प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार (२० जेठ) मा बबरमहलस्थित नेपाल आर्टक काउन्सिल पुगेका थिए। उद्देश्य थियो, ९ जेठदेखि त्यहाँ त्यहाँ जारी हरिप्रसाद शर्मा (८८ वर्ष) का चित्रहरूको प्रदर्शनीको अवलोकन।
त्यहाँ प्रदर्शनीमा राखिएका चित्रहरूको अवलोकनपछि प्रम ओलीले लेखे, ‘श्री हरिप्रसाद शर्माज्यूको जीवन्त चित्रले समग्र नेपालको इतिहास स्मरण गरायो। चित्रकला सुन्दर छन्, विषयवस्तु, रङ संयोजन र परिकल्पनाको उचित र अद्वितीय संयोजन देखिन्छन्।’
हस्ताक्षर पुस्तिकामा प्रधानमन्त्री ओलीले लेखेजस्तै, प्रदर्शनमा राखिएका चित्रहरूले ऐतिहासिक नेपालको सांस्कृतिक–धार्मिक–राजनीतिक स्थितिलाई गज्जबसँग समेटेका छन्।
राजा मानदेवकालीन चित्र र अंशुवर्माले निर्माण गरेको भव्य कैलाशकूट भवन (दरबार) को चित्रमार्फत प्रदर्शनीमा लिच्छवीकालीन नेपाल देख्न सकिन्छ।
मल्लकालका प्रतापी राजा प्रताप मल्लका चित्रहरू त त्यहाँ छँदै छन्, पृथ्वीनारायण शाहको काठमाडौँ कब्जादेखि मल्ल राजाहरूको पतन लगायतका जीवन्त चित्र प्रदर्शनीमा राखिएका छन्।
शर्माले कोरेका राणाकालीन नेपालको जीवन्त चित्रहरू पनि प्रदर्शनीमा छन्। कोतपर्व, जंगबहादुर राणाको बेलायत भ्रमणदेखि राणाकालीन चाकरी प्रथालाई झल्काउने सुन्दर चित्रहरू प्रदर्शनीमा छन्। यसबाहेक काठमाडौँ र नेपाली जनजीवन झल्काउने सांस्कृतिक तस्वीरहरू पनि प्रदर्शनीमा राखिएका छन्।
कलामा कोतपर्व
कलाकार शर्माले कोरेका चित्रहरू सिर्फ उनको कल्पनाका उपज मात्र होइनन्। अर्थशास्त्रका प्राध्यापकसमेत रहेका उनका पुत्र डा विष्णुप्रसाद शर्माका भनाइमा, प्रत्येक ऐतिहासिक चित्रहरू तयार पार्ने क्रममा लामो अध्ययन–अनुसन्धान गर्ने गरिएको छ।
‘बुद्ध जन्मस्थल लुम्बिनीमा सम्राट अशोकले स्तम्भ गाड्दै गर्दाको चित्र बनाइनुअघि अध्ययन गर्नमात्र चार वर्ष लाग्यो, यसको अनुसन्धानमा म आफैपनि संलग्न थिएँ’ उनले डा शर्माले भने, ‘अशोक स्तम्भ भारतदेखि नै भैँसीले तान्ने गाडामा ल्याएर लुम्बिनीमा स्थापना गरिएको रहेछ। यो सबै दृश्य एउटै चित्रमा समेटिएको छ।’
सो चित्र कोर्नुअघि कलाकार शर्मा आफै लुम्बिनीसमेत पुगेका थिए। लुम्बिनीबाट फर्केपछि क्यानभासमा चित्र कोर्नमात्र उनले ११ महिनाको समय खर्चेका थिए। यही कारण शर्मा परिवारले सबैभन्दा महत्त्वपूर्ण र महँगो अशोकस्तम्भ स्थापना गरिँदै गर्दाको चित्रलाई मानेको छ।

तिब्बतमा स्तुपा र चित्रका लागि तिब्बत प्रस्थान गर्नुअघिको बिदाइ दृश्य, पृथ्वीनारायण शाहले इन्द्रजात्रा पर्वको अवसर पारेर गरिएको काठमाडौँमाथिको आक्रमण, आक्रमणमा सफलतापछि यहाँको धार्मिक संवेदनशीलताको सम्मानका लागि जीवित देवी कुमारीसँग टीका लगाएर आशिर्वाद लिँदै गरेको लगायतका चित्रहरू पनि उत्तिकै महत्त्वपूर्ण छन्।
सभामुख देवराज घिमिरे पनि शर्माको चित्रकला प्रदर्शनी अवलोकनका लागि बिहीबार (२२ जेठ) आर्ट काउन्सिल ग्यालरी पुगेका थिए। निकै अभिरुचिका साथ उनले पनि सबै चित्रहरू अवलोकन गरेका थिए। उनले डा शर्माबाट चित्रहरूको सन्दर्भबारे ब्रिफिङ लिए।
शिक्षामन्त्री रघुजी पन्त पनि प्रधानमन्त्री ओलीका साथ चित्रकला अवलोकनका लागि आर्ट काउन्सिल ग्यालरी पुगेका थिए। पन्तका भनाइमा, नेपालको प्राचीन इतिहास, संस्कृतिदेखि राजनीतिसम्म सजीव रूपमा बुझ्नका लागि शर्माले कोरेका चित्रहरूको प्रदर्शनी महत्त्वपूर्ण अवसर हो।
९ जेठदेखि सुरु भएको चित्रकला प्रदर्शनी शनिबार (२४ जेठ) सम्म चल्ने डा शर्माले बताए।
Shares

प्रतिक्रिया