‘प्लस टु पास गरेपछि के गर्ने?’ भनेर प्रश्न सोध्दा धेरै युवाको जवाफ हुन्छ: विदेश जाने। हुन पनि नेपालमा राम्रो अवसर नहुँदा धेरै युवाहरू विदेशिन बाध्य छन्। अझ नेपाली सिने क्षेत्रमा यो प्रवृत्ति पुरानै हो।
धेरैजना पुराना कलाकार विदेश भासिइसके। अहिले पनि कलाकार विदेश पलायन हुने क्रम रोकिएको छैन। तर, पछिल्लो समय भने विदेशमा हुर्केका र पढेका नेपालीहरू स्वदेश फर्किएर कलाकारितामा रमाइरहेका छन्। जसले नामसहित दाम पनि कमाइरहेका छन्।
यस्ता कलाकारको सूचीमा शीर्ष स्थानमा नाम आउँछ: अभिनेत्री मिरुना मगरको। हङकङमा जन्मिएकी उनी २ वर्षको उमेरमा परिवारसँगै पुर्ख्यौली थलो धरान पुगेकी थिइन्। धरानमा उनको बाल्यकाल बित्यो। तर, प्राथमिक तहसम्मको पढाइ सकेपछि उनी बेलायत उडिन्।
मिरुनाका बुवा बेलायती गौर्खा सैनिक थिए। जसकारण मिरुनाको परिवार नै बेलायत पुग्यो। बेलाबखत भोलिन्टियरिङको बहानामा नेपाल आइरहने मिरुनाले अन्तत: नेपाललाई नै कर्मथलो बनाइन्।
रहरैरहरमा एक्टर स्टुडियोमा अभिनय कोर्स लिएकी उनले सुरुमा नाटक ‘कथा देश तीन’ खेलिन्। फिल्म ‘लालपुर्जा’ बाट डेब्यु गरेकी उनले छ/सात वर्षमा एकदर्जन फिल्म खेलिसकेकी छिन्। त्यसमा पनि कबड्डी ४, नांगो गाउँ, मनसरा, जारी, घरज्वाइँ र ऊनको स्विटर हिट फिल्म हुन्। जसले मिरुनालाई सर्वाधिक सफल अभिनेत्रीको रूपमा स्थापित गरिदिएको छ।
मिरुनाकी आमा शशि थापा सुब्बा रंगमञ्चमा परिचित नाम हो। त्यतिबेला शशिले धरानमा नवीन सुब्बासँग मिलेर अनाम नाट्य समूह समेत खोलेकी थिइन्। जसकारण पनि मिरुनाको सानैदेखि अभिनयप्रति रूचि जाग्यो।
सात-आठ वर्षकी छँदा मिरुनाले नेपाली फिल्म ‘क्याबिन गर्ल’ मा बालकलाकार भएर काम गरेकी थिइन्। बेलायत गएपछि मिरुनाले पढाइ सँगसँगै नृत्य र उद्घोषण तालिम लिइन्। १२ वर्षको उमेरमा लन्डन पुगेकी उनी सांस्कृतिक कार्यक्रममा नृत्यसँगै होस्टिङ र नाटक समेत गर्थिन्।
बेलायतमा छँदा मिरुनाका बुवाआमा नेपाली संस्कृतिबारे कुरा गरिरहन्थे। जसकारण नेपाली संस्कृतिप्रति झुकाव थियो। विदेशमा बस्दा पनि आफूलाई नेपालको निकै माया लागेको सुनाउँछिन् उनी।
‘बेलायतमा हुँदा बुवाआमाले नेपाल संस्कार र संस्कृतिबारे कुरा गरिरहनुहुन्थ्यो। विदेश बस्नेलाई अझै बढी नेपालप्रति चासो हुन्छ जस्तो लाग्छ। जसकारण पहिल्यैदेखि नेपालमा आएर काम गर्न मन थियो। जुन पूरा भएको छ। नेपाली चलचित्र क्षेत्र मेरो लागि विद्यालय नै हो। धेरै कुरा सिक्न पाएँ। अझ धेरै सिक्न बाँकी छ। अबको समय नेपाली सिनेमामै बिताउन चाहन्छु,’ उनले नेपालखबरसँगको कुराकानीमा भनेकी छन्।
त्यसैगरी, अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ पनि विदेशबाट नेपाल आएकी हुन्। १३ वर्षअघि सृष्टि मिस नेपालमा भाग लिन लन्डनबाट नेपाल आएकी थिइन्। सन् २०१२ मा उनले मिस नेपाल जितिन् पनि।
मिस नेपाल बनेसँगै उनलाई अवसर आउन थाले। त्यसपछि सुविधा सम्पन्न लन्डन सहरभन्दा नेपाल नै प्यारो लाग्न थाल्यो। त्यसैले कर्मथलोका लागि उनले नेपाल नै रोजिन्।
‘मैले बेलायतमा पढ्दा पर्फमिङ आर्ट पढेकी थिएँ। तर अभिनेत्री बन्न होइन, रमाइलोको लागि। मिस नेपाल भएपछि नै अभिनयप्रति रुचि जागेको हो। अभिनयमा आउन मिस नेपाल प्याल्टफर्म बनिदियो,’ सृष्टिले भनिन्।
डेब्यु फिल्म ‘गाजलु’ मा सृष्टिले अनमोल केसीसँग सहकार्य गर्ने मौका पाइन्। पहिलो फिल्म खासै सफल हुन सकेन। व्यावसायिक सफलता हात नपारे पनि उनी निराश भइनन्।
बरू अभिनय प्रशिक्षण लिन कहिले थिएटर पुगिन् त कहिले मुम्बई। त्यसैले त उनी आजका दिनसम्म पनि अभिनयक्षेत्रमै सक्रिय छिन्। अझ अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगिसकेको ‘द सिक्रेट अफ राधा’ बाट सृष्टिले अभिनयको निकै तारिफ बटुलिन्।
सृष्टिले बाँध मायाले, पोइ पर्यो काले, जस्ट एनदर लभ स्टोरी, रोमियो एन्ड मुना, चिसो एस्ट्रे, केटी हराएको सूचना लगायतका फिल्म खेलिसकेकी छिन्।
विदेशमा हुर्किएर नेपाल आउनेमा अभिनेता धिरज मगर पनि पर्छन्। दुई वर्षकै उमेरमा बेलायत पुगेका उनलाई सात वर्षअघि फिल्म ‘इन्टु मिन्टु लन्डन’को अफर आयो। जसले उनको करिअरकै यात्रा नेपालतर्फ मोडियो।
भन्छन्, ‘बेलायतमै छँदा मुभीको स्क्रिप्ट आउँदा म पनि गर्न सक्छु भन्ने लाग्यो। एक्टर नै बन्छु भन्ने मेरो लक्ष्य थिएन। केहीपछि नेपाल आएर व्यवसाय वा सामाजिक कार्य गर्छु भन्ने थियो। तर, नेपालमै एक्टर भएर बस्छु भन्ने सोचेको थिइनँ।’
त्यो बेला धेरै युवाहरू नेपाल छोडेर विदेशिरहेका थिए। धिरजले नेपाल गएर फिल्म खेल्छु भन्दा परिवारले मानेन। तर, धिरजले बेलायत नै फर्किने भनेपछि परिवारले सहमति जनायो।
त्यसबेला केही महिनाका लागि नेपाल आएका उनले अभिनयसहित नृत्य कक्षा लिए। ‘इन्टु मिन्टु लन्डन’ मार्फत फिल्मी दुनियाँमा आए।
‘डेब्यु फिल्म रिलिज हुने अघिल्लो दिनसम्म यो फस्ट एन्ड लास्ट फिल्म भन्ने थियो। यूके नै फर्किन्छु भन्ने थियो। तर इन्टु मिन्टु लन्डनको रिलिजपछि दर्शकबाट पाएको प्रतिक्रियाले यो नै मेरो क्षेत्र हो। यसैमा निरन्तरता दिन्छु भन्ने महसुस भयो,’ उनी सुनाउँछन्।
त्यसबेलादेखि धिरजले फर्किएर हेर्नुपरेको छैन। धिरज ज्याकी: आइ एम ट्वान्टी वान, बाबरी, एक भागवत र एक गीत, खुस्मा लगायतका फिल्ममा मुख्य भूमिकामा देखिसकेका छन्। अहिले पनि फिल्मको सुटिङमा व्यस्त उनका केही फिल्म प्रदर्शनको तयारीमा समेत छन्।
अभिनेत्री जसिता गुरुङ पनि विदेशमा हुर्किएर नेपाल आएकी हुन्। डेब्यु फिल्म ‘लिलीबिली’ मा प्रदीप खड्कासँगै मुख्य भूमिकामा देखिएकी उनले नेपालमै करिअर बनाएकी छन्।
नेपालमा जन्मिएर यूकेमा हुर्केकी उनलाई सानैदेखि अभिनयप्रति रूचि थियो। यूकेमा अभिनयको स्कोप भए पनि नेपालमै फर्किएर कलाकारिता गर्ने इच्छा भएका कारण नेपाल आएको उनको भनाइ छ।
उनले लभ स्टेसन, हनी बनी, ज्याकी: आइएम ट्वान्टी, फर्की फर्की खेलिसकेकी छिन्। साथै बहुप्रतीक्षित फिल्म ‘जेरी अन टप’ प्रदर्शनको तयारीमा छ।
अभिनेत्री दिव्या रायमाझी पनि नेपाल फर्किएर यतै कलाकारितामा रमाइरहेकी छिन्। ‘एक्टर टप वान’ बाट डेब्यु गरेकी उनले ‘पीताम्बर’ समेत खेलिसकेकी छिन्। जुन फिल्मले दिव्याको चर्चा निकै चुलिएको छ।
दिलिप रायमाझीकी छोरी समेत रहेकी दिव्या सानैबाट कलाकारिता माहोलमा हुर्किइन्। उनलाई धेरैले भविष्यमा हिरोइन बन्छौ होला भनेर जिस्काउँथे। सबैले यसो भन्दा दिव्यालाई दिक्क लाग्थ्यो।
हिरोइन बन्दिनँ भनेर उनी अमेरिका गएकी थिइन्। कानुन विषय पढेकी उनी एक दिन अमेरिकाको थिएटरमा पुगिन्। त्यसबेला एकाएक उनमा हिरोइन बन्ने रहर जाग्यो।
जसले उनले अमेरिकामा चार वर्षे थिएटर आर्ट्सको कोर्स पढिन्। अभिनय, निर्देशन, लेखन, स्टेज डिजाइन, पहिरन डिजाइन सबै विधा सिक्न पाइन्।
फिल्मका लागि निर्देशक राजन भुसालले उनलाई धेरै अघिदेखि नै अफर गरिरहेका थिए। अध्ययनमा व्यस्त भएकाले उनले खासै वास्ता गरिनन्। तर, अन्त्यमा ‘एक्टर टप वान’ दिव्यालाई नेपाल फर्काउने माध्यम बन्यो।
‘फिल्म पनि होल्ड भइरहेको रहेछ। पछि फेरि उहाँले कल गर्नुभयो। म पनि सबै काम छाडेर अब चाहिँ हिरोइन भन्ने बेला भयो भनेर नेपाल आइपुगेँ,’ दिव्याले भनिन्।
हङकङमा जन्मिएर बेलायतमा हुर्केकी दिया पुन आठ वर्षपछि नेपाली चलचित्रमै काम गरिरहेकी छिन्। ‘वीर विक्रम’ बाट डेब्यु गरेकी उनी दयारानी, झोले र अन्तिम संस्कारजस्ता फिल्ममा देखिसकेकी छिन्। दियासहित दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’ हिट फिल्म हो। दिया अभिनीत आगामी फिल्म ‘एक्लो’ प्रदर्शनको तयारीमा छ।
हङकङमा जन्मिएकी समृद्धि अर्यालले पनि गतवर्ष रिलिज भएको ‘फर्की फर्की’बाट नेपाली सिनेक्षेत्रमा डेब्यु गरिसकेकी छिन्। जुन फिल्ममा समृद्धिको निकै तारिफ भएको थियो। त्यसैबाट नेपाली सिनेमामा काम गर्न उत्साहित भएको बताउँछिन् उनी।
भन्छिन्, ‘अडिसन दिएर नै मैले नेपाली फिल्ममा डेब्यु मौका पाएँ। पहिलो फिल्म खेलेपछि राम्रो भयो। त्यसपछि ल नेपालमा पनि राम्रो फिल्म उद्योग बनिरहेको छ। मैले पनि राम्रै ठाउँमा पुग्नेगरी काम गर्नुपर्छ लाग्यो। अवसर पाउँदा टिम हेरेर अगाडि बढ्छु भन्ने सोचिरहेकी छु।’
समृद्धिले भारतमा फिल्मसम्बन्धी अध्ययन गर्दा केही सर्टफिल्म समेत गरिसकेकी छिन्। उनी ‘वरिष्ठ बलराम’ मा मुख्य भूमिकामा देखिँदैछिन्। तर, कलाकारले सीमामा बाँधिन नहुने भन्दै उनले अवसर पाउँदा बाहिर पनि काम गर्ने सुनाइन्।
बेलायतमा भ्लगरको रूपमा चर्चित गौमाया गुरुङ पनि यतिखेर नेपाली चलचित्रमा व्यस्त छिन्। मिस यूके नेपाल-२०११ की विजेता उनको डेब्यु फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ हो। उनले कबड्डी ४, फूलबारी, महाजात्रा, राजागञ्ज जस्ता फिल्म खेलिसकेकी छिन्। जुन फिल्म व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल छन्। जर्मनीको प्रतिष्ठित फिल्म फेस्टिभल बर्लिनाले ट्यालेन्टको लागि नेपालबाट छनोट भएकी उनी ‘अभिमन्यु’मा समेत देखिँदैछिन्।
त्यस्तै, डान्सर तेरिया फौजा मगरले पनि नेपाली फिल्म खेल्ने पक्का भइसकेको छ। नेपालमा जन्मिएकी तेरियालाई सानैदेखि नृत्यमा रुचि थियो। जसकारण उनी ११ वर्षको उमेरमा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ तयारीका लागि मुम्बई पुगिन्। र, विजेता पनि बनिन्। त्यसपछि तेरियाको मन उतै भुल्यो।
६ कक्षाबाट भारतमै पढ्नुका साथै डान्स रियालिटी सोमा समेत भाग लिन थालिन्। उनी ‘झलक दिखलाजा’ सिजन ९ की विजेता समेत हुन्। अभिनयमा झुकाव बढ्न थालेपछि तेरियाले कोरोनाताका अनुपम खेरसँग अभिनय क्लास लिइन्। उनले ‘उनकी यारी’ र ‘क्याम्पस बिट्स’ जस्ता वेब सिरिजमा अभिनय गरिसकेकी छिन्।
तिनै तेरियाले अब फिल्म ‘मितज्यू’ बाट नेपाली रजतपतमा डेब्यु गर्न लागेकी हुन्। यस फिल्मको मुख्य भूमिकामा तेरियासहित अभिनेता दयाहाङ राई मुख्य भूमिकामा देखिनेछन्।
भारतबाटै स्नातकसम्मको पढाइ सकिसकेकी तेरिया बाहिर बस्दा झन् नेपालको माया बढी लाग्ने बताउँछिन्। ‘आफ्नो देशभन्दा टाढा बसिसकेपछि रुटको अलगै खालको माया लाग्दो रहेछ। जति ठूलो हुँदै गएँ, त्यो कनेक्सन फिल गर्न थाले। नेपाली भाषा बोलेको सुन्दा पनि आफ्नै हुन् जस्तो लाग्ने। जसले पनि पहिल्यैदेखि नेपालमा काम गर्ने मेरो इच्छा थियो,’ उनले भनिन्।
तेरियाका अनुसार बलिउडमा प्रतिस्पर्धा कडा छ। यस्तोमा नेपाली फिल्मबाट अफर आउँदा डेब्यु गर्न लागेको उनको भनाइ छ।
‘मैले इन्डियामा पनि कोसिस नगरेको होइन। सिरिजहरू पनि गरेँ। बलिउड उद्योग ठूलो छ। प्रतिस्पर्धा पनि धेरै छ। नेपालमै अवसर पाउँदा किन नगर्ने भन्ने भयो। जुन मेहनत मैले मुम्बईमा गरिरहेकी छु, त्यो मेहनेत मैले आफ्नै देशमा किन नगर्ने भन्ने भएर नेपाल आएँ।’
नृत्यसहित अभिनयलाई पनि निन्तरता दिने तेरियाको योजना छ। अवसर पाउँदा नेपालीसहित बलिउडमा पनि काम गर्ने सुनाउँछिन् उनी। फिल्मबाहेक छिट्टै उनी मेरो डान्स युनिभर्स २ को होस्ट बन्दैछिन्।
पोखराको लेखनाथमा जन्मेकी अञ्जना पुन मगर १ कक्षामा हुँदै बुवाआमासँग हङकङ गइन्। जसकारण उनको पढाइ र हुर्काइ हङकङस्थित जोर्डनमै बित्यो। विदेश बसे पनि अञ्जनामा नेपालप्रति बिछट्टै माया थियो। र, नेपाललाई कर्मथलो बनाएर यतै बस्न चाह थियो।
मिस मगर हङकङदेखि मिस हङकङ बनिसकेकी उनी सन् २०२४ को मिस नेपालमा प्रतिस्पर्धा गर्न नेपाल आइन्। मिस नेपालको टाइटलको लागि प्रतिस्पर्धामा भिडिन्। तर, सबटाइटल विधा जिते पनि अञ्जनाको मिस नेपाल बन्ने सपना भने पूरा हुन सकेन।
नेपाललाई कर्मथलो बनाउँछु भनेर फर्किएकी अञ्जना यतै रमाउन थालिसकेकी थिइन्। सोहीबीच एकदिन पल शाहले चन्द्रज्योति मगरमार्फत म्युजिक भिडिओ खेल्न अफर गरे। त्यसयता भने अञ्जना म्युजिक भिडिओमा रमाइरहेकी छिन्। उनले अभिनय गरेका मायालाई पानको पात लगायतका गीतहरू निकै चर्चित छन्।
एक्टर स्टुडिओमा अभिनय सिकिरहेकी अञ्जनाले आफूलाई माझ्दै लगिरहेकी छिन्। भविष्यमा अभिनेत्री बन्ने इच्छा रहेको उनको भनाइ छ।
‘मेहनत गरिरहेकी छु, अवसर आउँदा पक्रिहाल्छु भन्ने छ। मलाई अभिनेत्री बन्न मन छ। र, आफ्नै घर बनाएर नेपालमै बस्न मन छ,’ उनले भनिन्।
निर्देशक नवीन सुब्बा विदेशमा हुर्किएका युवा स्वदेश फर्किनुलाई स्वाभाविकै मान्छन्। विश्वव्यापीकरण भएसँगै यो ट्रेन्ड जता पनि देखिएको उनी बताउँछन्।
‘धेरै मेकरहरू अमेरिकामा बसेर सर्ट फिल्महरू बनाइरहेका छन्, राम्रै गरिरहेका छन्। कोही अस्ट्रेलियामा पनि गरिरहेका छन्। सबै ठाउँमा यो प्रकारले काम भइरहेको हुन्छ। केही प्रतिभाहरू नेपालमा आएर स्थापित पनि भए। त्यसपछाडि उनीहरूको एजुकेसनल ब्याकग्राउन्ड भयो। उनीहरू तयारीका साथ आएका हुन्छन्। त्यही भएर उनीहरूको नेपाली चलचित्रमा स्थापित भइरहेको जस्तो देखिन्छ। जुन स्वाभाविक हो,’ उनी भन्छन्।
साथै बाहिर प्रतिस्पर्धा धेरै हुँदा नेपालमा स्पेस बनाउन सहज हुने समेत उनको तर्क छ।
‘विदेशमा एकदम प्रतिस्पर्धा हुन्छ। त्यसको तुलनामा यहाँ आउँदा उनीहरूले अलिकति ठूलो स्पेस पनि पाउँछन्। बाहिरबाट आएको भनेर रेस्पेक्ट पनि हुन्छ। नेम, फेम दुवै दिने भएपछि नेपाल आइरहेको हो किजस्तो लाग्छ। अनि जो पनि फर्के, उनीहरू ठूलो भइसकेपछि विदेश गएको देखिन्छ। त्यसैले आउनुमा नेपालप्रतिको माया पनि एउटा कारण हो,’ सुब्बा भन्छन्।
यद्यपि, अहिले राम्रो गरे पनि भविष्यमा उनीहरू विदेश फर्किँदैनन् भन्ने ग्यारेन्टी नरहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया