरणबीच हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनि मार्फत प्रतिविम्वित गरेको छ।   

अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीनवटा फोटोग्राफिक श्रृंखलामार्फत प्रस्तुत गरेका छन्।   

मोनिका उर्सिना जेगरको ‘लिक्विड टाइम’ले पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गरेको छ। 

जोआना मोलको ‘४००४’ ले माइक्रोचिप निर्माण प्रक्रियालाई कीराको जनसंख्यामा आएको गिरावटसँग जोडेर डिजिटल रुपमा देखाइएको छ। 

समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्बिर र चलचित्रलाई क्रिस जोर्डनले उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन्।   

सौर्गङ्गा दर्शनधारीले नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलालाई खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोडेर प्रस्तुत गरिएको छ।  

साथै, रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स् एण्ड को सोनिक मार्फत साउन्ड इन्स्टलेसन गर्दै वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गरेका छन्।  

प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेको छ।

तीन महिनासम्म चल्ने प्रदर्शनी अवलोकन गर्न विद्यार्थीका लागि २ सय र अन्यका लागि ३ सय तोकिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad