कला


नेपालखबर ‘लेट्स टक’मा गरिमा शर्मा : दुर्गेश दाइसँग नाम जोडिँदा असाध्यै चित्त दुख्यो (भिडिओ)

‘अभिनय मात्रै होइन, सबै कुरामा एक नम्बर हुनु छ’

नेपालखबर
जेठ २३ , काठमाडौँ

म्युजिक भिडिओबाट चर्चा बटुल्दै नेपाली सिने क्षेत्रमा भित्रिएकी अभिनेत्री हुन्, गरिमा शर्मा। ‘लन्डन टु पेरिस’बाट डेब्यु गरेकी उनी ‘ह्रस्व दीर्घ’ मा पनि सहायक भूमिकामा देखिएकी थिइन्।

आज शुक्रबारबाट प्रदर्शन भएको फिल्म ‘जन्ते बाख्रो’ भने गरिमा पहिलोपल्ट मुख्य भूमिकामा देखिएकी छिन्। आफूले खुलेर काम गर्न पाउँदा यो फिल्म उनका लागि विशेष छ।

‘यो फिल्म मेरो हृदयसँग नजिक छ। किनभने सम्भवत: मैले गर्न पाएको र राम्रोसँग देखाउन पाएको फिल्म नै यही हो। त्यही भएर मेरो लागि एकदम नजिक छ,’ नेपालखबर सो ‘लेट्स टक’मा गरिमाले भनिन्।

‘जन्ते बाख्रो’ भन्नेबित्तिकै दिमागमा खाना र भोजभतेर याद आउँछ। आफू अहिलेको जमानाको भएकाले फिल्मको कथावस्तु रिलेट नभएको उनले सुनाइन्।

फिल्मको कथावस्तुबारे भन्छिन्, ‘जन्ते बाख्रो र दुलही भित्र्याएर दोस्रो दिन गरिने भोज अलिकति हराइसकेको जस्तो अनुभव हुन्छ। अहिले पार्टी प्यालेसको जमना आइसक्यो। पछिल्लो जेनेरेसनमा हुर्किएको हुनाले त्यसको कथावस्तु अलिकति म रिलेट गर्न सक्दिनँ। तर, मेरो ममीबुवाको बिहे त्यसरी नै भएको थियो।’

फिल्मभित्र मुख्य अभिनेता सौगात मल्ल र आशिफ शाहले गरिमालाई बिहे गर्न मरिहत्ते गरेको देखिन्छ। रियल लाइफमा चाहिँ गरिमाको घरमा केटाहरू हेर्न आएका छन् कि छैनन् त?

जवाफमा गरिमा भन्छिन्, ‘हेर्न आउने त्यस्तो केही छैन। किनभने घरमा बिहेको कुरा नै भएको छैन। म अहिलेसम्म नितान्त काममा नै लागिरहेकी छु। अहिले सिंगल नै छु। अझै थुप्रै काम गरेपछि बिहे बन्धनको बारेमा सोच्दैछु। राम्रो पुरुष भएमा मागी र प्रेम जे बिहे गर्दा पनि भयो।’

सानैदेखि गरिमालाई अभिनयक्षेत्रमा रूचि थियो। तर, केही समय भने उनी वकिल बन्ने ध्याउन्नमा लागेकी थिइन्। जसकारण कानुनको विद्यार्थी समेत बनिन्। तर, अन्तत: उनलाई ग्ल्यामर क्षेत्रले तान्यो। उनले कलाकारितालाई आफ्नो गन्तव्य बनाउने निर्णय लिइन्।

चितवनमै छँदा गरिमालाई उनकै बुबामार्फत म्युजिक भिडिओको अफर आएको थियो। खासमा गरिमाका बुबा शिक्षक। उनका विद्यार्थी थिए नवराज पन्त। जो चर्चित गीत सालको पात टपरीको गीतकार हुन्। तर, पहिलो गीत खासै चल्न सकेन।

चितवनमै रहेकी गरिमा प्लस टु सकेपछि काठमाडौँ आइन्। टिकटकमा समेत सक्रिय हुन थालिन्। गीत र डाइलगमा लिपसिंक गरेर अभिनय गर्न थालिन्। जसकारण उनी छोटो समयमै धेरैको नजरमा परिसकेकी थिइन्। उनलाई म्युजिक भिडिओको अफर आउन थाल्यो।

सुरुवात फाट्टफुट्ट काम गरे पनि ‘नबोली नबोली’पछि चाहिँ उनको करिअर अघि बढ्यो।

‘नबोली नबोली गीत गरेपछि मैले फर्किएर हेर्नु परेको छैन। त्यो गीत खेलेपछि धेरै काम पाएँ। साथै राम्रो पारिश्रमिक पनि पाउन थालेँ। महिनामै १५ वटासम्म म्युजिक भिडिओ खेलेकी छु। सबै हिसाबले यो गीत निकै प्रिय लाग्छ,’ उनले सुनाइन्।

हुन त ‘नबोली नबोली’ पछि गरिमालाई फिल्मको समेत अफर आएको थियो। तर, त्यतिबेला आफै परिपक्व नभएको जस्तो लाग्यो र फिल्म खेल्न आँट गरिनन्।

म्युजिक भिडिओ खेल्नुका साथै अभिनय क्लास लिएपछि फिल्मको लागि रेडी भएको सुनाउँछिन् उनी। त्यसपछि भने उनी ‘लन्डन टु पेरिस’ बाट सिने नगरीमा प्रवेश गरिन्। म्युजिक भिडिओ र फिल्म खेल्दा निकै फरक अनुभूति भएछ गरिमालाई।

‘हुन त क्यामेरादेखि प्राविधिक कुरा एउटै हो। अभिनय चाहिँ फरक हुँदो रहेछ। म्युजिक भिडिओ फिल्मको सानो अंश हो। त्यता कसैको मिठो आवाजमा लिपसिंक गर्नुपर्छ भने फिल्ममा आफ्नै मिठो आवाज चाहिन्छ। अन्तर चाहिँ धेरै रहेछ,’ उनी सुनाउँछिन्।

पछिल्लो समय गरिमा म्युजिक भिडिओभन्दा फिल्म करिअरतिरै बढी ध्यान दिइरहेकी छिन्। फिल्मको अभिनयतर्फ बढी केन्द्रित हुँदा म्युजिक भिडिओ कम र छनोट गरेर खेलिरहेको उनी स्वीकार्छिन्।

कलाकारितामा भएपछि विभिन्न व्यक्तिहरूसँग जोडिएर अनेक गसिप आउँछन्। यस्ता गसिपप्रति उनलाई खासै वास्ता लाग्दैन। तर एकपटक भने उनलाई निकै रिस उठ्यो।

‘गसिप आउँदा म इन्जोय नै गर्छु। यो फिल्डमा आएपछि को-एक्टरसँग हुने पेयरिङले गसिप चल्छन्। कुनै हल्का रूपमा लिन सक्ने कुरा भयो भने हाँसो पनि उठ्छ। तर, कुनै कुरा सम्भवै हुन सक्दैन। त्यो कुराले मेरो क्यारेक्टरमाथि नै औँला उठ्छ कि भन्ने लाग्छ। त्यो कुराले रिस उठ्छ,’ गरिमाले भनिन्, ‘एकचोटि मेरो र दुर्गेश दाइको जब नाम जोडेर न्युज आयो। त्योबेला चाहिँ मलाई असाध्यै चित्त दुखेको थियो। किनभने उहाँ मेरो मामाघर बाग्लुङतिरको। हाम्रो यस्तो राम्रो बन्डिङ छ। भाउजू र बाबुसँग पनि राम्रो छ। त्यो समयमा मेरो नाम दुर्गेश दाइसँग जोडिँदा चाहिँ मलाई असाध्यै नराम्रो लाग्यो।’

अन्त्यमा हामीले सोध्यौँ- तपाईंलाइ अब कहाँसम्म पुग्नु छ त?

जवाफमा उनले भनिन्, ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। मलाई त टपमै पुग्नु छ। म अझै निखारिनु छ। यो भन्दा बढी निखारिँदैन है भन्ने ठाउँमा पुग्नु छ। सबै कुराको उत्कर्षमा पुग्नु छ। अभिनेत्री मात्रै नभई सबै कुरामा एक नम्बर हुनु छ। अहिले त्यसकै दौडमा छु।’

नेपालखबर ‘लेट्स टक’मा हेर्नुहोस् गरिमा शर्मासँग गरिएको विस्तृत कुराकानी :

जेठ २३, २०८२ शुक्रबार १९:८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad