विद्यार्थीहरुलाई सहयोग गर्दैं ‘लाज शरणम्’ निर्माण टिमले प्रदर्शनको १०१औँ दिन मनाएको छ।
सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका- ५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरिएकाे हाे।
मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
‘सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र लाज शरणमकाे गौरवमय १०१ औं दिनको उपलक्ष्यमा हामीले विद्यार्थीलाई सहयोग रहेका छौँ। यो अवसरका निम्ति आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतार सिटीलाई धन्यवाद दिन्छु,’ निर्माता श्रेष्ठले भने, ‘हामी आगामी दिनमा पनि यस्तो सहयोग गर्दै जानेछौँ। सामाजिक काममा सहकार्य गर्दै जानेछौँ।’
कुमार कट्टेलको निर्देशन रहेको चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको १००औँ दिन मनाइसकेको छ। शिवरात्रिको अवसर पारेर गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित विएसआर मुभिजमा प्रदर्शनको १०१ दिन मनाएको हो।
चलचित्र ‘लाज शरणम्’ गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’पछि १०१ दिन मनाउने पहिलो चलचित्र हो ।
यस फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायत लगायतको अभिनय छ । यो चलचित्रमा निर्देशक समेत रहेका कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा छ ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् । राम नरेश शाह र सिर्जना खड्का सह–निर्माता रहेका छन् ।
आफूले बनाएको चलचित्रले १०१ दिन मनाएपछि निर्माता श्रेष्ठले पहिलो चलचित्रमा दर्शकले दिएको माया र हौसलाले थप उत्साही बनाएको बताएका छन्।
Shares

प्रतिक्रिया